आहा रारा गोल्डकप आजदेखि, आयोजक सहारा र सशस्त्र प्रहरी भिडदै

पोखरा, चैत २१ गते ।मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुदै छ । एक वर्षपछि पहिलो पटक पोखरा रंगशालाको फुटबल मैदानमा सहारा क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइस संक्रमणको त्रासका वीच पोखरा रंशालामा फागुन २२ देखि चैत १ गतेसम्म १८ औँ आहा रारा गोल्ड कपसंगै देशमा लकडाउन घोषणा भएको थियो । गत वर्षको चैत १ गतेपछि फेरी आहा रारा गोल्डको १९ औ संस्करणसंगै फुटबलको रौनक छाएको छ ।


प्रतियोगिताको उद्घाटन खेल शनिबार आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपिएफ क्लबका बीच हुनेछ । प्रतियोगितामा सहारा र एपिएफसहित नेपालका ‘ए’ डिभिजनका क्लबहरु मनाङ मस्र्याङ्दी, नेपाल पुलिस क्लब, रुस्लान थ्रीस्टार, संकटा क्लब र मच्छिन्द्र क्लब र विदेशी टोली अफ्रिकन रुट एसोएसन, डउला क्यामरुनले सहभागीता जनाउने छन् । प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार तथा उपविजेताले ५ लाख १ हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन ।

यसैगरी यस वर्षदेखि राजनीतिज्ञ एवं उद्योगपति सूर्यबहादुर केसीको स्मृतिमा प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार नगदसहित पुरस्कृत गरिने क्लबका सहारा क्लबका अध्यक्ष केशबहादुर थापाले जानकारी दिनुभयो ।

अभिषेकलाई सम्मान

यस वर्षको ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७’ सम्मानबाट राष्ट्रिय टोलीका सदस्य अभिषेक रिजाललाई पुरस्कृत गरिने भएको छ । राष्ट्रिय टोलीमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका माध्यमबाट देशको नाम चिनाउन सफल भएकोमा उहाँलाई नगद ३५ हजार, प्रमाणपत्र र दोसल्लाबाट सम्मान गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...