अस्थिरताको सारथी बल्ला त राजमो ?

राष्ट्रिय जनमोर्चाले आफ्नै सहयात्रीलाई हराएर विपक्षीलाई जिताउला त ? हिजो प्रतिस्पर्धा गरेको र भोलीको पनि प्रतिस्पर्धीलाई जिताएर ३ दशक भन्दा लामो समयदेखि सहकार्य गर्दै आएको शक्तिलाई हराउला त ? धेरैको चासो छ ।

रामबहादुर जिसी
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमा राष्ट्रिय जनमोर्चाले समर्थन ग¥यो भने वर्तमान सरकार विघटन हुने र अर्को सरकार बन्ने संभावना बढेर गएको छ । राजनीतिमा यस्ता प्रक्रियाहरु भइरहन्छन् । अझ नेपालको सन्दर्भमा त सरकार विघटन र बन्ने क्रम औधी भइरहन्छन् । पछिल्लो समय स्थिरताको नारा दिएर बनेको सरकार पनि कति बेला ढल्ने हो ? भन्ने अवस्थामा छ । कहिले बाह्य कारण त कहिले आन्तरिक कारणले सत्ता परिवर्तन भइरहने देशकै रुपमा नेपाल परिचित छ ।


राजनीतिले गलत बाटो लिएपछि हुने यस्तै हो । प्रदेश सरकारहरुको आयु अब डेढ वर्ष मात्रै छ । यद्यपी सरकार परिवर्तनका खेलहरु भइ नै रहेका छन् । कर्णाली प्रदेशमा नेकपा एमालेले सत्ता परिवर्तनको अगुवाई ग¥यो तर एमालेकै ४ जना सांसदले अविश्वास प्रस्तावको विपक्षमा मतदान गरेपछि मुख्यमन्त्रीको पद जोगियो अर्थात् कर्णाली प्रदेश सरकारले विश्वास गुमाउन परेन ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको विरुद्ध पनि अविश्वास प्रस्ताव दर्ता भयो, अविश्वास प्रस्ताव दर्ता हुदैको दिन मुख्यमन्त्री पोखरेलले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ४ जनालाई मन्त्रीपरिषदमा सहभागी गराएपछि संकट टरेको देखिन्छ ।
अब गण्डकी प्रदेश सरकार परिवर्तन हुन्छ की हुदैन ? भन्ने धेरैको चासो देखिन्छ । सरसर्ती हेर्दा पृथ्वीसुव्वा गुरुङको विपक्षमा ल्याइएको अविश्वास प्रस्तावमा २८ जनाले हस्ताक्षर गरेका छन् । ३ जना सांसद रहेको राष्ट्रिय जनमोर्चाले साथ दियो भने ३१ मत पुग्ने र सरकार विघटन हुने देखिन्छ । राजमोले एमालेलाई समर्थन दिन नसकिने निर्णय गरेको कारण सरकार परिवर्तनको बढी संभावना छ ।
यद्यपी नेपालको राजनीतिमा एलेभेन्थ आवरमा जे पनि हुन सक्छ ? भन्ने थुप्रै उदाहरणहरु छन् । जसका कारण सरकार परिवर्तन नहुन पनि सक्छ ? भन्नेहरु पनि छन् । सरकार बन्नु र परिवर्तन हुनुले आम जनतालाई कति फरक पर्छ त्यो अलग विषय हो । गण्डकी प्रदेशको सन्दर्भमा एमालेको सरकार विघटन भएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्दा सरकारको नेतृत्व गरेको नेकपा एमाले र सरकार परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको राष्ट्रिय जनमोर्चाको बारेमा केही चर्चा गर्न उपयुक्त ठानेको छु ।

राष्ट्रिय जनमोर्चाका तर्फबाट गण्डकी प्रदेशमा ३ जना सांसद छन् । २ जना प्रत्यक्ष र १ जना समानुपातिकतर्फ । प्रत्यक्षतर्फ बागलुङ क्षेत्र नं. १ (ख) बाट कृष्ण थापा र क्षेत्र नं. २ (ख) बाट खिमबिक्रम शाही तथा समानुपातिकबाट बागलुङको काठेखोला गाउँपालिका वडा नं. ४ की पियारी थापा सांसद छन् । सिंगो प्रदेशमा ३ जना सांसद र तिनै जना बागलुङकै भएकाले बागलुङको राजनीति र गण्डकी प्रदेश सरकारको आयुका बारेमा चर्चा गर्न उपयुक्त ठानेको छु ।

बागलुङ वामपन्थी जनमत भएको जिल्ला हो । बामपन्थीहरु एकतावद्ध हुदा र नहुदाको अवस्था फरक भएको छ । बहुदल आएपछिको पहिलो निर्वाचन २०४८ मा बामपन्थीहरु मध्ये हालको राष्ट्रिय जनमोर्चाले निर्वाचन बहिष्कार ग¥यो, एमाले र तत्कालिन संयुक्त जनमोर्चा (हालको नेकपा माओवादी केन्द्र) छुट्टा छुट्टै निर्वाचनमा सहभागी भएका थिए । बागलुङका तीन वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका उमेदवार विजयी भए ।

२०५१ मा एमाले र राष्ट्रिय जनमोर्चाबीच सहकार्य भयो । क्षेत्र नं. १ मा एमाले तथा २ र ३ मा राष्ट्रिय जनमोर्चाका उमेदवार विजयी भए । २०५६ मा एमाले र राष्ट्रिय जनमोर्चाबीच तालमेल भयो । २ र ३ मा राजमोका उमेदवार विजयी भए, १ मा ४२ मतले एमालेका उमेदवार रामजी शर्मा पराजित भए । एमाले विभाजित थियो, त्यसको असर एमालेलाई प¥यो ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा बामपन्थीहरु मध्ये नेकपा एकीकृत र एमाले मिले अरु छुट्टा छुट्टै निर्वाचन लडे । १ मा एमाले र एकीकृृतका साझा उमेदवार रामजी प्रसाद शर्मा र २ नं. क्षेत्रमा राजमोका उमेदवार चित्रबहादुर केसी विजयी भए । ३ मा नेपाली कांग्रेसका निरज पुन विजयी भए ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा बामपन्थीहरु छुट्टाछुट्टै निर्वाचनमा गएका थिए । उक्त निर्वाचनमा ३ वटै क्षेत्रमा नेपाली कांग्रेसका उमेदवार विजयी भए । २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन बन्यो । बागलुङमा राष्ट्रिय जनमोर्चा पनि गठबन्धनमा सहभागी भयो । संघका २ वटै र प्रदेशका ४ वटै निर्वाचन क्षेत्रमा बामपन्थी उमेदवारहरु भारी मतले विजयी भए । नेपाली कांग्रेससंग प्रतिस्पर्धा गरेका त्यही निर्वाचनका विजयी उमेदवारहरु यतिबेला अलग अलग ३ पार्टीमा छन् । सरकार परिवर्तन र जोगाउने अभियानमा देखिन्छन् । संघ र प्रदेश मात्रै होइन स्थानीय निर्वाचनलाई हेर्दा पनि बागलुङमा बामपन्थीहरु एकतावद्ध हुदा मात्रै जित्न सफल भएको देखिन्छ होइन भने कांग्रेसकै उमेदवार विजयी भएका छन् । २०४९ सालको स्थानीय निर्वाचनमा बागलुङका अधिकांश गाविसमा कांग्रेसको नेतृत्व थियो । जिल्ला विकास करिव करिव एकलौटी कांग्रेसको थियो ।

२०५४ को स्थानीय निर्वाचनमा एमाले र राजमोबीच तालमेल हुदा बहुमत गाविस र जिल्ला विकास समितिमा बामपन्थी उमेदवारहरु (सभापति लिला बहादुर थापा र उपसभापति मोहनलाल शर्मा) विजयी भएका थिए । २०७४ को स्थानीय निर्वाचनमा पनि राजमो र एमाले मिलेका धेरै ठाउँमा विजय भएका छन् । राजमोले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष जितेको एक मात्र बरेङ गाउँपालिका र उपाध्यक्ष जितेको काठेखोला गाउँपालिकामा एमाले र राजमोबीचको सहकार्यका कारण दुवैको जित भएको हो । बामपन्थी गठबन्धनकै कारण जिल्ला समन्वय समिति बागलुङमा पनि यतिबेला राजमोका राजेन्द्र ढुंगाना र एमालेका विष्णु भुषाल प्रमुख र उपप्रमुख छन् ।

यसरी हेर्दा बागलुङको राजनीतिमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको सम्बन्ध हिजोदेखिकै सहकार्यको हो । राजनीतिमा मात्रै होइन, अन्य सामाजिक संघ संस्थाहरु रेडक्रस, पत्रकार महासंघ, जिल्ला सहकारी संघ लगायत धेरै ठाउँमा यी दुई पार्टीमा आवद्ध पेशा व्यवसायीहरुका बीचको सहकार्य रहदै आएको छ, यी दुई शक्ति मिल्दा यिनका उमेदवार विजयी भएका छन्, नमिल्दा पराजय भोग्नु परेको छ । यतिबेला एमालेको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकार राष्ट्रिय जनमोर्चाको साथ पाए अडिने र नपाए विघटन हुने अवस्थामा पुग्दा बागलुङमा यी दुई पार्टीबीचको सहकार्यमा कस्तो असर पर्ला धेरैलाई चासो र चिन्ता लागेको विषय हो ।

हिजोदेखि कांग्रेसका विरुद्ध एक हुने यी दुई पार्टीहरु गण्डकी प्रदेश सरकारको हकमा दुई ठाउँमा उभिने अवस्थाले आगामी दिनमा बागलुङको राजनीतिलाई पनि प्रभाव पार्छ भन्ने धेरैको अनुमान छ । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको सरकारको विपक्षमा मतदान ग¥यो र पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार ढल्यो भने नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्छ । गण्डकी प्रदेश सरकारले निरन्तरता पाउने र परिवर्तन हुने कुराले राष्ट्रिय जनमोर्चा र एमालेबीचको सम्बन्ध के होला ? जिल्ला तहका नेता कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुमा चासो देखिन्छ ।

२०७९ सालको जेठमा स्थानीय निर्वाचन र मंसिरमा प्रदेश तथा संघीय निर्वाचन आउदैछ । यी दुवै पार्टीको प्रतिस्पर्धी शक्ति नेपाली कांग्रेस हो । यदि गण्डकी प्रदेश सरकार राजमोको साथले नेपाली कांग्रेसको पोल्टामा गयो भने अब आउने निर्वाचनमा बागलुङको एमाले कसरी अगाडि बढ्ला ? कार्यकर्ताहरुको चासोको विषय हो ।
केन्द्र सरकार वा केन्द्रीय राजनीतिका कारण आज एमालेको नेतृत्वमा रहेको प्रदेश सरकार राजमोका कारण ढल्न पुग्यो भने भोलीको सहकार्य गर्ने कि नगर्ने ? भन्ने बारेमा पनि चर्चा चल्न थालेको छ । आज गण्डकी प्रदेशमा राजमोको साथ पाएर कांग्रेस नेतृत्वको सरकार बन्यो भने भोली एमालेले साथ दिएन वा एमाले र राजमो मिलेनन् भने बागलुङका करीब करीब सबै निर्वाचन नेपाली कांग्रेसको पोल्टामा जाने निश्चित जस्तै छ । यस्तो अवस्था आउने पूर्वानुमानका बारेमा पनि चर्चा चल्न थालेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विघटनसंगै बागलुङको समग्र बामपन्थी आन्दोलनमा समेत प्रभाव पर्ने अवस्था देखिन थालेको छ । बागलुङमा कुनै दिन बामपन्थी मध्येको पहिलो शक्ति बनेको राष्ट्रिय जनमोर्चा आज तेस्रो शक्तिमा झरेको छ । यस्तै अवस्था रहदै गयो भने कुन अवस्थामा पुग्ला वा कस्तो परिस्थिति आउला भन्नेमा पनि बहस हुन थालेको छ ।
नेपालको पहिलो पार्टीका रुपमा स्थापित नेकपा एमालेले देशभरको अवस्था हेर्दा राजमोसंग खासै सहकार्य जरुरी नदेखिए पनि बागलुङको सन्दर्भमा अझै एक दुईवटा निर्वाचनमा राजमोसंगको सहकार्यको विकल्प देखिदैन । भोली पनि यिनीहरु मिलेर नै अगाडि बढ्नु पर्ने अवस्था छ । तर, गण्डकी प्रदेश सरकारका कारण भोलीका दिनमा एमाले बागलुङलाई दबाब सिर्जना भयो र एक्लै निर्वाचनमा जानु प¥यो भने बागलुङमा एमालेले जित हासिल गर्न कठिन छ । एमालेले बागलुङका संसद र स्थानीय तहको नेतृत्व गुमाउदा बागलुङका एमालेहरुमा ठुलो समस्या हुन सक्छ । तर राजमोले बागलुङ गुमायो भने देशभरका लागि नै समस्या हुन सक्छ भन्ने विषयमा पनि स्थानीय स्तरमा छलफल चल्न थालेको छ ।
अन्यत्रको राजनीति जे भए पनि बागलुङको राजनीतिमा बामपन्थीहरुको वर्चस्व राख्नका लागि राजमो र एमालेको विगत देखिको सहयात्रालाई निरन्तरता दिनका लागि पनि राजमोले एमालेको प्रदेश सरकार विघटनमा साथ दिनु राम्रो हुदैन भन्ने स्थानीय नेता कार्यकर्ता धेरै छन् ।
राष्ट्रिय जनमोर्चाले आफ्नै सहयात्रीलाई हराएर विपक्षीलाई जिताउला त ? हिजो प्रतिस्पर्धा गरेको र भोलीको पनि प्रतिस्पर्धीलाई जिताएर ३ दशक भन्दा लामो समयदेखि सहकार्य गर्दै आएको शक्तिलाई हराउला त ? धेरैको चासो छ ।
राजनीतिमा स्थायी सत्रु र स्थायी मित्रु हुदैनन् भन्ने मदन भण्डारीको शब्दलाई सापटी लिदा राजमोले एमाले सरकार विघटनमा सहयोग गर्नु अन्यथा होइन तर सहयात्रीलाई बिच बाटोमा छोडेर आफ्नो शक्ति क्षय गर्ने शक्तिलाई विजयी बनाउदा राजमोको भविष्य कस्तो होला ?
तत्कालिन फाइदा वा राजनीतिका लागि एमाले सरकार विघटन राजमोका लागि वाध्यता वा इमान हुन सक्ला तर आगामी दिनका लागि त्यो प्रत्युत्पादक हुने कुरा निश्चित छ । त्यसैले यतिबेला राजमोले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार विघटन गराएर अस्थिरताको सारथी बन्ने मात्रै होइन, भोलीको राजनीतिलाई पनि कमजोर बनाउने भूमिका निर्वाह गर्नु हुदैन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...