‘सहकारीको प्रवद्र्धनका लागि स्थानीय तह र संघहरु मिलेर काम गरौ’

स्याङ्जा,  चैत २१ गते । ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा स्थानीय तह र सहकारी अभियानबीच सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले स्याङ्जाको पुतलीबजारमा शुक्रवार १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।सहकारीको अनुगमन, नियमन र प्रवद्र्धनका लागि स्थानीय सरकार र सहकारी अभियानबीच सहकार्य गरी अगाडि बढ्न कार्यक्रमका सहभागीहरुले सुझाव दिएका छन् ।

जिल्ला सहकारी संघ स्याङ्जा, जिल्ला वचत तथा ऋण सहकारी संघ स्याङ्जा, राष्ट्रिय सहकारी बैंक पुतलीबजार शाखा र पुतली बजार नगरपालिकाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा पुतलीबजार नगरपालिकाका प्रमुख सीमा क्षेत्रीले जनताको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नका लागि सरकार र सहकारीबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।

 

सहकारीहरुको प्रभावकारिताका लागि सबै पालिकाहरुले नियमन, अनुगमन र प्रवद्र्धनका लागि सहकारी संघहरुसंग मिलेर काम  गर्न सके सहकारी क्षेत्रले जनताको आयस्तर बढाउन र गरिवी न्यूनिकरणका लागि महत्वपूर्ण योगदान पु¥याउन सकिने भएकाले सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

 

 अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले स्थानीय सरकार र सहकारीबीचको सहकार्य, नियमन तथा अनुगमन सम्बन्धमा सहजीकरण गर्नु भएको थियो । सहकारीको प्रवद्र्धनका लागि स्थानीय तह र सहकारी अभियानबीच सहकार्य र समन्वय आवश्यक रहेको भन्दै उहाँले सहकार्य गरेर अगाडि बढ्न सुझाव दिनुभयो ।

 

 स्थानीय सरकार र सहकारीको काम एउटै प्रकृतिको भएकाले स्थानीय उद्यमशिलताको विकास, रोजगारी सिर्जना, आयआर्जनमा वृद्धि, वचत गर्ने बानीको विकास गर्नका लागि सहकारीको प्रवद्र्धनमा स्थानीय सरकारको सहयोग र सहकार्य आवश्यक रहेको जिसीको भनाइ थियो ।  कार्यक्रमको उद्देश्यका बारेमा जानकारी दिदै जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेलले स्याङ्जाको सहकारी अभियानलाई प्रभावकारी बनाउन, सहकारीमार्फत उत्पादन बढाउन, सहकारीहरुलाई व्यवस्थित र उद्देश्यमुलक बनाउनका लागि शिक्षा, तालिमका साथै प्राविधिक ज्ञान आवश्यक रहेको बताउनुभयो ।

स्थानीय सरकार र सहकारीहरुबीचको सहकार्यलाई प्रभावकारी बनाउनका लागि राष्ट्रिय सहकारी दिवसका अवसरमा सबै पालिकाका सहकारी विभाग प्रमुख र सहकारीका अगुवाहरुबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको पौडेलले जानकारी दिनुभयो ।

 स्याङ्जा शितभण्डार सहकारीका अध्यक्ष अनन्तकुमार श्रेष्ठले सहकारीलाई व्यवसायिक रुपमा अगाडि बढाउनका लागि अभियान र स्थानीय सरकारबीचको सहकार्य र समन्वयमा जोड दिनुभयो ।

 कार्यक्रममा स्याङ्जाका सबै पालिकाका सहकारी शाखाका प्रमुखहरु, जिल्ला तथा विषयगत सहकारी संघका पदाधिकारी तथा सदस्यहरु, सहकारी संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधि र प्रवन्धकहरु सहित १ सय जनाको सहभागिता रहेको थियो ।

  अन्तरक्रिया कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेलको अध्यक्षता, राष्ट्रिय सहकारी बैंक पुतली बजार शाखाका प्रमुख पुष्पा क्षेत्री अर्यालको स्वागत र जिल्ला वचत तथा ऋण सहकारी संघ स्याङ्जाका अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...