अन्नपूर्ण द राउण्ड टेबल ः सिनेमा सँस्कृति विषयमा चर्चा

पोखरा, बैशाख ६ गते । पोखराबाट प्रसारित लोकप्रिय रेडियो अन्नपूर्णको प्रस्तुति द राउण्ड टेबलमा सिनेमा सँस्कृति विषयमा चर्चा गरिएको छ । सोमबार बिहान प्रसारण हुने कार्यक्रममा वक्ताहरु कवि प्राज्ञ रमेश श्रेष्ठ, कलाकार तथा निर्देशक माओत्से गुरुङ, चलचित्र व्यवसायी निकेश द्वा र चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष अरुण गिरीले आ—आफ्नो धारणा राखेका छन् । उनीहरुलाई सहजीकरण प्रस्तोता वाशुदेव मिश्रले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्राज्ञ रमेश श्रेष्ठले आफुले पहिलो चलचित्र २०३४ सालमा हेरेको सम्झिए । उनले भने,“त्यतिबेला हलको व्यवस्थापन भइसकेको थिएन । प्रोजेक्टर मार्फत देखाउने गरिन्थ्यो ।” उसो त श्रेष्ठ कम फिल्म हेर्ने गर्छन् । राम्रा फिल्म उनको रोजाईमा पर्ने गर्छ । बिम्ब र काव्यिक कथा वस्तुलाई उनी बढी प्राथमिकता दिन्छन् । तत्कालिन समयमा श्रेष्ठले कल्पना हलमा एक मोहरमा चलचित्र हेरेको सम्झिए । सिनेमा समयको मध्यान्हमा समेत पैसाको अभावमा लुकेर हेरेको अनुभवलाई उनले साटे ।

श्रेष्ठले ४० को दशकमा आएको भारतीय सिनेमा “कयामत से कयामत तक”ले समाजमा राम्रो प्रभाव पारेको स्मरण गरे । “त्यतिबेलाको सिनेमामा भएका गतिविधिलाई समाजमा समेत उतार्ने गरिन्थ्यो”, उनले भने,“ पात्रको हाउभाउलाई नै हेरेर समाजका व्यक्तिहरुले आफुलाई त्यहीअनुरुप ढाल्ने गर्थे ।” सिनेमाले मनोरञ्जन सँगै सन्देश पनि दिनुपर्ने विषयलाई श्रेष्ठ उठान गर्छन् । सिनेमाले सांस्कृतिक सँगै सामाजिक, शैक्षिक र यौनका विषयलाई बुझ्ने अवसर प्रदान गरेको तर्क उनको छ ।

उनका अनुसार सिनेमा भनेकै साहित्य हो । कोरा फिल्मको कलाकार हुनु र साहित्य बुझेका कलाकार हुनुमा धेरै फरक भएको उनी पाउँछन् । पछिल्लो समयमा साहित्यमा आधारित चलचित्र निर्माण हुँदा खुशी लाग्ने गरेको उनी बताउँछन् । श्रेष्ठले भाषागत चलचित्र पनि अब सबैले बुझ्ने किसिमबाट निर्माण हुनुपर्ने धारणा राखेका छन् । उनले सरल भाषानै सिनेमाको महत्वपूर्ण गहना भएको उल्लेख गरे ।

श्रेष्ठ नेपाली सिनेमामा काव्यिक कथावस्तु फितलो हुँदा चलचित्र क्षेत्रनै कमजोर बन्दै गरेको पाउँछन् । भारतीय चलचित्र काव्यिक भएका कारण नै चलेको तर्क उनको छ । उनले अब कवितामा समेत चलचित्र निर्माण हुनुपर्ने विषयलाई जोड दिएका छन् । माससँगै मास डोराउन सक्ने क्लासको समेत व्यवस्था हुने गरी सिनेमा निर्माण गर्न उनको आग्रह छ ।

कलाकार माओत्से गुरुङ पोखरा भन्दा अलिक पर गाउँमा जन्मका कलाकार हुन् । त्यतिबेला उनलाई फिल्म हेर्ने सहज वातावरण थिएन । घर परिवारको डर एकातिर थियो भने अर्कोतर्फ लामो यात्रा तय गरेर मात्र सिनेमाघर पुगिन्थ्यो । संघर्षका बाबजुत पनि माओत्सेले “सन्तान” चलचित्र पहिलो पटक हेर्ने अवसर पाए । गुरुङ यस्तो समाजमा हुर्के जुन समाजमा चलचित्र हेरेर उस्तै नक्कल गर्ने गरिन्थ्यो । नेपाली सिनेमाका अग्रज कलाकारसँग आज आफु एउटै फिल्ममा अनुबन्धित भएर काम गर्न पाउँदा उनी खुशी देखिन्छन् ।

गुरुङका अनुसार एउटा राम्रो सिनेमाका लागि निर्देशक पथप्रदर्शक हो । उनले मुलधार भनिने चलचित्रमा स्थानिय कथा वस्तु झल्किएको खण्डमा सिनेमा सफल हुने धारणा राखे । नेपाली सिनेमामा आञ्चलिकता नहुँदा बिग्रेको तर्क उनको छ । गुरुङ फिल्ममा पहिलेदेखि नै मौलिकता झल्काइए पनि नेपाली मुलधार भनिने चलचित्रमा अहिले आएर मात्र मौलिकता देखिएको उनले बताए ।

गुरुङले सिनेमा सम्बन्धि पत्रकारिता गर्ने पत्रकार फिल्मकर्मी भन्दा पनि दुई गुणा बढी अध्ययनशिल हुनुपर्ने बताएका छन् । उनले निर्माता र निर्देशकको निकटताका आधारमा फिल्म समिक्षा गर्नुभन्दा पनि सही र सत्य किसिमबाट फिल्म समिक्षा गर्न पत्रकारलाई आग्रह गरेका छन् । हाँसो सबैलाई मन पर्ने विषय भएकाले अहिले नेपालमा कमेडी फिल्मको लहर चलेको तर्क उनको छ । खासगरी “कबड्डी” पछि नेपाली चलचित्र उद्योगमा हाँसोका मात्रै कथावस्तुमा चलचित्र बन्ने गरेको उनी पाउँछन् । सिनेमा चल्न कन्टेन्ट राम्रो हुनुपर्ने उनले बताए । कन्टेन्ट सँगै निर्देशिकय पक्ष समेत बलियो हुनुपर्ने धारणा उनको छ ।

उनले कोरोना महामारीले गुरुङ चलचित्र क्षेत्रलाई पाठ सिकाएको अनुभुति गरेका छन् । सोही बमोजिम गुरुङ चलचित्र हलमा प्रदर्शन हुन थालेका छन् । घरघरमै टिकट किन्नुपर्ने झन्झटबाट अब दर्शक मुक्त भएको भनाई गुरुङको छ । हल संचालकले लोकल सिनेमालाई अरु सिनेमा जस्तै ठाउँ दिन सके यसको भविष्य उज्जवल भएको उनले बताए ।

चलचित्र व्यवसायी निकेश द्वाले ४८ प्रतिशत नेपाली फिल्म हेर्न दर्शक हलमा आउने गरेको बताए । ३७ प्रतिशत बलिवुड र १५ प्रतिशत हलिवुड हेर्ने दर्शकको आगमन मिडटाउन सिनेमाजमा हुने गरेको उनले जानकारी गराए । उनले हलमा फिल्म हेर्ने कल्चर नभएको भन्ने विषय निराधार भएको बताएका छन् । टेक्नोलोजीको परिवर्तनसँगै मानिसका आकंक्षाहरुमा पनि परिवर्तन आएको उल्लेख गर्दै व्यवस्थित हलमा दर्शकको आगमन राम्रो भएको उनले बताए ।

द्वाले आफुहरुलाई हालको समयमा सरकारले निर्धारण गरेको ५० प्रतिशत अकुपेन्सीमा हल संचालन गर्न गाह्रो भइरहेको गुनासो पोखे । तर पनि बाध्यता स्वरुप हल संचालनमा ल्याएको उनको भनाई छ । नेपाली चलचित्रको हकमा मौलिक कथावस्तु भएको सिनेमाले नै नाम र दाम कमाएको उनले बताए । हलमा मान्छे तान्न सिनेमाको कन्टेन्ट बलियो हुनुपर्ने धारणा उनको छ ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष अरुण गिरीले विन्दवासिनी हलमा आफुले पहिलो पटक दुई थोपा आँसु हेरेको सम्झिए । त्यतिबेलाको समयलाई उनले मनोरञ्जनका रुपमा लिएका छन् । अहिलेको समय भनेको समिक्षात्मक भएको तर्क उनको छ । राजनीतिक,आर्थिक र भौतिक अवस्थाले पनि चलचित्र क्षेत्रमा परिवर्तन ल्याएको उनले बताए । नो इन्टरनेटको समय देखि अहिले फास्ट इन्टरनेटको समयसम्म आइपुग्दा सिनेमा क्षेत्रमा आकाश जमिनको फरक आफुले पाएको उनको भनाई छ । अरुणले भने,“हिजोका दिनमा रिलिज भएका फिल्मको समिक्षा गर्न पाइएन । आज फिल्मनुसार समिक्षा हुन थालेका छन् । यो टेक्नोलोजीमा आएको परिवर्तन हो ।”

अरुणले हिजो कल्पनाका कथालाई चलचित्रमा उतार्ने गरिएता पनि आज कल्पना सँगै सामाजिक यथार्थवादी कथालाई समेत चलचित्रको पर्दामा उतार्ने गरिएको बताए । नेपाली समाजको सिनेमा हेर्ने दृष्टिकोणमा परिवर्तन आएको अरुण पाउँछन् । भन्छन्,“ हिजोका दिन परिवारसँग लुकेर फिल्म हेर्नुपर्ने हुन्थ्यो । आज परिवारसँगै बसेर फिल्म हेर्ने पाएका छौं । एउटा उत्सवका रुपमा समेत चलचित्रलाई लिन थालिएको छ ।”

उनले चलचित्रकर्मीले सबै समिक्षकलाई एउटै टोकरीमा राखेर हेर्न नहुने बताएका छन् । उनले नेपालमा विषयगत समिक्षा गर्ने बढी भएकाले सबै फिल्मको राम्रो समिक्षा हुनुपर्छ भन्नु गलत भएको बताए । गिरीले नेपाली सिनेमा निर्माताको सोचमा बन्दा कथावस्तु बलियो नभएको बताए । निर्देशकको सोचमा नेपाली चलचित्र बन्नुपर्नेमा उनले जोड दिएका छन् । सिनेमा राम्रो बनाउने विषयमा चलचित्रकर्मीको नै महत्वपूर्ण भूमिका रहने उनले बताए । चोर दिमाखले अब फिल्म चल्छ भन्ने मानसिकतालाई त्यागेर कन्टेन्टमा आधारित चलचित्र निर्माण गर्न उनको आग्रह छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...