विद्यालय एक साताका लागि बन्द

नेपालगञ्ज, वैशाख ५ गते । पछिल्लो केही दिनयता बाँकेमा कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिँदै गएको बेला शिक्षक र विद्यार्थीहरुमा समेत धेरैलाई सङ्क्रमण देखिएपछि आइतबारदेखि एकसाताका लागि जिल्लाका सबै विद्यालय बन्द गरिएको छ ।

कोरोना सङ्क्रमण तीव्ररुपमा फैलिएपछि बाँके जिल्ला कोरोना हटस्पट बन्दै गएको र कतिपय शिक्षक तथा विद्यार्थीलाई समेत सङ्क्रमण पुष्टि भएपछि आइतवारदेखि जिल्लाका सबै विद्यालय एकसातासम्म बन्द गराइएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

केन्द्रका अनुसार विशेष गरी नेपालगञ्ज, डुडुवा, कोहलपुर र खजुराका शिक्षक र विद्यार्थीमा समेत सङ्क्रमण देखिएपछि अवस्था भयावह हुनसक्ने आशङ्काका कारण हाललाई एक साताका लागि विद्यालय बन्द गरिएको हो ।

यसअघि नेपालगञ्ज उपमहानगरपालिका लगायत विभिन्न स्थानीय तहहरुले पनि कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिरहेकोले विद्यालय एकसाता बन्द गर्ने निर्णय गरेर जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेमा पठाएका थिए ।

कोरोना सङ्क्रमण नियन्त्रण बाहिर जान थालेपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले सङ्क्रमण रोक्नका लागि अन्य विभिन्न निर्णयहरु गर्नुका साथै विद्यालय बन्द गर्ने निर्णय पनि गरेको बाँकेका कारोना फोकल पर्सन तेज ओलीले बताउनुभयो ।

उहाँले अर्को आइतवारसम्मका लागि जिल्लाका सबै विद्यालय बन्द गरिएको जनाउँदै त्यसपछि सङ्क्रमणको अवस्था हेरेर थप निर्णय लिइने बताउनुभयो । एक्कासी सङ्क्रमितको सङ्ख्या अत्यधिक रुपमा बढ्न थालेपछि अधिकांश अभिभावकले विद्यालय तत्काल बन्द गर्न स्थानीय तहहसँग माग गरेका थिए ।

शिक्षक र विद्यार्थीमै सङ्क्रमण देखिन थालेपछि अवस्थाको आँकलन गर्दै विद्यालय बन्द गराउनु परेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयका अनुसार अवस्था सामान्य नभएसम्मका लागि कुनै पनि भिडभाड नगर्न, भिडभाडमा नजान, मास्क अनिवार्य प्रयोग गर्न, घरमै सुरक्षित बस्न र भौतिक दूरीको विशेष ख्याल गर्न सबैसँग आग्रह गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...