भारत जनसंख्या र भूगोलमा नेपालभन्दा ठूलो भएपनि सार्वभौमिकता बराबरी हुने -प्रधानमन्त्री ओली

काठमाडौं, २८ पुस । भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले काठमाडौंमा आएर आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएका छन् । चौधरीसहित तीन जनाको टोली बालुवाटार पुगेर प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिएका हुन् ।

अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले दुई छिमेकी मुलुक भारत र चीनमा शान्ति कायम भए नेपाल पनि सुरक्षित हुने बताउनुभएको छ । उहाँले अन्तर्वार्ताका क्रममा दुई छिमेकीबीच राम्रो सम्बन्ध भएको नेपालले चाहेको बताउनुभयो। उहाँले भारत जनसंख्या र भूगोलमा नेपालभन्दा ठूलो भएपनि सार्वभौमिकता बराबरी हुने बताउनु भएको हो ।

 

ओलीले व्यक्तिगत रुपमा भारतीय प्रधानमन्त्री आफूभन्दा केही वर्ष जेठो भएपनि प्रधानमन्त्रीको हैसियतमा बस्दा ठूलो देश र सानो देशको नभइ समान हैसियत हुने बताउनुभएको छ।

 

ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी भएको स्पष्ट पार्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताउनुभयो। उहाँले नेपाल कुनै पनि देशको साथमा लागेर अर्को देशविरुद्ध आफ्नो जमिन वा आकास प्रयोग गर्न नदिने बताउनुभयो ।

 

प्रधानमन्त्री ओलीले भारत र चीन दुवै देशले चाहेमा आफू मध्यस्थता गर्न तयार रहेको बताउनुभएको छ । उहाँले दुवै नेपालका छिमेकी भएकाले कोहीसँग पनि ‘कार्ड’ नखेल्ने बताउनुभयो। उहाँले आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोेदी र चिनियाँ राष्ट्रपति सी जिनपिङकाको साथी भएको बताउनुभयो ।

 

चौधरीसहित तीन जनाको टोली हिजो शनिबार नेपाल आएका थिए । चार घण्टा अगाडि सुधीरले आफ्नो सामाजिक संजाल ट्वीटरमा के नेपाल चिनियाँ पक्षमा खेल खेल्दैछ ? आज राति ९ बजे भनेर ट्वीट गरेका थिए ।

 

प्रधानमन्त्री ओलीसंग लिएको अन्तर्वार्तापछि सुधीरले फेसबुकमार्फत नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीसंग सकरात्मक कुराकानी भएको भन्दै भारतलाई नेपालले ठूलो दाइको रुपमा व्यवहार गर्न नचाहेकोबारेमा पनि थाहा भएको बताएका छन् । यस्तै उनले छिमेकमा के भइरहेको छ भन्ने थाहा पाउन पनि आवश्यक रहेको जनाए ।

 

भारतीय टेलिभिजन च्यानल जी न्युजलगायतले नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि यसबारे नराम्रो टिकाटिपनी गरेको थियो । सुधीरले जी न्युजमा ‘राष्ट्रवाद के नामपर नेपालकी चाइनिज नक्सेबाजी’ भनेर कार्यक्रम चलाएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...