wrestling ADS 20-21 chaitra

गोठमा बाँधेका जनावर चितुवाले खान थालेपछि लक्ष्मीपुरवासी चिन्तित

चितुवाले दैनिक घरपालुवा जनावर गोठबाटै लगेर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका बासिन्दा निकै चिन्तित भएका छन् । गाउँजजिकैको लक्ष्मी मध्यवर्ती सामुदायिक वनबाट राति आउने चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ । बाख्रा, बङ्गुर र गाईलगायतका जनावर चितुवाले खान थालेको परदेशी चौधरीले बताउनुभयो । उहाँका अनुसार दुई साताको अवधिमै चितुवाले स्थानीयवासीको गोठमा बाँधेका एक दर्जनभन्दा बढी बङ्गुर र बाख्रा खाएको छ । “गाउँका बासिन्दाले पालेका कुकुरसमेत बाँकी राखेको छैन”, उहाँले भन्नुभयो, “राति कुन बेला आउँछ, पत्तो लाग्दैन ।

सामुदायिक वन छेउमा खाएको अवशेष मात्रै फेला पार्छौँ ।” गए राति मात्रै रु ३५ हजार हालेर खरिद गरेको जर्सीगाई चितुवाले गोठमै छिरेर मारेको अवस्थामा फेला परेको स्थानीयवासी धनबहादुर चौधरीले बताउनुभयो । “चितुवाका कारण निकै नोक्सानी व्यहोर्नुपरेको छ, यसलाई नियन्त्रण नगरे मानवीय क्षतिसमेत निम्त्याउन सक्छ”, उहाँले भन्नुभयो । चितुवाको डरका कारण रातिको समय गाउँका बासिन्दाले हिँडडुलसमेत बन्द गरेका छन् ।

“दैनिक गाउँमै छिरेर घरपालुवा जनावर मारेर खान थालेको छ”, अशोक चौधरीले भन्नुभयो, “स–साना बालबालिकालाई समेत आक्रमण गर्ने सम्भावना भएकाले निकै त्रसित भएका छौँ । गाउँमा चितुवाको त्रासले बस्न नसकिने अवस्था आउन थालेको छ ।”

सामुदायिक वन संरक्षण गरी उपभोक्ताले हराभरा बनाएपछि चितुवालगायतका जनावर आउन थालेका हुन् । सम्बन्धित निकायसँग यस क्षेत्रका बासिन्दाले चितुवा नियन्त्रण गरी मानवीय क्षति हुनबाट जोगाउनका लागि माग गरेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...