म्यानमारकी नेतृ सुकीलाई अदालत उपस्थित गराउने कार्यक्रम स्थगित

काठमाण्डाै – म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अदालतमा पेस गर्ने कार्य स्थगित भएको छ । गएको जनवरी १ मा सेनाले सत्ता कब्जा गरेलगत्तै पक्राउ परेकी सुकीलाई साेमवार अदालतमा पेस गर्ने योजना थियो ।

इन्टरनेटको माध्यमबाट अदालतमा पेस गर्ने कार्यक्रम रहेको भए पनि प्राविधिक कारण देखाउँदै स्थगित गरिएकाे बीबीसीले जनाएको छ ।

चुनावमा धाँधली भएको भन्दै पक्राउ परेकी सुकीलाई सैन्य शासकहरूले भ्रष्टाचारसहित विभिन्न मुद्दा दर्ता गराएका छन् । यद्यपि सेनाले एक वर्षभित्र चुनाव गरी निर्वाचित सरकारलाई नेतृत्व सुम्पन आफू तयार रहेको धारणा सार्वजनिक गर्दै आएको छ ।

स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू भने सन् २०२० को नोभेम्बरमा भएको चुनावमा धाँधली भएको सेनाको दाबीसँग असहमत रहँदै आएका छन् । उनीहरूले चुनावका क्रममा कुनै पनि किसिमको अनियमितता नपाएको जनाएका छन् ।

यसैबीच म्यानमारको सेनाले थप जिल्लामा सैन्य कानुन लागू गरेको छ । सेनाले सत्ता कब्जा गरेको विरोधमा भएको प्रदर्शनअन्तर्गत आइतवार एकैदिन झण्डै ५० जनाको ज्यान गएपछि थप जिल्लामा सैन्य कानुन लागू गरिएकाे हो ।

प्रजातन्त्रवादी आन्दोलनकारीले सुकीसहित अन्य नेताको रिहाइको माग गरेका छन् । आन्दोलनमा अहिलेसम्म एक सय २० भन्दा धेरैको ज्यान गइसकेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...