स्वास्थ्य मापदण्ड पालनामा कडाइ

काठमाडौं : सरकारले कोरोना भाइरस संक्रमण फेरि बढेपछि जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सूचना जारी गरी रात्रिकालीन व्यवसाय तथा रेस्टुरा ९ बजेपछि बन्द गर्न भनेको छ। सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, पौडी पोखरीसहित मन्दिरलगायत धार्मिक स्थल स्वास्थ्य मापदण्डमा कडाइसाथ पालना गरेर मात्रै सञ्चालन गर्न दिन भनिएको छ।

मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई संक्रामक रोग ऐनबमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थानमा मास्कको प्रयोगलाई अनिवार्य गर्न भनेको छ। यस्तै, काठमाडौं, पोखरालगायत ठूला सहरमा विद्यालय जाने उमेर समूहमा संक्रमण बढेको भन्दै सचेत हुन शैक्षिक संस्थालाई अनुरोध गरिएको छ।

मन्त्रालयले सार्वजनिक यातायातमा भीडभाड कम गर्न, स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ। ‘संक्रमणको अवस्था हेरी ठूला सहरमा ५ सयभन्दा बढी र साना सहरमा सयभन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनलाई कडाइसाथ गर्न-गराउनुहुन अनुरोध छ’, सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको सूचनामा लेखिएको छ। मन्त्रालयले विदेशबाट फर्किएपछि अनिवार्य घरमै क्वारेन्टाइनमा बस्न भनेको छ। नेपालमा बुधबार २ सय ९८ जना संक्रमित थपिएका छन्। कोरोनाबाट थप दुई जनाको ज्यान गएको छ। ७४ जना निको भएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...