गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने

पोखरा ।गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने भएको छ । आइतबार चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मलेनमा गुरुङ फिल्म एशोसियशन नेपालका अध्यक्ष भोजबहादुर गुरुङले गुरुङ फिल्म माघ २३ गतेबाट नियमित रुपमा सिनेमा हलमा प्रदर्शन गरिने जानकारी गराए ।

गुरुङ चलचित्र निर्माण भएको २५ वर्ष पुग्दाको खुशियालीमा आफूहरु अब गुरुङ समुदायमा मात्रै सिमित नरही सिनेमा हल मार्फत आम समुदायमा फैलिने सोचका साथ अगाडि बढेको उनले बताए । भोजबहादुर गुरुङले भने,“२५ वर्षको लामो यात्रा तय गर्दा पनि गुरुङ चलचित्रको विकास र विस्तार हुन सकेको छैन । हामीलाई लाग्यो गुरुङ चलचित्र अब समुदायमा मात्रै सिमित रहनुहुँदैन । त्यसैले माघ २३ गतेदेखि नियमित रुपमा शुक्रबार र शनिबार पोखराको मिडटाउन ग्यालरीयामा चलचित्र प्रदर्शन गरिनेछ ।”

उनले सिमित अवधिका लागि मात्र नभई निरन्तर रुपमा प्रदर्शन गर्ने गरी मिडटाउनसँग सम्झौता भएको जानकारी गराएका छन् । गुरुङले पछि देशका सबै हलहरुमा गुरुङ फिल्म प्रदर्शन गर्ने योजनामा जिफान रहेको समेत उल्लेख गरेका छन् ।

उनले नियमित चलचित्र प्रदर्शनले चलचित्र निर्माताले चलचित्रको टिकट विक्री वितरण गर्दै दर्शकहरुको घर दैलोमा हिँड्नुपर्ने बाध्यता, दर्शकलाई महङ्गो टिकटमा चलचित्र हेर्नुपर्ने, टिकटमा लागु गरिने भिआइपी र भिभिआइपी प्रणालीका कारण चलचित्रकर्मीहरु र दर्शकहरु बिचको दुरी बढ्दै जानु, चलचित्रहरु व्यवस्थितरुपमा प्रदर्शन नहुनु र चलचित्र प्रदर्शन गर्दा आ—आफ्नो समुदायमा सिमित रहनुपर्ने समस्याको समाधान हुनेमा विश्वास लिएका छन् ।

यसैबिच जिफानले “घर दैलोमा टिकट किनेर होइन, चलचित्रहलमा गएर सहयोग गरौं ।” भन्ने अवधारणालाई अघि सारेको छ ।

जिफानका महासचिव लप्सन गुरुङले माघ २३ गतेबाट २०७८ असारसम्म नियमित रुपमा प्रदर्शन हुने गुरुङ चलचित्रको तालिका सार्वजनिक गरेका छन् । उनका अनुसार माघ २३ र २४ गते तमु फिल्मस् प्रालिको ब्यानरमा जसु गुरुङ निर्देशित चलचित्र “कर्म क्याँ” प्रदर्शन हुनेछ ।

माघ ३० र फागुन १ गते पाईला फिल्मस् प्रालिको ब्यानरमा माओत्सेतुङ गुरुङद्वारा निर्देशित “म्हि न्होर्बै ट” प्रदर्शन हुनेभएको छ । फागुन ७ र ८ गते बेब्स क्रियेशन प्रालि ब्यानरमा निर्मित प्रितम गुरुङ निर्देशित “रिजे नाशा” प्रदर्शन गरिने लप्सनले बताए ।

उनले फागुन १४ र १५ गते शुभेच्छा फिल्म प्रालि ब्यानरमा बनेको खुश बहादुर गुरुङद्वारा निर्देशित “सम्बन्धको डोरी” प्रदर्शन गरिने जानकारी गराए । उनका अनुसार फागनु २१ र २२ गते तमु फिल्मस् प्रालिको ब्यानरमा निर्मित गोरा गुरुङद्वारा निर्देशित “सिमि नाशा” प्रदर्शन गरिनेछ ।

चलचित्र “यु.के.सुईटर” फागनु २८ र २९ गते सार्वजनिक हुनेभएको छ । जसलाई लेकाली फिल्म प्रालिको ब्यानरमा गुञ्ज बहादुर गुरुङले निर्देशन गरेका हुन् । चैतको ६ र ७ गते शुभेच्छा फिल्म प्रालिको ब्यानरमा खुश बहादुर गुरुङ निर्देशित चलचित्र “प्रें सोना” प्रदर्शन हुनेभएको छ ।

चलचित्र “स्यु रु” चैत १३ र १४ गते प्रदर्शन हुनेछ । स्वस्तिक फिल्म प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रका निर्देशक सोम गुरुङ हुन् । पाईला फिल्मस् प्रालिको ब्यानरमा माओत्सेतुङ गुरुङद्वारा निर्देशित चलचित्र “तमुस्यो” चैत २० र २१ गते प्रदर्शन गरिनेछ ।

नृत्य निर्देशक सँगै कोरियोग्राफर समेत रहेका लप्सन गुरुङले चलचित्र “सबन मु” चैत २७ र २८ गते प्रदर्शन गरिने जानकारी गराए । उक्त चलचित्र भकारी ईभेन्ट्स प्रालिको ब्यानरमा निर्माण भएको हो । जसका निर्देशक कृष्ण कुमार गुरुङ रहेका छन् ।

२०७८ साल बैशाख ३ र ४ गते माओत्से गुरुङद्वारा निर्देशित ब्रेजमेश्रों फिल्मस् प्रालिबाट निर्मित “शिरसुबा” प्रदर्शन गरिने भएको छ । यस्तै, चलचित्र “म्ले क्यु” बैशाख १० र ११ गते प्रदर्शन हुनेछ । स्टारर्स स्टुडियोले निर्माण गरेको चलचित्रमा जसु गुरुङ निर्देशकको रुपमा रहेकी छिन् ।

लेकाली फिल्म प्रालिको ब्यानरमा गुञ्ज बहादुर गुरुङले निर्देशन गरेको चलचित्र “समीङ्ही” बैशाखको १७ र १८ गते प्रदर्शनमा आउने भएको छ । पाईला फिल्मस् प्रालिको प्रस्तुति माओत्सेतुङ गुरुङद्वारा निर्देशित चलचित्र “टुकी” बैशाख २४ र २५ गते प्रदर्शन हुने जनाइएको छ ।

चलचित्र “साली भेना” शुभेच्छा फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र हो । राजु गुरुङले निर्देशन गरेको उक्त चलचित्र बैखाख ३१ र जेठ १ गते प्रदर्शनमा आउनेछ ।

माओत्से फिल्मस् प्रालि ब्यानरमा माओत्से गुरुङले निर्देशन गरेको चलचित्र “मनको बाबरी” जेठ ७ र ८ गते प्रदर्शन गरिने भएको छ । जिफानले दिएको समय तालिका अनुसार चलचित्र “फुङ” जेठ १४ र १५ गते प्रदर्शन गरिनेछ । जसलाई बेब्स क्रियेशन प्रालिको ब्यानरमा प्रितम गुरुङले निर्देशन गरेका हुन् । चलचित्र “ङोल्स्यो माया” जेठ २१ र २२ गते प्रदर्शनमा आउने भएको छ । शुभेच्छा फिल्म प्रालिको ब्यानरमा बनेको चलचित्रलाई खुश बहादुर गुरुङले निर्देशन गरेका हुन् । मुनाल फिल्मस् प्रालिले निर्माण गरेको चलचित्र “मैरीमु” जेठ २८ र २९ गते प्रदर्शन हुनेछ । जसलाई भोज बहादुर गुरुङले निर्देशन गरेका हुन् । हङ्ग्री आई फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको र नौ जङ्ग गुरुङद्वारा निर्देशित चलचित्र “तिमी नभए” असार ४ र ५ गते प्रदर्शन गरिने भएको छ । प्रदर्शन गरिने सबै चलचित्रको समय मध्यान्ह १२ बजेदेखि २ बजेसम्मलाई तोकिएको छ । टिकटदर भने मिडटाउनले यसअघि अन्य चलचित्र प्रदर्शनमा लिँदै आएको कायम रहने जानकारी गराइएको छ ।

वि.सं २०५२ सालमा “पाते” नामक  चलचित्रबाट गुरुङ चलचित्र निर्माण भएको थियो । आजसम्म आइपुग्दा १४४ वटा गुरुङ चलचित्र निर्माण भइसकेको जिफानले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । २०६५ सालमा स्थापना गरिएको गुरुङ फिल्म एसोशिएसन नेपालले स्थापनाकालदेखि नै गुरुङ चलचित्र निर्माण र बजार व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...