पोखरा–नेपालगञ्ज हवाई उडान

कास्की, फागुन ८ गते । गण्डकी प्रदेशको पोखरा र व्यापारिक सहर नेपालगञ्जलाई हवाई सेवामार्फत जोड्ने उद्देश्यले पोखरा र नेपालगञ्ज हवाई सेवा सञ्चालन गर्न लागिएको छ । नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स नाटा गण्डकी प्रदेश पोखरा र नाटा च्याप्टर बाँकेको प्रयासमा सो उडान थालेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।


सीता एयरमार्फत पोखरा, नेपालगञ्ज र बर्दियामा आयोजना गरिएको अध्ययन अवलोकन भ्रमणमार्फत सुरु गरिएको नाटा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो । पोखरा र नेपालगञ्जबीच सीधा हवाई सेवा सुरु गरेका छौँ । नेपाल पर्यटन बोर्ड, नेपालगञ्ज उपमहानगरपालिका र पोखरा महानगरपालिकाको प्रवद्र्धनमा सीता एयर इको टुरिजम, नाटा गण्डकी र नेपालगञ्जको सहकार्यमा प्रवद्र्धनात्मक कार्यक्रम थालिएको सिग्देलले जानकारी दिनुभयो ।

पहिलो उडानमार्फत नेपालगञ्जबाट पोखरा आउनुभएका पर्यटन व्यवसायी, अन्य व्यवसायी र पत्रकार गरी १८ जनालाई पोखरा विमानस्थलमा स्वागत गरिएको गण्डकीका महासचिव कमला गिरीले जानकारी दिनुभयो । सुचारु गरिएको यस अभियानले नेपालगञ्ज हँुदै भित्रिएका भारतीयलाई पोखरा ल्याउन सहज हुने उहाँको भनाइ छ ।

नाटाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाईंले यस हवाई उडानलाई निरन्तरता दिन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले पर्यटन सहज बनाउन विदेशी पर्यटकलाई सहजता प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।नाटा च्याप्टर बाँकेको अध्यक्ष श्रीराम सिग्देलले हप्तामा दुई दिन शुक्रबार र आइतबार उडान एक महिनासम्म गर्ने जानकारी दिनुभयो । उहाँले हालको एकतर्फी उडान पाँच हजार लाग्ने र पोखरामा मिटिङ बसेपछि मूल्य घटबढ हुनसक्ने जानकारी दिनुभयो । उहाँले यसमा नाटाको मात्र जिम्मेवारी नभई सबै पर्यटन व्यवसायी सङ्घसंस्थाले सहयोग गरेमा निरन्तर बनाउन सकिने बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले नेपालगञ्ज र पोखरालाई जोड्ने उद्देश्य रहेको जानकारी गराउनुभयो । उहाँले नेपालगञ्जलाई क्यासिनोको हब बनाउन लागेको जानकारी गराउँदै यसले पर्यटन क्षेत्रमा दुवैतर्फलाई सहयोग पुग्ने बताउनुभयो । पत्रकार सम्मेलनमा पोखरा पर्यटन बोर्ड गण्डकीका प्रमुख काशिराम भण्डारी, आन्तरिक पर्यटन उत्थान समितिका संयोजक अग्नि कँणेल, पर्यटन परिषद्का अध्यक्ष गोपी भटट्राईलगायत विभिन्न पर्यटनसँग सम्बन्धित व्यक्तिले उक्त कदम साहसिक र फलदायी भएको बताउँदै यसको निरन्तरताका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...