सुनिल गायकको “कहिले भईन” सार्वजनिक

पोखरा,चैत ५ गते ।पोखरामा संगीतसंघर्ष गरिरहेका सुनिल गायकको नयाँ गीत “कहिले भईन” को म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार पोखरामा एक कार्यक्रमका बिच उक्त भिडियो सार्वजनिक गरिएको हो । गीतको म्युजिक भिडियोमा रोहन असिफ र जानकी थापाको अभिनय रहेको छ ।

साराङ्गी म्युजिक स्टुडियोको प्रस्तुती र सुनिलकै शब्द संगीतमा बनेको म्युजिक भिडियोको छायाँकन पोखराको काहुँडाँडा र लेकसाइडको पेरिफेरिमा गरिएको हो । नेत्र गुरुङ म्युजिक भिडियोका निर्देशक हुन् । प्रेम कथामा आधारित म्युजिक भिडियोमा रोहनलाई एक संगीतकर्मीको भूमिकामा प्रस्तुत गरिएको छ । जानकी भने रोहनकी प्रेमिका हुन्छिन् ।

भर्खरै संगीतमा उदाउँदै गरेको रोहनलाई एउटा म्युजिक कम्पनीबाट अनुबन्धित भएको खबर आउँछ । त्यसलाई सुनाउन रोहन जानकीलाई भेट्न पुग्छन् । जहाँबाट म्युजिक भिडियोलाई उठान गरिएको छ । म्युजिक भिडियोको कन्सेप्ट समेत नेत्रकै हो ।

रोहनले जानकीलाई समय उपलब्ध गराउन नसकेर टुटेको प्रेमिल कथालाई म्युजिक भिडियोमा देखाउन खोजिएको आभाष हुन्छ । गीतको अडियोलाई राम्रो बनाउने काम साहिल गायकले गरेका छन् । पोखराको पुरानो रेकर्डिङ स्टुडियो नमस्ते रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको म्युजिक भिडियोमा साहायक निर्देशनको भूमिकामा सबिन गायक छन् । पब्लीसिटी डिजाईनर सँगै म्युजिक भिडियोका कलाकार समेत रहेका सबिनले छायाँकनको पाटोमा समेत नेत्रलाई सघाएका छन् । गीतमा पुकार पुनको समेत अभिनय रहेको छ ।

म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै गायक तथा संगीतकार विनोद बानियाँले पोखराबाट पछिल्लो समयमा आशा लाग्दा गीतहरु सार्वजनिक भएको बताए । “केही समय अगाडि पोखरामा टीम अभावका कारण काम गर्न मुस्किल पथ्र्यो, अहिले पनि उक्त समस्या कताकता भेटिन्छ । तर पहिलेको तुलनामा भन्दा कम छ । सिमित बजेटमा पनि पोखराबाट राम्रो म्युजिक भिडियो निर्माण गर्न सकिन्छ भन्ने उदाहरणका पात्र निर्देशक नेत्र गुरुङ हुनुहुन्छ ।”, उनले भने ।

निर्देशक नेत्र गुरुङले म्युजिक भिडियोलाई छायाँकन गर्न दुई दिन समय लगाएको बताए । पोखराबाट पनि राम्रो म्युजिक भिडियो छायाँकन गर्न सकिन्छ भन्ने उद्देश्य स्वरुप आफु निरन्तर लागिपरेको उनको भनाई थियो । म्युजिक भिडियोको दुनियाँमा पोखरा विस्तारै उठ्दै गएको तर्क उनले गरे ।

मोडल रोहन असिफले काठमाडौंले पोखरालाई सँधै चेपुवामा पार्न खोजेको अभिव्यक्ति राखे । उनले अब पोखरामा बसेर संगीतकर्म गरिरहेकाहरु एकजुट हुने बेला आएको बताए । म्युजिक भिडियोमा आफुले अभिनय गर्न पाउँदा खुशी लागेको उनको भनाई थियो ।

सुनिल गायकले आगामी समयमा पनि गीतसंगीत पस्कदै जाने प्रतिबद्धता व्यक्त गरे । यसअघि “तिम्रो अभाव, सम्बन्ध, के खाई देको छु र, कति माया” जस्ता गीत सार्वजनिक गरेका सुनिल छिट्टै “माया तिम्रै हुनी, मुटु भरि माया” जस्ता गीत लिएर आउँदैछन् ।

जानकी थापाले भने यसअघि “म जुन बनि दिन्छु र तिमीलाई पर्खी बसे” गीतमा अभिनय गरिसकेकी छिन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...