‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’ श्रीराम सिग्देललाई

पोखरा, फागुन २४ गते ।प्रथम ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’बाट पत्रकार श्रीराम सिग्देल पुरस्कृत हुने भएका छन् । चलचित्र पत्रकार संघ नेपाल, कास्कीले गण्डकी प्रदेशमा कार्यरत चलचित्र पत्रकारहरुमध्येबाट बर्षेनी एकजनालाई प्रदान गर्ने गरि यो पुरस्कार स्थापना गरेको हो ।

लामो समय चलचित्र पत्रकारितामा बिताएका सिग्देललाई पहिलो पुरस्कार प्रदान गर्ने निर्णय भएको संघले जनाएको छ । सिग्देल चलचित्र पत्रकार संघ कास्कीको संस्थापक अध्यक्ष समेत हुन् । आगामी फागुन २९ गते संघको साधारणसभाको अवसरमा सिग्देललाई पुरस्कार प्रदान गरिने संस्थाले जनाएको छ । संघका अनुसार यो पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।

‘हामीले यो पुरस्कारलाई ऐतिहासिक मानेका छौँ । पहिलोपटक हामीले हाम्रै संस्थाका संस्थापक अध्यक्षलाई पुरस्कृत गर्न पाउँदा हामीलाई अझै बढि खुशी लागेको छ ।’ चलचित्र पत्रकार संघ नेपाल, कास्कीका अध्यक्ष अरुण गिरीले भने–‘र, यो पुरस्कार स्थापना गर्न हामीलाई सहयोग गर्ने पोखराको पुरानो फिल्म व्यवसायी घराना जितप्रसाद द्वाको परिवारलाई पनि विशेष धन्यबाद दिन चाहन्छौँ ।’ गिरीले यो पुरस्कार पुराना चलचित्रकर्मी जितप्रसाद द्वाले नेपाली चलचित्र क्षेत्रमा पु¥याएको योगदानलाई चिरकालसम्म सम्झिरहन र यही क्षेत्रमा कलम चलाईरहेका पत्रकारहरुलाई थप हौसला प्रदान गर्न स्थापना भएको बताए ।

संघले पहिलो पटक प्रदान गर्न लागेको चलचित्र पत्रकारिता पुरस्कारको प्रतिभा छनौटका लागि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीको सँयोजकत्वमा संघकै निवर्तमान अध्यक्ष रेम बिक र पोखरा फिल्म सोसाइटीका अध्यक्ष जितेश प्रधान सदस्य रहेको समिति गठन गरेको थियो । सोही छनौट समितिले सिफारिश गरेअनुसार सिग्देललाई पुरस्कार प्रदान गर्ने गरि संघको फागुन १८ गते बसेको कार्यसमिति बैठकले निर्णय गरेको थियो ।

२०५४ सालबाट आदर्श समाज दैनिकबाट पत्रकारिता शुरु गरेका सिग्देल हालसम्म पनि चलचित्र पत्रकारितामा क्रियाशिल छन् । सिग्देलकै नेतृत्वमा २०६० असार २२ गते चलचित्र पत्रकार संघ कास्कीको स्थापना भएको थियो । हाल उनी फेवा पोस्ट साप्ताहिकको सह–सम्पादक हुन् ।

पुरस्कारदाता द्वा परिवारले चलचित्रको उत्थानका लागि निरन्तर कलम चलाउने पत्रकारहरुलाई पुरस्कृत गर्न आफ्नो परिवारको नाममा पुरस्कार स्थापना गर्न पाउँदा निकै खुशी लागेको बताएको छ । ‘हामी तेस्रो पुस्तासम्म यही चलचित्र व्यवसायमै छौँ । र, चलचित्रकर्मीलाई पत्रकारिताको माध्यमबाट सदैव सहयोग गर्ने पत्रकारहरुलाई हौसला प्रदान गर्ने गरि पुरस्कार प्रदान गर्ने चलचित्र पत्रकार संघको अभियानसँग जोडिन पाउँदा हामीलाई खुशी लागेको छ ।’ पुरस्कारदाता द्वा परिवारका सदस्य तथा मिडटाउन सिनेमाज्का संचालक उत्तम द्वाले भने–‘चलचित्र पत्रकारहरुसँगको यो सहकार्य हाम्रो परिवारले सँधै गरिरहनेछ ।’

पुरस्कारदाता जितप्रसाद द्वा पोखराका पुराना चलचित्रकर्मी हुन् । द्वाले २०३६ सालमा बुटवलमा कालिका चलचित्र मन्दिर संचालन गरि चलचित्र व्यवसायमा हात हालेका थिए । हाल उनको नाती पुस्ताले यो व्यवसायलाई विस्तार गरिरहेको छ । पोखराको पुरानो चलचित्र घर ‘बिन्दबासिनी हल’सँगै उनकै नेतृत्वमा वाराही ‘क’, ‘ख’, श्रीकृष्ण र मिडटाउन सिनेमाज् हाल संचालनमा छन् । त्यो बाहेक नेपालकै अग्रणी चलचित्र वितरण कम्पनी ‘एफडी’ पनि द्वा परिवारले नै संचालन गरेको कम्पनी हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...