पोखरा रंगशालामा खेलकुद गतिविधिमा रोक

पोखरा, बैशाख ९ गते । देशकै ठूलो र चहलपहल भैरहने पोखरा रंगशाला फेरी सुनसान बन्ने भएको छ । कोरोना भाइरसको दोश्रो लहर भित्रएको र संक्रमण बढेको भन्दै सरकारले भिडभाड हुने स्थलहरु बन्दको निर्णय गरेको छ । संघीय सरकारको मन्त्रिपरिषद् बैठकले बैशाख महिनाभरि भीडभाड हुने सभा, समारोह, खेलकुद, दोहोरी साँझ, बार र विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

सरकारको निर्णयसंगै पोखरा रंशगालामा समेत खेल गतिविधि गर्न रोक लगाइएको छ । पोखरा रंगशालामा बैशाख महिनाभरि कुनै पनि खेलकुद गतिविधि हुने छैन् । सरकारले भिडभाड गरेर आयोजना गरिने खेल गतिविधि सञ्चालन गर्न नपाइने निर्णय गरेसंगै पोखरा रंगशालामा बुधबारदेखि खेल सञ्चालनमा रोक लगाइएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताउनुभयो । सरकारको निर्णय, राष्ट्रिय खेलकुद परिषद्ले पनि कुनै खेल गतिविधि सञ्चालन नगर्ने भनेकाले पोखरा रंगशालाभित्र खेल गतिविधि बन्द गर्ने निर्णय गरेका छौ उहाँले भन्नुभयो,‘ बुधबार दिनभरजसो प्रहरीले पनि अनुगमन गदै खेल गतिविधि सञ्चालन नगर्न आग्रह गरेकाले आजैबाट बन्द गरेका छौ ।’

 

गत वर्ष चैत ११ देखि सरकारले लकडाउन गरेका कारण पोखरा रंगशाला करिव एक वर्ष ठप्प बनेको थियो । सधै चहलपहल हुने पोखरा रंगशाला फेरी सुनसान बन्ने भएको छ । दर्शक विना आयोजना हुने खेल प्रतियोगिता भने सञ्चालन गर्न पाइने छ । दर्शकको उपस्थितिमा हुने कुनै पनि प्रतियोगिता आयोजना गर्न पाइने छैन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...