संसदमा गोकुल बाँस्कोटा : आफैँ अड्काउने, आफैँ पड्काउने ?

काठमाडौं । एमाले सांसद तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले सरकारमाथि लागेका आरोपहरूको खण्डन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गरेका छन् । उनले सरकारले विकास निर्माणका काम अघि बढाएको, राष्ट्रिय स्वाधीनतालाई उच्च बनाएको भन्दै चुनावलाई प्रतिगमन भन्ने दलहरुले कस्तो अग्रगमन खोजेको भन्दै प्रश्न गरे ।

सोमबारको प्रतिनिधि सभामा बोल्दै पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले संसदमा सरकार, विकास र राजनीतिक जटिलताका बारेमा उठेका प्रश्नहरुको सरकारका तर्फबाट बचाउ गरेका हुन् ।

उनले केपी ओली नेतृत्वको सरकार बन्नु अघिसम्म नेपालको राजनीति राजनीतिमा मात्रै केन्द्रीत भएको भन्दै विकास निर्माण र राष्ट्रिय स्वाभिमानका एजेण्डा नबनेको बताए ।

‘यसरी काम गर्न खोज्दा पनि माखोल उडाउन खोजिन्छ र खुसी व्यक्त गर्न सकिँदैन भने म एउटा प्रश्न गर्न चाहन्छु । आखिर नेपालका राजनीतिक पार्टीहरू के चाहान्छन् । उनको विकासको एजेण्डा के हो ? राजनीतिक मुद्दा के हो ? जनताका बीचमा के भनेर जान चाहेको हो ? स्पस्ट हुनुपर्छ’, बाँस्कोटाले प्रश्न गरे । उनले एजेण्डा विहीन नेतृत्वले केही गर्न नसक्ने भन्दै विरोधका लागि विरोध गर्दा सही गन्तव्यमा पुग्न नसकिने बताए । ‘तथ्यमा जान म अनुरोध गर्छु विकास नगर्ने हो भने राजनीतिक दलको औचित्य के ?’, बाँस्कोटको प्रश्न छ ।

उनले भने, ‘मैले सुनेँ, मैले मेलम्ची आयो के भयो ? रेलमार्ग बन्दैछन् । बाजुराको टुप्पोमा कसैले अहिले रेल जान्छ भनेको छैन । ३० वर्षअघि कृष्णप्रसाद भट्टराईले देखेको सपना मेलम्ची काठमाडौँमा ल्याएर अहिलेका केपी ओलीले पूरा गरे ।’

उनले सरकारले काममै गरेन भनेर उठाएको प्रश्नप्रति टिप्पणी गर्दै भने, ‘सरकारले कामै गरेन भन्नुहुन्छ । सुत्केरी हुन नसकेर छट्पटाएका महिलाको उपचार हुँदा उनीहरुलाई सोध्न हामी को गयौँ ? अचम्म लाग्छ । मृत सपना बोकेर आशावाद राख्न सकिँदैन ।’ त्यस्तै उनले धरहरा बनेको नदेख्नेलाई कानमा रुवा र आखामा चस्मा लाउन सुझाव दिए । उनले प्रधानमन्त्रीले अगाडि सारेको पञ्चवर्षीय योजना अघि बढेको देखेर चिन्ता लागेको छ भने थप चिन्ता बढ्नेवाला रहेको दावी गरे ।

‘विकासलाई हेर्ने दृष्टिकोण बदलौँ । तथ्याङ्कमा खेलौँ । अरोपमा मात्रै हामी समय बर्बाद नगरौँ । बरु जनता दंग नेताहरु भरंग किन भएको ? यो कस्तो ऐठन ? विचित्र भएको छ’, बाँस्कोटाले सरकारले तीव्र गतिमा काम गरिरहेको दावी गरे ।

त्यस्तै उनले ओली नेतृत्वको सरकार कामचलाउ नभएको समेत बताए । ‘सरकार कामचलाउ कसरी हुन्छ ? के भनेको यो ? यो सरकार कस्तो जगमा बनेको छ ? समर्थन आफू गर्ने, फिर्ता गर्न नसक्ने, अर्को सरकार बनाउन कुनै एजेण्डा प्रस्तुत गर्न नसक्ने, अनि सरकार कामचलाउ भयो भन्ने ?’, उनले प्रश्न दोहोर्याए ।

उनले विश्वासको मत फिर्ता लिए अर्को चरणको प्रक्रिया सुरुवात हुने भन्दै ‘आफैँ अड्काउने आफै पड्काउने ? त्यो काम नगर्नुस्’ माओवादीप्रति संकेत गरे । उनले राजनीतिको मैदान खुला भएको भन्दै प्रतिगमन भनेर केलाई भनिएको भनेर प्रश्न गरे । ‘जनताको बीचमा जानु प्रतिगमन हुन्छ भने अग्रगमन के हुन्छ ? द्वन्द्वकालमा राजासँग मिलेर साही साम्यवाद ल्याउन गरेको छलफल अग्रगमन हो ?’, बाँस्कोटाको भनाइ छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...