नयाँ वर्ष २०७८ साउनदेखि लगानीकर्ताले नयाँ टिएमएसबाट कारोबार गर्न पाउने

नयाँ वर्ष २०७८ साउनदेखि लगानीकर्ताले नयाँ टिएमएसबाट कारोबार गर्न पाउने भएका छन्। सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल स्टक ब्रोकर एसोसिएसनले उक्त जानकारी दिएको हो।एसोसिएसनले अन्तर्राष्ट्रिय स्तरको टिएमएसलाइ यति बेला नेपाली कारोबारको लागि कष्टमाइज गर्ने काम भइरहेको जनाउँदै उक्त कार्य सकिए लगत्तै लगानीकर्ताले नयाँ टिएमएसबाट कारोबार गर्न पाउने जनाएको छ। “लगानीकर्ताले कारोबार गर्दा व्यहोर्नु पर्ने दुःख अन्त्य गर्न हामी व्यवसायीहरूको संयुक्त पहलमा दश भन्दा बढी राष्ट्रहरूमा प्रयोग भइरहेको कारोबार प्रणाली टिएमएस ल्याउने सम्झौता गरि उक्त प्रणाली लोकलाइजेसन/ कष्टमाइजेसन गर्ने काम तीब्र गतिमा अगाडी बढाइएको कुरा पनि जानकारी गराउन चाहन्छौ” एसोसिएसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित पक्षहरूको उचित सहयोग प्राप्त भएमा २०७८ श्रावण १ बाट उक्त प्रणाली लगानीकर्ताले प्रयोग गर्न पाउने अपेक्षा एसोसिएसनको छ। प्रयोगमा ल्याउन लागिएको नयाँ टिएमएसमा लगानीकर्ताले नयाँ नयाँ फिचरहरू प्रयोग गर्न पाउने बताइएको छ। “मल्टि एसेट,मल्टि एक्सचेन्ज ट्रेडिङ प्लेटफर्म रहेको उक्त प्रणालीमा शेयर,डिबेन्चर, बण्ड, डेरिभेटिभ्स,करेन्सी लगायत विभिन्न उपकरणहरूको कारोबार एक वा एक भन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने छ।

साथै मोबाइल एप्लिकेसन सहितको यो प्रणालीले लगानीकर्ताहरूलाई कारोबार गर्न सहजता प्रदान गर्नेछ । अर्थतन्त्र, बजार तथा सूचीकृत कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेषण गर्न सकिने गरी यस प्रणालीमा तथ्याङ्कहरू राखिने छन् । लगानीकर्ताहरूले आफ्नो कारोबारको सम्पूर्ण हरहिसाब तथा आफ्नो पोर्टफोलियो,नाफा घाटाको अवस्था पनि यसै प्रणाली मार्फत हेर्न पाउने व्यवस्था रहने छ। स्टप लस, टेक प्रफिट,आफ्टर मार्केट अर्डर लगायतका विशेषताले गर्दा कारोबार गर्न निकै नै सहज हुनेछ” विज्ञप्तिमा भनिएको छ।

यसै गरी एसोसिएसनले कुनै पनि शेयरको बिक्री गरेको रकम भुक्तानी समयमा नपाइए सम्बन्धित ब्रोकर कार्यालयबाट चेक मार्फत भुक्तानी लिन लगानीकर्तालाई अनुरोध गरेको छ। ब्रोकर कम्पनीले प्रयोग गर्दै आएको चार प्रणालीहरूमा एपिआइ अभावका कारण भुक्तानीमा कठिनाइ हुँदै गएकोले कुनै कुनै समयमा ब्रोकर कम्पनीले चाहेर समेत भुक्तानी दिन नसकेको बताउँदै उसले लगानीकर्तालाई चेकबाट भुक्तानी लिन अनुरोध गरिएको जनाएको छ। भुक्तानी प्रणालीलाई समेत चुस्त बनाउन धितो पत्र व्यवसायी र सिडिएसिलेको संयुक्त प्रयासमा छुट्टै प्रणालीको विकास गरी त्यसको समेत परीक्षण भइरहेकोले निकट भविष्यमा भुक्तानीको समस्या समेत शून्यमा झर्ने अपेक्षा एसोसिएसनको छ।

एसोसिएसनले व्यवसायीहरू नियामक निकायले तोकेका सम्पूर्ण प्रावधानहरू पुरा गर्न,अन्तर्राष्ट्रिय जगतमा ब्रोकरले अँगालेका पद्धति र प्रणाली प्रयोग गर्न र आवश्यकता अनुसार पूर्वाधार वृद्धि गर्न सदैव तयार रहेको जनाउदै नियामक निकायहरूसँग सेवा बिस्तारको माग समेत गरेको छ।

“हामी व्यवसायीहरू नियामक निकायले तोकेका सम्पूर्ण प्रावधानहरू पुरा गर्न, अन्तर्राष्ट्रिय जगतमा ब्रोकरले अँगालेका पद्धति र प्रणाली प्रयोग गर्न र आवश्यकता अनुसार पूर्वाधार वृद्धि गर्न सदैव तयार छौ । आधिकारिक प्रतिनिधि तथा सब–ब्रोकरको माध्यमबाट देशका हरेक क्षेत्रमा दोस्रो बजार बिस्तार गर्न र मार्जिन टेडिङ, लगानी परामर्श, लगानी व्यवस्थापन र ईन्ट्रा डे कारोबार जस्ता थप सेवाहरू प्रवाह गरी बजारलाई थप गति प्रदान गर्ने हाम्रो तीव्र इच्छा रहेको छ । र हामी यसका लागी सक्षम पनि छौ । अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक संरचना विकास गरी त्यही स्तरको ब्रोकर सेवा आम लागानीकर्ताहरुलाई उपलब्ध गराउन सधैँ लालाईत छौ । यसका लागी नियामक निकाय तथा बजार सञ्चालकको आवश्यक निर्देशन तथा सहयोगको अपेक्षा गर्दछौ” एसोसिएसनले विज्ञप्तिमा लेखेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...