नेकपाका दुवै पक्षद्वारा अलग–अलग दाबी पेस

काठमाडौँ, माघ १ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्षले बुधबार निर्वाचन आयोगमा उपस्थित भएर आआफ्ना लिखित दाबी अलग–अलग रूपमा पेस गरेका छन् । ती दाबी पत्र आयोगमा दर्ता गरिएको छ । दुवै पक्षले नेकपाको आधिकारिक पक्ष आफूहरू रहेकोे दाबी पेस गरेका छन् ।


आयोगले पुस २३ गते नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का नाममा अलग–अलग पत्राचार गर्दै सुधारसहितको लिखित जवाफ माग गरेको थियो । दुवै पक्षले बुधबार नै अलग–अलग रूपमा आयोगमा उपस्थित भएर लिखित जवाफ पेस गरेका छन् ।

आधिकारिक त हामी हौँ : नेम्वाङ
नेकपाको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा मन्त्रीहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, विष्णुप्रसाद पौडेल, कृष्णगोपाल श्रेष्ठ, पार्वत गुरुङ, राज्यमन्त्री रामवीर मानन्धर, नेताहरू विष्णु रिमाल, बागमती प्रदेशका मन्त्री रामेश्वर फुयाललगायत सहभागी हुनुहुन्थ्यो । मन्त्री पौडेल नेकपाको महासचिवसमेत हुनुहुन्छ । आयोगमा पत्र बुझाएपछि नेता नेम्वाङले भन्नुभयो, “आयोगका केही प्रश्न थिए, त्यसको लिखित जवाफ लिएर गएका थियौँ । मैले पार्टीका तर्फबाट आयोगका प्रमुख निर्वाचन आयुक्तलाई पत्र बुझाएँ ।” नेता नेम्वाङले भन्नुभयो, “प्रथम अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ ।

 

उहाँकै सबै हस्ताक्षर चल्छ, अभ्यास त्यही छ । उहाँहरू (प्रचण्ड–माधव नेपाल पक्ष)बाट पेस भएका कागजातमा पहिलो अध्यक्ष ओली नै हुनुहुन्छ, महासचिव विष्णुप्रसाद पौडेल हुनुहुन्छ । उहाँहरूले अर्को महासचिव बनाउनुभएको पनि छैन, ती विष्णु पौडेल महासचिव हामीसँगै हुनुहुन्छ ।” नेता नेम्वाङले थप्नुभयो, “हाम्रो विधानले अध्यक्षको निर्देशनमा महासचिवले बैठक बोलाउने व्यवस्था गरेको छ । उहाँहरूको त बैठकसम्म बस्न सक्दैन, बैठक राख्ने महासचिवसमेत हुनुहुन्न । यी विभिन्न कारणले हामी आधिकारिक हौँ । ”

सर्वोच्च अदालतमा ‘स्टे अडर’ त दिएको छैन, यसलाई ध्यानमा राखेर आयोगले निर्वाचनको तयारी अगाडि बढाउनुपर्छ भन्ने भनाइ पनि नेताहरूले राख्नुभएको थियो । सो प्रतिनिधिमण्डलले आयोगले के के गर्दै छ भनेर जिज्ञासा पनि राखेको थियो ।

हामीसँग पूर्ण बहुमत छ : पोखरेल
बुधबार नै नेकपाको प्रचण्ड–माधव पक्षको जवाफ लिएर नेताहरू लीलामणि पोखरेल, राजेन्द्र पाण्डेलगायत आयोग पुग्नुभएको थियो । उहाँहरूले पनि प्रमुख आयुक्तसँग भेट गरेर आफ्नो पत्र पेस गर्दै भनाइ राख्नुभयो ।

नेता पोखेरलले भन्नुभयो, “यसअघि आयोगले स्पष्ट विवरण पठाउन पत्र लेखेको प्रतिउत्तर दिने सन्दर्भमा ‘स्वयं संस्थापन पक्ष भएको र केन्द्रीय कमिटीको पूर्ण बहुमत भएको’ लिखित जवाफ पेस गरेका छौँ । ”

अबको आयोगको प्रक्रिया के ह्ुन्छ भन्ने जिज्ञासामा आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भन्नुभयो, “उहाँहरूले अलग–अलग पेस गर्नुभएको कागजात लामै छ । निर्णय गर्नका लागि त्यहाँ आधारहरू पर्याप्त छन् कि छैनन् भनेर हेर्नुपर्छ । ”

दलहरू जुटून् : प्रमुख आयुक्त
दलका नेताहरूको जिज्ञासामा प्रमुख आयुक्त थपलियाले निर्वाचनको तयारी अगाडि बढेको छ भन्नुभयो । उहाँले अब केही दिनभित्रै सर्वदलीय बैठक बोलाउने तयारीमा रहेको र तोकिएकै समयमा निर्वाचन गराउन आयोग दृढ रहेको बताउनुभयो ।

प्रमुख आयुक्तले भन्नुभयो, “निर्वाचनको तयारी भइरहेको छ । आयोग कानुनसम्मत हिसाबले अगाडि बढ्छ । आयोगको कुराचाहिँ दलहरू फुटून्भन्दा जुटून् र मिलेर अगाडि बढून्, लोकतन्त्र खँदिलो बनाउन दलहरूको सुदृढीकरण हुन्छ भन्ने छ । ”आयोगले यसअघि राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २५ को ४ अनुसार दुवै पक्षलाई पत्र पठाएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...