छोटो समयमा हिमाल चुम्न मर्दी पदयात्रा

उमेरले ६४ वर्ष पुगेका पोखरेली पर्यटन व्यवसायी कृष्ण काफ्ले मर्दी हिमालको पदयात्रामा पोखराबाट निस्कँदा जति खुशी हुनुहुन्थ्यो, फर्कंदा त उहाँमा खुशीको कुनै सिमा नै थिएन । प्राकृतिक सुन्दरताले भरिएको पदयात्रा मार्गका हरेक मनमोहक दृश्यले आफूलाई निकै हर्षित बनाएको उहाँले अनुभव सुनाउनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एशोसिएशन (टेसा) पोखराद्वारा आयोजित मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामग्रीको प्रयोग तथा चिनारी विषयक चार दिवसीय पदयात्रामा काफ्लेजस्तै पोखराका पर्यटन व्यवसायी एवं सञ्चारकर्मी औपचारिकरुपमा सो कार्यक्रममा सहभागी बनेका थिए ।
यही चैत १ गतेदेखि शुरु गरिएको पदयात्रा अधिकांशका लागि नौलो अनुभव थियो । पछिल्ला समयमा चासो चर्चा बन्दै गएको मर्दीको आधार शिविरसम्मको पदयात्रा छोटो समयमा हिमाल चुम्ने पदयात्राका रुपमा देश विदेशमा ख्याति कमाएको छ । गुराँस फुल्ने जङ्गलैजङ्गल चराचुरुङ्गीको चिरविराहट सुन्दै र देख्दै हिँड्न सकिने यस मार्गमा सबै उमेर समूहका व्यक्तिले पदयात्रा गर्नसक्ने व्यवसायी काफ्लेले बताउनुभयो । चाँदीजस्तै टलक्क टल्किएका माछापुच्छे,  मर्दी, अन्नपूर्ण साउथ, गङ्गापूर्णजस्ता हिमाललाई एक साथ अवलोकन गर्दै पदयात्रा गर्नुको छुट्टै महत्व रहेको उहाँको अनुभव छ ।
“यसअघि आफूले सुनेको भन्दा पनि रमाइलो पाएँ मर्दी पदयात्रा”, टेसा पोखराका संस्थापक अध्यक्ष एवं पोखरा पर्यटन परिषद्का कोषाध्यक्षसमेत रहनुभएका काफ्लेले भन्नुभयो, “यस पदयात्रा मार्गमा पछिल्ला समयमा आन्तरिक पर्यटकको बढ्दो चापसँगै यहाँको वातावरणीय सुन्दरतालाई जोगाउँदै सरसफाइलगायतका कुरामा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।” पर्यटकीय नगरी पोखराबाट दुई दिनमा नै पुगी हिमाल चुम्न सकिने मर्दी पदमार्ग छोटो दूरीको पदयात्रा गर्न चाहने जो कोहीका लागि आकर्षक गन्तव्य रहेको टेसा पोखराका अध्यक्ष नारायण सापकोटाले बताउनुभयो ।
पदमार्गको प्रवद्र्धनका साथै पदयात्रामा प्रयोग गरिने सामग्रीको चिनारीसमेतलाई दृष्टिगत गर्दै नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मर्दी पदयात्रा आयोजना गरिएको उल्लेख गर्दै उहाँले यात्राका प्रत्यक्ष देखाइ भोगाइसँगै पदयात्रामा प्रयोग गरिने सामग्रीको गुणस्तरीयताको अपरिहार्यताबारे पनि थप अनुभव प्राप्त भएको जानकारी दिनुभयो । नेपालको राष्ट्रिय फूल लालीगुराँसले ढकमक्क ढाकिएको जङ्गलैजङ्गलका बीच हिँडिने पदमार्ग भएकाले चैत वैशाखको समयमा यहाँको सुन्दरता अवर्णनीय हुने यहाँका होटेल व्यवसायी बताउँछन् । व्यवसायीका अनुसार पदयात्रा शुरु गर्दा शुरुमा गुलाबी रङ्गको गुराँस देखिए पनि माथि जाँदै गर्दा गाढा रङ्गको लालीगुराँस देख्न पाइनु अर्को महत्वपूर्ण पक्ष हो ।
पछिल्ला वर्षमा विशेषतः आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको यस पदमार्ग कोरोना कहरका बाबजुत पनि सुरक्षा मापदण्डसहित सञ्चालनमा ल्याइएको माछापुच्छ्रे« गाउँपालिका–९का वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले बताउनुभयो । मर्दी हाइक्याम्पस्थित होटेल ट्रेकेस प्याराडाइजका सञ्चालक सुदीप गौतमका अनुसार यस पदमार्गबाट अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रे«, मनास्लुलगायत हिमाल एक साथ देख्न सकिन्छ । सन् २००७ मा मर्दी हाइक्याम्पमा हेटेल खोल्न लाग्दा त्यस समयमा आफू उपहासको पात्रसमेत बनेको अनुभव सुनाउँदै उहाँले पछिल्ला वर्षमा सुविधासम्पन्न होटेल तथा पूर्वाधार बन्ने क्रमले पनि गति लिएको बताउनुभयो । पोखराबाट छोटो दूरीमा हिमालसँग मितेरी लगाउँदै रमणीय हिमाली तथा पहाडी दृश्यको एकसाथ अवलोकन गर्न सकिने मर्दी पदयात्राको विशिष्टता भएको नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका सचिवसमेत रहनुभएका गौतमको भनाइ छ ।
कास्कीको काँडेबाट प्रारम्भ हुने यस पदयात्रा मार्ग अष्ट्रेलियन क्याम्प, पोथना, प्रितम देउराली, फोरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा हुँदै मर्दी हाइक्याम्पसम्म पुग्दछ । यी सबै स्थानमा बस्न र खानका लागि होटेल सञ्चालनमा आइसकेका छन् । समुद्री सतहबाट तीन हजार ५५० मिटर उचाइको मर्दी हाइक्याम्पबाट करिब दुई घण्टामा चार हजार २०० मिटर उपचाइको ‘भ्यु प्वाइन्ट’ र त्यहाँबाट दुई घण्टामा चार हजार ५०० मिटर उचाइको मर्दी आधार शिविर पुग्न सकिन्छ । हाइक्याम्पबाट ठाउँठाउँका साँघुरा अप्ठेरा बाटा पार गर्दै ‘भ्यु प्वाइन्ट’ र आधार शिविर पुग्न सकिने टेसा पोखराका पूर्वअध्यक्ष एवं सल्लाहकार नवराज अधिकारीले जानकारी दिनुभयो । “शुरुमा जाँदा अप्ठेरा बाटाका कारण थकाइ लागे पनि हिमाली चुचुरासँग मितेरी लगाउँदै हिँड्न पाउँदा सबै थकाइ मेटिन्छ”, पदयात्राको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “पोखराबाट यति छोटो दूरीको हिमाल चुम्न सकिने यो पदमार्गको प्रवद्र्धन, संरक्षणका साथै प्रचारप्रसार आवश्यक छ ।
शुरुमा काँडे हुँदै पदयात्रा गर्नेहरू फर्कंदा भने माछापुच्छ्रे  गाउँपालिकाको सिदिङबाट आउँछन् । सिदिङसम्म जीप जाने भएकाले त्यहाँबाट झण्डै दुई घण्टाको समयावधिमा पर्यटक पोखरा पुग्दछन् । पदयात्रा पर्यटनमा मर्दी पदयात्रा पछिल्ला समयमा पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य टीकाराम सापकोटा बताउनुहुन्छ । मर्दी पदयात्रा प्राकृतिक सौन्र्यताले विशेष महत्वपूर्ण रहेको बताउँदै उहाँले यसको निरन्तर प्रवद्र्धन र संरक्षण गर्नु जरुरी रहेको बताउनुभयो ।

“यस पदमार्गमा ठूला बस्ती नरहेका कारण यो प्रकृतिमा आधारित पदमार्ग हो”, उहाँले भन्नुभयो, “यसको प्राकृतिक सौन्दर्यतालाई जोगाउँदै बस्ती नरहेका कारण आगामी दिनमा पनि यस क्षेत्रमा जथाभावी मोटरबाटो खन्ने काम रोकिनु आवश्यक छ ।” बढ्दो पर्यटकको आगमनसँगै हुनसक्ने वातावरणीय प्रदूषणसमेतलाई दृष्टिगत गर्दै बेलैमा यसतर्फ सचेत बन्नुपर्ने पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो । छोटो दूरीमा हिमाल छुन सकिने मर्दी पदयात्राको आफ्नै विशिष्ट महत्व रहेको बताउँदै उहाँले पदयात्रा मार्गका बाटोलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । –––

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...