पोखरा क्रिकेट क्लबलाई प्रो–३५ वुमन्स क्रिकेट सिरिज

पोखरा, बैशाख ४ गते ।काठमाडौको अल्फा क्रिकेट एकेडेमीलाई ६ विकेटले पराजित गर्दै पोखरा क्रिकेट क्लबले दुईखेलको श्रृंखला क्लिन स्वीप गरेको छ । प्रो–३५ वुमन्स दुईखेलको श्रृखला अन्तर्गत शनिबार दोस्रो खेलमा पोखरा क्रिकेट क्लबले भ्रमणकारी टोलीलाई ६ विकेटले पराजित गर्दै च्याम्पियन ट्रफी रक्षा गर्यो ।


काठमाडौंले टस जितेर व्याटिङमा उत्रियो । ३५ ओभरको खेलमा २२ ओभरमा सबै विकेट गुमाउँदै काठमाडौंको टोलीले ७६ रनको सामान्य लक्ष्य तयार पार्यो । कन्चन श्रेष्ठले सर्वाधिक २९ रनको योगदान दिईन् । हेलिसा गुरुङले १२ र अस्मिना कर्मचार्यको नाममा १० रन मात्रै बोर्डमा लेखिएको थियो । बलिङ तर्फ पोखरा क्रिकेट क्लबकी डली भट्टले ५ विकेट लिईन् । त्यस्तै कविता कुँवरले २ विकेट लिन सफल भईन् ।

७७ रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेट क्लबले ४ विकेटको क्षतिमा पुरा गर्यो । केवल १५.५ ओभर खेल्दै पोखरा क्रिकेट क्लबले लक्ष्य भेट्टाउने क्रममा डली भट्टले १८ रनमा नटआउट रहिन् । उनको प्रेरणादायी खेलमा कविता कुँवरले पनि १८ रन बनाउँदै जितको आधार तयार पारिन् । त्यस्तै शिला रेग्मी क्षत्रीले ११ र रेवती धामीले १० रनको योगदान गरिन् ।

पोखरा क्रिकेट क्लबको आयोजना तथा वाईनकिङको मुख्य प्रायोजनमा पोखरा रंगशालामा आयोजित प्रो–३५ वुमन्स दुई खेलको श्रृखंलामा अल्फा क्रिकेट एकेडेमीकी कन्चन श्रेष्ठ विन्ध्येश्वरी भाडा उद्योग प्लयेर अफ दि सिरिज घोषित भईन् । प्लयेर अफ दि म्याचको पुरस्कार भने पोखरा क्रिकेट क्लबकी डली भट्टले प्राप्त गरिन् ।

महिलालाई क्रिकेटप्रति आकर्षित तथा प्रेरित गर्ने उद्देश्यसहित पोखरा क्रिकेट क्लबले आयोजना गरेको दु्ई खेलको श्रृंखलाका विजेतालाई राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङ, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देल, पोखरा क्रिकेट क्लबका पूर्व अध्यक्ष देवेनसन प्रजु, पूर्व अध्यक्ष उमेशसिंह यादव, क्लबका अध्यक्ष निकेश श्रेष्ठ, द्धितीय उपाध्यक्ष चन्द्रकुमार गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...