जनप्रियलाई जग्गा उपलब्ध गराउन प्रतिवद्ध छु ः प्रमुख जिसी

पोखरा, चैत २१ गते । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले मानित विश्वविद्यालयका लागि चाहिने भौतिक संरचना र जग्गा उपलब्ध गराउन प्रतिवद्ध भएको जनाएका छन् । जनप्रिय बहुमुखी क्याम्पसको २२ औं साधारण सभालाई सम्बोधन गर्दै प्रमुख जिसीले पर्यटकीय नगर पोखरामा स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन (विएमटिम) विषय पढाइ भएकाले यस कार्यक्रमलाई सहयोग गर्ने जनाए । बजारलाई चाहिने जनशक्ति उत्पादन र प्राविधिक शिक्षामा जोड दिन उनले आग्रह गरे । जनप्रिय क्याम्पस पोखराको मात्रै नभएर नेपालकै गौरव भएको बताए ।


उद्घाटन सत्रमा परशुराम बराल, दामोदर चालिसे, वीरेन्द्रनारायण विजुक्छे, विष्णुप्रसाद बराल, ध्रवराज पौडेल र देवी पनेरुले शुभकामना मन्तव्य राखेका थिए । वक्ताहरूले मानित विश्वविद्यालयमा जानका लागि क्याम्पसको विधान परिमार्जन गर्नुपर्ने धारणा राखे । क्याम्पस प्रमुख विरञ्जी गौतमले क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन र आगामी वर्षको कार्यक्रम प्रस्तुत गर्दै जेएमीले शैक्षिक गुणस्तर कायम राख्न अनुसन्धान र प्रकाशनमा जोड दिने प्रतिवद्धता सहित ५ वर्षे रणनीतिक योजना अनुरुप मानित विश्वविद्यालय बनाउन लागेको बताए ।

पुस्तकालयलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै ४७ हजारभन्दा बढी विषयगत पुस्तक राखिएको क्याम्पसबाट उत्पादित ८ सय ८८ दक्ष जनशक्तिको ट्यासर स्टडी गरिएको छ । त्रिविबाट सम्बन्धन लिएर विसिए, विएस्सी फिजिक्स, विएस्सी सिएसआइटीका कार्यक्रम चलाउन दरखास्त बुझाएको गौतमले उल्लेख गरे । विश्वविद्यालय अनुदान आयोगबाट गुणमापन तथा प्रत्ययानको प्रमाणपत्र प्राप्त क्याम्पसले स्वयत्त कार्यक्रम अन्तर्गत स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन र एमविए इन हस्पिटालिटी म्यानेजमेन्ट चलाइरहेको छ ।

 

मुनाफारहित क्याम्पसको आ.व.०७६÷०७७ को आम्दानी खर्च एवम् ०७७÷०७८ को अनुमानित बजेट कोषाध्यक्ष राजेन्द्र पहारीले प्रस्तुत गरेका थिए । गरिब तथा जेहन्दार, पिछडिएका क्षेत्रबाट आउने विद्यार्थीलाई १० प्रतिशत छात्रावृत्ति सुविधा छुट्याएको क्याम्पसले चालु आर्थिक वर्षका लागि २० करोड ४७ लाख ८ हजार ५ सय ४ रुपैयाँ ३ पैसाको अनुमानित बजेट तर्जुमा गरेको पहारीले जानकारी दिए ।

समुदायमा आधारित क्याम्पस सर्वसुलभ शिक्षण शुल्कमा सञ्चालित छ । गरीब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनलाई सघाउने उद्धेश्यले छात्रवृत्ति कोष स्थापना गरिएको छ । कार्यक्रममा तुल्सी वस्ताकोटी स्मृति छात्रवृत्ति कोषमा १ लाख ५५ हजार ५ सय ५५, इन्दिरा पौडेल शैक्षिक उन्नयन छात्रवृत्ति कोषमा १ लाख पचपन्न हजार र पुरुषोत्तम दुर्गालक्ष्मी छात्रवृत्ति कोषमा १ लाखको चेक अध्यक्ष तारा गिरीलाई हस्तान्तरण गरिएको थियो ।

साधारण सभाको बन्द सत्रमा सभासद् सूर्यभक्त सिग्देल, विष्णुप्रसाद बराल, शिव के.सी.ले राखेका जिज्ञासालाई क्याम्पस प्रमुख विरञ्जी गौतमले जवाफ दिएका थिए । कोषाध्यक्षको आर्थिक प्रतिवेदन र क्याम्पस प्रमुखको प्रगति प्रतिवेदनलाई साधारण सभाले अनुमोदन गरेको छ । क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष स्व. प्रेमनारायण बराल, सम्मानार्थ संरक्षक स्व.खिमानन्द पाण्डे, सम्मानार्थ संरक्षक प्रतिनिधि स्व. योगन्द्रभक्त पालिखे र सभासद् स्व. हिराराम गिरीप्रति शोध प्रस्ताव पारित गरेको छ ।

प्रात र दिवा सत्रमा ५ हजार ५ सयभन्दा बढी विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पसले देशभरिका १ हजार ९६ सामुदायिक क्याम्पस मध्ये २०७२ र २०७३ मा शिक्षामन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार पाइसकेको छ । विश्वविद्यालय अनुदान आयोगको छनौटमा परेको जेएमसीले दुई पटक गुणमापन तथा प्रत्यानको प्रमाणपत्र पाएर गुणस्तर सुनिश्चितताको कसीमा अब्बल ठानिएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष तारा गिरीको सभापतित्वमा भएको साधारण सभामा उपाध्यक्ष बीरबहादुर अधिकारीले स्वागत मन्तव्य, सञ्चालक समितिका सदस्य नम्रता बरालले धन्यवाद ज्ञापन गरेका थिए भने सिर्जना विकास केन्द्रका अध्यक्ष इन्द्र पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...