तरुलको माग बढी,गत वर्षको तुलनामा दोब्बर महँगो

काठमाडौँ, पुस २९ गते । माघे सङ्क्रान्ति आउन एक दिन छ, त्यो दिन अत्यधिक तरुल खपत हुने दिन हो । यस पर्वमा काठमाडौँलगायत देशैभरका बजारमा सिमल तरुल, हात्ती पाइले तरुल, घर तरुल, वन तरुल, सिमल तरुल र पानी तरुलको माग बढी हुन्छ । देशकै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुल किनबेच गर्नेको भिड लागेको छ । माघे सङ्क्रान्तिकै अवसर पारेर अत्यधिक बिक्री हुने गरेकाले नेपालमा तरुलको व्यावसायिक खेती पनि सुरु भइसकेको छ ।


यस वर्ष माघे सङ्क्रान्तिका लागि काठमाडौँ उपत्यकामा भित्रिएको तरुल गत वर्षको तुलनामा दोब्बरसम्म महँगो भएको छ । उपत्यकाको बजारमा मागभन्दा कम तरुल भित्रिएपछि भाउ महँगो भएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार गत वर्ष प्रतिकेजी ४० रुपियाँदेखि १२० रुपियाँ थोकमा कारोबार भएको तरुल यस वर्ष भने ८० देखि १८० रुपियाँसम्ममा किनबेच भइरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले तरुलको आयात गत वर्षभन्दा घटेकाले बजारमा भाउ बढेको बताउनुभयो । उहाँका अनुसार गत वर्ष माघे सङ्क्रान्तिका लागि एक हजार २९६ टन तरुल भित्रिएकोमा यस पटक भने झण्डै ९६३ टन तरूल भित्रिएको छ ।

कालीमाटीका थोक व्यापारी गीताप्रसाद आचार्यले यो वर्ष उपत्यकावासीको मागअनुसार तरुल नआएकाले गत वर्षभन्दा महँगो भएको बताउनुभयो । तरुलको भाउ व्यापारीले भन्दा पनि किसानबाट ल्याउँदा नै महँगो भएको उहाँको भनाइ छ ।समितिका अनुसार तरुलको भाउ ८० देखि १८० रुपियाँ प्रतिकेजी थोकमा किनबेच भइरहको छ । सामान्य तरुल ८० रुपियाँ, वन तरुल १२० रुपियाँ हात्तीपाइले तरुल १३० रुपियाँ र सिमल तरुल प्रतिकेजी १८० रुपियाँ थोकमा कारोबार भइरहेको छ ।

समितिका अनुसार माघे सङ्क्रान्तिका लागि काठमाडौँ उपत्यकामा सर्लाही, सुनसरी, धरान, चितवन र धादिङबाट तरुल भित्रिएको छ । यस वर्षको माघे सङ्क्रान्तिलाई लक्षित गरेर पिँडालु २३१ टन, सखरखण्ड २५४ टन भित्रिएको छ । कालीमाटीमा भित्रिएको तरुलमा ४३ प्रतिशत सर्लाही, १४ प्रतिशत मकवानपुर, १३ प्रतिशत धादिङबाट र ४ प्रतिशत भारतबाट आएको छ भने बाँकी २६ प्रतिशत अन्य जिल्लाबाट आएको समितिले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...