कान्छी वराह महिला सहकारीको भवन उद्घाटन

पोखरा, माघ १४ गते । गुड नेवर्स इन्टरनेसनलको आर्थिक तथा प्राविधिक सहयोगमा नौलोघुम्ती नेपालद्धारा संचालित सामुदायिक विकास परियोजना अन्तरगत अन्नपूर्ण गाउँपालिका–६, लुम्लेमा नवनिर्मित कान्छी वराह महिला विकास वचत तथा ऋण सहकारी संस्था लि. को भवन मंगलबार उद्घाटन गरिएको छ ।

चार कोठाको २३ लाख रुपैयामा निर्माण भएको उक्त भवनको लागि नौलो घुम्ती नेपालले १० लाख, सहकारीको ११ लाख, खड्कबहादुर मगरले २ लाख आर्थिक सहयोग गरेका थिए भने समाजसेवी मानबहादुर गुरुङले १४ लाख मुल्य पर्ने जग्गा निशुल्क प्रदान गरेका थिए ।

गुड नेवर्स इन्टरनेसनल नेपालका देशिय निर्देशक कोरीयाली नागरिक जे क्युङ रोले सहकारीकी अध्यक्ष जौमाया देवकोटालाई भवन हस्तान्तरण गरेका थिए । साथै उनले उक्त भवनको उद्घाटन गर्दै व्यक्तिलाई सक्षम वनाउनको लागि प्रत्यक्ष आर्थिक सहयोग दिनु भन्दा संघसंस्थालाई सहयोग दिंदा वढी प्रभावकारी भएको वताए । साथै उनले नौलो घुम्तीको आयोजनामा तालिम लिइ तरकारी तथा पशुपालन गर्दै आएका कृषकले उत्पादन गरेका वस्तुहरुको अवलोकन गरेका थिए ।

त्यसैगरी अन्नपुर्ण गाउँपालिका प्रमुख युबराज कुँवरले महिला दिदिबहिनीहरुले समुह बनाएर आय आर्जनमा लाग्नु नै अत्यन्तै उत्कृष्ठ कार्य भएको र भवन निर्माणको लागि अहोरात्र खटिएर काम गर्ने नौलो घुम्ती नेपालका पदाधिकारी एवं कर्मचारीलाई धन्यवाद व्यक्त गरेका थिए । साथै उनले भवन निर्माण दाताहरुलाई पुनः सहयोग गर्न आग्रह गर्दै तालीम कक्ष निर्माणका लागि गाउँ पालिकाले २ लाख रुपैया उपलब्ध गराउने बताए।

नौलो घुम्ती नेपालका अध्यक्ष खड्गबहादुर रानाभाटले नौलो घुम्ती नेपालले विगत १८ वर्षदेखि लागुपदार्थ प्रयोगकर्ताहरु, एचआईभी संक्रमित एवं प्रभावित, रोकथाम तथा नियन्त्रण, शिक्षा, सामूदायिक विकास, झोलुङ्गे पुल निर्माण, खुला दिसा मुक्त अभियान र आय आर्जनका कार्यक्रमहरु गर्दै आएको बताए ।

साथै भवन निर्माणमा सहयोग गर्नेलाई सम्मान गरिएको सो कार्यक्रममा अन्नपुर्ण गाउँपालिका वडा नं. ६ का वडाअध्यक्ष चित्रबहादुर गुरुङ, कान्छी वराह महिला विकास वचत तथा ऋण सहकारीकी अध्यक्ष जौमाया देवकोटा, सचिव ममता देवकोटालगाएतले वोलेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...