प्रदेश १ स्तरिय मेयरकप फागुन तेश्रो हप्ता

भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजन र योनेक्स सनराईजको सहप्रायोजनमा प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ फागुन १९ देखि २२ गते सम्म भोजपुरमा आयोजना हुने भएको छ ।सदरमुकामस्थित भोजपुर बहुमुखी क्याम्पसको कभर्डहलमा संचालन हुने प्रतियोगितामा पुरुष तथा महिला एकल, पुरुष युगल, यु – १७ ब्वाईज तथा गल्र्स गरि कुल ५ बिधामा प्रतिस्पर्धा गराईने जिल्ला संघका अध्यक्ष पूर्व राष्ट्रिय च्याम्पियन बिकास श्रेष्ठले जानकारी गराएका छन् ।


सरादेवी तामाङ्ग, बिकास श्रेष्ठ, नङ्गशल तामाङ्ग, बिवेक श्रेष्ठ, रत्नजित तामाङ्ग, नविन श्रेष्ठ जस्ता राष्ट्रिय च्याम्पियन र सीता राई लगायत थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गरि सकेको भोजपुरले तीन पटक सम्म जिल्ला स्तरिय मेयर कप प्रतियोगिता आयोजना गरिसकेको छ । भोजपुर जिल्ला ब्याडमिन्टन संघले पहिलो पटक ५ विधामा पुरस्कार रासी सहित प्रतियोगिता आयोजना गर्न लागेको हो । भोजुपर नगरपालिकाका मेयर कैलाश कुमार आले आफै ब्याडमिन्टन खेल्ने र भोजपुरमा ब्याडमिन्टन खेलको बिकास र विस्तारमा अहोरात्र खटिंदै आईरहेकाले उनकै पहलमा पहिलो पटक प्रदेशस्तिरिय प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगितमा प्रदेश १ का करिव १०० खेलाडीहरुले सहभागिता जनाउने छन् । करिब १२ लाख अनुमानित बजेट रहेको प्रतियोगितामा पुरुष युगलका शिर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः ५० हजार, ३० हजार र १५ हजार, पुरुष एकलमा शिर्ष तीन स्थान प्राप्त गर्नेले २५ हजार, १५ हजार र ७ हजार ५ सय, महिला एकलका शिर्ष तीन स्थान प्राप्त गर्नेले २० हजार, १० हजार र ५ हजार तथा यु – १७ ब्वाइज तथा गल्र्स तर्फ शिर्ष तीन स्थान प्राप्त गर्नेले १५ हजार, ८ हजार र ४ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितालाई भोजपुर नगरपालिकाले ७ लाख सहयोग गरेको छ भने अन्य खर्च विभिन्न संघ संस्था, देश तथा बिदेशमा रहेका ब्याडमिन्टन खेल प्रेमीहरुको सहयोग रहने अध्यक्ष श्रेष्ठले जानकारी गराए । प्रतियोगतालाई नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने छ ।प्रतियोगिताको लागि दर्ता गर्ने अन्तिम मिति फागुन १५ गते सम्म रहेको र दर्ता शुल्क पुरुष युगलमा २ हजार, पुरुष तथा महिला एकल तर्फ १ हजार र यु–१७ तर्फ ५ सय निर्धारण गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...