आज चैते दसैँ मनाइँदै

काठमाडौँ, वैशाख ७ गते । चैते दसैँ दुर्गा भवानीको उपासना गरी मङ्गलबार मनाइँदै छ । दानवी शक्तिमाथि दैवी शक्ति र असत्यमाथि सत्यको विजयस्वरूप देवी भागवत्, कालिका पुराण, चण्डी पाठ गरी चैत शुक्ल अष्टमीका दिन दसैँ मनाउने प्रचलन छ ।


यो दिन अशोकको फूल खानाले रोगव्याधि र शोक नाश हुन्छ भन्ने जनविश्वास छ । गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले कोरोना सङ्क्रमणबाट बच्न राजगुठीअन्तर्गतका सबै देवस्थल र भगवती मन्दिरमा सरकारले भनेअनुसारको सङ्ख्यामा मात्र भक्तजनलाई व्यवस्थित प्रवेश गराइने बताउनुभयो । हनुमानढोका दरबारस्थित मूलचोकमा ५४ राँगा र ५४ बोकाको बलि दिएर दशैँघरमा अर्चना गर्ने परम्परा छ ।

चैतेदशैँका दिन नै जमलस्थित तीनधारा पाकशाला परिसरबाट सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर)को रथयात्रा सुरु हुँदैछ । रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. २५ का वडाध्यक्ष नीलकाजी शाक्यले रथयात्राको सम्पूर्ण पूर्वतयारी सम्पन्न भएको जानकारी दिनुभयो । कुनै किसानले जमिन खन्दा जमल तीनधारामा आर्यावलोकितेश्वर भेटिएको र राजा गुणकामदेवले केलटोलस्थित कनक चैत्य महाविहारमा बुद्धको पश्चिमतर्फ राख्ने आदेश भएको वंशावलीमा उल्लेख छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...