भाषा सिकाउने कर्णालीले सभ्यता सिकाउनुपर्छ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विगतमा भाषा सिकाउने कर्णालीले आगामी दिनमा सभ्यता सिकाउनुपर्ने बताउनुभएको छ । ऋति फाउण्डेशन, सुर्खेतद्वारा आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको प्रसिद्ध पर्यटकीयस्थल बुलबुले तालको छेउमा आयोजित ‘कर्णाली उत्सव–कुडा कर्णालीका’ दोस्रो संस्करणको शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले भाषा उत्पत्ति भएको प्रदेशको भाषा नै सङ्ग्रहालयमा राख्नुपर्ने अवस्था आएकोप्रति चिन्ता प्रकट गर्नुभयो ।

“भाषा, संस्कृति र सभ्यताको उद्गमस्थलमा जन्मेर आफ्नो पहिचान खोज्नुपर्ने बाध्यता आइलागेको छ”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “कतै हाम्रो भाषा लोप भएर जाने हो कि भन्ने डर पनि लागेको छ ।” इतिहासले भविश्यको निर्धारण गर्ने जनाउँदै उहाँले कर्णाली छुट्टै विशिष्टता र पहिचान बोकेको प्रदेश भएकाले यहाँको इतिहास आफैँले कोर्नुपर्नेमा जोड दिनुभयो ।

यहाँको सामाजिक, आर्थिक, सांस्कृतिक पक्षको विस्तृत खोज अनुसन्धान गरी भोलिको पुस्तालाई जान्न उत्प्रेरित गराउनुपर्नेमा जोड दिनुभएका मुख्यमन्त्री शाहीले हिजो काँसोको थालमा भात र तामाको भाँडोमा पानी खाने कर्णाली आज प्लाष्टिकका भाँडामा खानुपर्ने बिडम्वना आइलागेको विगतलाई जान्न आग्रह गर्नुभयो ।

त्यसैबीच, मुख्यमन्त्री शाहीले कार्यक्रममा कर्णाली पिपुल एण्ड प्लेसेस पुस्तक विमोचन गर्नुभएको थियो । शुभारम्भ कार्यक्रममा ऋति फाउण्डेसनका सहसंस्थापक रेशमबहादुर विष्टले ‘कर्णाली उत्सव कुडा कर्णालीका’ दोस्रो संस्करणका उत्सवको औचित्यबारे प्रष्ट्याउनुभयो । “कर्णालीमा अथाह संम्भावना हुँदाहुँदै पनि केवल यो दक्षिणतर्फ बगिरह्यो,” सहसंस्थापक विष्टले भन्नुभयो, “यहाँका नागरिकका लागि कर्णाली कालापहाड जाने बाटो मात्र बन्यो । यसलाई हामीले राम्रोसँग चिनेनौँ ।” कर्णालीका लोक साहित्य, अर्थ, राजनीतिक, शासकीय प्रणालीलगायत विषयमा मन्थन गर्न दोस्रो संस्करणकोआयोजना गरिएको उहाँले बताउनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा डा जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ले कर्णाली चिनाउने योगी नरहरिनाथको विद्वत्व र योगदानका बारेमा चर्चा गर्नुभयो । कर्णाली प्रदेशको कला, साहित्य, दर्शनका विषयमा अध्ययन तथा कर्णाली चिनाउन प्रदेश सरकार र नेपाल प्रज्ञा प्रतिष्ठान तयार रहेको उहाँले बताउनुभयो । कर्णालीको मौलिकता र यसको इतिहासका विषयमा सत्यमोहन जोशीलगायत विद्वान्लाई विसं २०२७ मा नै अध्ययन गरिसकेको उहाँको भनाइ थियो ।

वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले कर्णालीका पर्यटकीयस्थलको चिनारी दिन जरुरी रहेको बताउनुभयो । कर्णालीलाई नजिकबाट चिन्नका लागि कर्णाली महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । त्यस्तै, भेरी नगरपालिका उपप्रमुख रेणु आचार्य(ढकाल)ले यहाँको भाषा संस्कृति र समग्र विषयमा उत्सव मात्र नभएर यहाँका विविध पाटाको विषयमा छलफल हुनुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...