नयाँ सरकार बनाउने कांग्रेसको योजना तत्काल पूरा हुन कठिन

काठमाडौं । नयाँ सरकार गठनको लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनता समाजवादी पार्टीलाई फकाउने कसरतमा लागेको छ । तर, जनता समाजवादी पार्टी भने केपी शर्मा ओली नेतृत्वको सरकारलाई तत्काल विस्थापित गर्ने पक्षमा देखिएको छैन ।

जसपा अनिर्णित हुँदा नयाँ सरकार बनाउने कांग्रेसको योजना तत्काल पूरा हुन कठिन देखिएको छ । शुक्रवार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस, माओवादी केन्द्र र जसपासहितको संयुक्त बैठकमार्फत कांग्रेसले जसपालाई सत्ता सहकार्यको औपचारिक प्रस्ताव गरे पनि जसपाले कुनै निर्णय दिएन ।

जसपाले निर्णय नदिँदा कांग्रेसको तत्काल नयाँ सरकार बनाउने योजना पर सरेको हो ।नयाँ सरकार गठनका विषयमा माओवादी केन्द्रले भने कांग्रेसलाई सहमती दिँदै आइरहेको छ । शुक्रवारको बैठकमा कांग्रेस सभापति देउवाले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन पार्टीले निर्णय गरिसकेको भन्दै माओवादी र जसपालाई समेत निर्णयबारे जानकारी गराएका थिए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जसपालाई विधिवत रूपमा नयाँ सरकार गठनका लागि सहकार्य प्रस्ताव गरिएको जानकारी दिए । उनले आफ्नो दलको प्रस्तावमा जसपा सकरात्मक रहेको तर आन्तरिक छलफलपछि टुंगोमा पुग्ने जसपाको जवाफ रहेको बताए ।

बैठकमा कांग्रेसबाट देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, विजयकुमार गच्छेदार, विमलेन्द्र निधि, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, जसपाबाट महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादवलगायतका नेता सहभागी थिए । यो खबर आजको राजधानी दैनिकमा छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...