अत्यावश्यक सामग्रीको व्यवसाय मात्रै संचालन गर्न आग्रह

पोखरा, वैशाख १६ गते । पोखरा उद्योग वाणिज्य संघले कोभिड–१९ को दोस्रो लहरको गाम्भीर्यता बुझ्न र आफै संयम हुन उद्योगी÷व्यवसायीहरुसँग आग्रह गरेको छ । संघले बिहीबार जारी गरेको विज्ञप्तिमा तोकिएको निर्धारित अवधिको लागि तोकिएका ‘अत्यावश्यक’ सामग्रीहरुको व्यवसाय मात्रै संचालन गर्न अनुरोध पनि गरेको छ ।

‘संकटको यो घडीमा स्वास्थ्य मन्त्रालयले सुझाएका सुरक्षा तथा सरकार एवं स्थानीय प्रशासनले जारी गरेका मापदण्ड कायम गराउनु व्यक्ति र समाजको लागि हितकर भएकोमा कुनै द्धिविधा छैन’,संघका महासचिव सुरेन्द्रमान विजुक्छेद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘ विषमतामा राज्यको आग्रह अवहेलना गर्दा राज्यबाट घोषित राहतका प्याकेजहरु दावी गर्ने नैतिकता पनि बाँकी रहँदैन । विषमतामा मैले व्यवसाय गर्न किन नपाउने भन्ने प्रश्न गौण बन्न पुग्छ भन्ने हामीले मनन गर्नैपर्छ ।’

संघले व्यवसायीहरुले बिक्री÷बितरण गर्ने सबै सामग्रीहरु सबै कुनै न कुनै बेलाका निम्ति अत्यावश्यक नै हुने भए पनि शुभ र अन्तिम संस्कारमा चाहिने ‘बस्त्र’लाई एउटै खालको आवश्यकता मान्न सकिँदैन भन्नेमा प्रष्ट हुन पनि व्यवसायीहरुसँग आग्रह गरिएको छ ।

 

संघले आफू सुरक्षित बन्न तथा समाजलाई सुरक्षित राख्नको लागि उद्योगी÷व्यवसायीहरुलाई पटक–पटक अनुरोध गरिएको स्मरण गर्दै विषमतामा पनि अत्यावश्यक सामग्रीहरुको आपूर्ति प्रणालीलाई सहज राख्नु र अभाव सिर्जना हुन नदिन पनि आग्रह गरेको छ ।

 

उद्योगी÷व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले समेत यो समय नागरिकहरु आफै संवेदनशील र जिम्मेवार बन्न आग्रह गरेको उल्लेख गर्दै संघले राज्यको आग्रह अवहेलना गर्दा राज्यबाट घोषित राहतका प्याकेजहरु दावी गर्ने नैतिकता पनि बाँकी नरहने स्मरण गराएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...