लाइन काटेर बक्यौता महसुल उठाउँदै प्राधिकरण

नेपाल विधुत  प्राधिकरण बागलुङ वितरण केन्द्रले विधुत महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता महसुल उठाउन थालेको छ । विधुत महसुल समयमा बुझाउन नआएका ग्राहकको लाइन काटेर वितरण केन्द्रले बक्यौता तिर्न ताकेता गरेको हो ।

गत फागुन मसान्तसम्म जिल्लाभर ४१७ ग्राहकको महसुल उठ्न बाँकी थियो । मिटर रिडिङ भएको ६० दिनदेखि दुई वर्षसम्म महसुल नतिरेका ग्राहकलाई कालो सूचीमा राखेर वितरण केन्द्रले लाइन काट्ने अभियान थालेको थियो । धमाधम लाइन काटिन थालेपछि महसुल तिर्न बाँकी रहेका ३८८ ग्राहकले महसुल बुझाएको वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताउनुभयो । व्यक्तिगत र व्यावसायिक प्रतिष्ठानमा बाँकी रहेको रु ४० लाख ९९ हजार बक्यौता रकम उठेको गोशलीले बताउनुभयो ।

लाइन काटिएकामध्ये २९ ग्राहकले अझै महसुल बुझाउन बाँकी छ । विधुत महशुल नियमावली २०७७ को विनियम ७ को उपनियम ३ बमोजिम ६० दिनसम्म महसुल बुझाउन नआउने ग्राहकको विधुत बिना जानकारी प्राधिकरणले काट्न पाउने व्यवस्था छ । लाइन काटिएपछि बक्यौता बुझाएका ग्राहकको घरमा पुनः विधुत जडान गरिएको उहाँले बताउनुभयो । बक्यौता रकम समयमा असूल उपर गर्नका लागि प्राधिकरणले कडा कदम चाल्नु परेको उहाँको भनाइ छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...