मदन भण्डारी राजमार्गको निर्माण द्रुत गतिमा

काठमाडौँ, माघ ४ गते । तराईको समथर भूभागभन्दा माथिबाट चुरे तथा भित्री मधेस हुँदै पूर्वपश्चिम जोड्ने वैकल्पिक राजमार्गका रूपमा मदन भण्डारी राजमार्गको निर्माण द्रुत गतिमा भइरहेको छ । कतिपय स्थानमा कालोपत्रे नै भइसकेको छ भने कतिपय स्थानमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुँदै छ ।


यो राजमार्गले कतिपय स्थानमा नयाँ मार्ग खोल्ने छ भने कतिपय पहिल्यैदेखि कायम रहेका मार्गलाई विस्तारित रूपमा जोड्ने छ । मदन भण्डारी राजमार्ग नेपालको पूर्वी सीमा मेची नदीदेखि चुरेभावर तथा भित्री मधेस छिचोल्दै पश्चिमी सीमा महाकाली नदीसम्म फैलिने छ । यस राजमार्गको कुल लम्बाइ एक हजार २५० किलोमिटर रहने अनुमान गरिएको छ । यसमध्ये ४६५ किलोमिटर सडक विभागकै अन्य आयोजना र सडक डिभिजन कार्यालयहरूबाट निर्माण भइरहेका छन् ।

दुई वर्षअघि २०७५ जेठ ८ गते नेपाल सरकारले स्वीकृत गरेको यो राजमार्गको धरान–हेटौँडा खण्ड चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने भएको छ । कुल २५० किलोमिटरको यो खण्डमा ८० वटा पुल निर्माण सम्पन्न भइसकेको छ । तीन वर्षभित्र सम्पन्न गर्ने गरी बाँकी १८ वटा पुल निर्माणका लागि सम्झौता भइसकेको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका प्रमुख उमेशविन्दु श्रेष्ठले जानकारी दिनुभयो ।

दाङ क्षेत्रलगायत विभिन्न भागका खण्ड–खण्डमा पनि सडक स्तरोन्नति र कालोपत्रे काम धमाधम भइरहेको छ । अन्य भागमा विभिन्न चरणको काम भइरहेको छ । यस राजमार्गको सम्पूर्ण भागको रेखाङ्कन तय भइसकेको छ । आगामी २०८२ सालसम्म यो आयोजना सम्पन्न गर्ने लक्ष्य सरकारको छ ।

यो राजमार्गको पूर्वी बिन्दु झापाको मेचीनगर नगरपालिकामा पर्ने बाहुनडाँगी रहेको छ । त्यहाँबाट आरम्भ भई राजमार्गको अन्तिम पश्चिम बिन्दु डडेलधुराको रुपाल रहेको छ । झापाको बाहुनडाँगीबाट सुनसरीको धरान–चतरा, उदयपुरको गाईघाट–कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौँडा, नवलपरासीको गैँडाकोट, पाल्पाको रामपुर, गुल्मीको रिडी–तम्घास, प्यूठानको बागदुला–देवीस्थान, दाङको घोराही–तुलसीपुर–पुरनधारा, सुर्खेतको बोटेचौर–बड्डीचौर, डोटीको सिमचौर–बीपीनगर, कैलालीको सहजपुर–बुडार हुँदै डडलेधुराको रुपालसम्म जोडिने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...