हातको नसाबाट मानिसको पहिचान गरिँदै, फिंगरप्रिन्ट अब पुरानो भयो

एजेन्सी, फिंगरप्रिन्ट औंठाछाप र फेसियल रिकग्निसन अर्थात् अनुहार पहिचान पद्धति अब पुरानो भइसकेका छन् ।  अनुसन्धाताहरूले मानिसको हातको पछिल्तिरको नसाबाट पहिचान खुलाउन सकिने बताएका छन् ।

बायोमेट्रिक रिकग्निसन हालैका वर्षमा बढी प्रचलनमा आएका छन् । अनुहार पहिचान गर्ने प्रविधि विमानस्थलको चेक इन लाइनदेखि प्रहरी विभाग र नाइटक्लबसम्म उपयोग हुन्छ । आवाजमार्फत पहिचान गर्ने प्रविधि पनि प्रचलनमा छ ।

तर अस्ट्रेलियाको न्यु साउथ वेल्स विश्वविद्यालयका अनुसन्धाताहरूले बायोमेट्रिक विधिहरूमा केही कमजोरी रहेको बताएका छन् ।

फिंगरप्रिन्टहरू कसैले हातले छोएको सतहबाट उठाउन र डम्मी प्रिन्ट बनाउन सकिन्छ । अनि सामाजिक सञ्जालबाट तस्वीरहरू झिकेर अनुहार पहिचान प्रविधिलाई छल्न सकिन्छ । आँखाको नानीको पहिचान गर्ने प्रविधिलाई कन्ट्याक्ट लेन्सले झुक्याउन सक्छ ।

तर शरीरको नसालाई कसैले परिवर्तन गर्न सक्दैन ।

‘नसाका संरचनाहरू छालाभित्र हुन्छन् र तिनले कुनै छाप छोड्दैनन् । ती सामाजिक सञ्जालमा पनि उपलब्ध हुँदैनन्,’ अनुसन्धाता सैयद शाहले बताए । ‘त्यसैले नसामार्फत गरिने पहिचानलाई झुक्याउन कसैले पनि सक्दैन ।’

इन्टेल रियल सेन्स डी४१५ डेप्थ क्यामराको सहायताले अनुसन्धाताहरूले ३५ जनाको लगभग १७ हजार ५०० तस्वीरहरू लिएका थिए । त्यसमा सहभागीहरूलाई मुट्ठी बनाउन भनिएको थियो र हातको नसाको संरचना स्थापित गरिएको थियो ।

कृत्रिम बौद्धिकताको उपयोग गरेर अनुसन्धाताहरूले यी संरचनाबाट विशिष्त स्वरूपहरू छानेका थिए र यसबाट मानिसहरूको पहिचान ९९ प्रतिशत जति मिलेको पाइयो ।

‘विशेषगरी मुट्ठी बनाउँदा तन्किएर नसा देखाउँदा नक्कली संरचना बनाउन गाह्रो हुन्छ,’ शाहले बताए ।

अध्ययन निष्कर्ष आईईटी बायोमेट्रिक्समा प्रकाशित भएको छ । यस प्रविधिले ल्यापटप र मोबाइल फोन जस्ता पसैनल डिभाइस सही व्यक्तिको पहिचानसहित खुल्नका लागि उपयोग गर्न सकिन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...