लुम्बिनीका मुख्यमन्त्री पोखरेल विरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

बुटवल,बैशाख २६ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ ।


नेकपा (माओवादी केन्द्र), नेपाल कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सहितको गठबन्धनले आईतबार अविश्वासको प्रस्ताव दर्ता गरेका हुन । यस्तो प्रस्तावमा ४० जनाले हस्ताक्षर गरेको बिपक्षी गठबन्धनले जनाएको छ ।

प्रस्तावमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका २ र राजमोका एक प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । जसमा नया“ मुख्यमन्त्रीका रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेश सभा नियमावली २०७४ को नियम १४४ को उपनियम १ बमोजिम प्रस्ताव दर्ता गरिएका उनीहरुले जनाएका छन् ।

प्रस्तावमा प्रदेशसभाको विशेष अधिवेशन मागका लागि समावेदन समेत गरिएको छ ।यसअघि बैशाख ६ मा पनि गठबन्दनका ४१ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरी प्रदेशसभामा अविश्वास प्रस्ताव सहित विशेष अधिवेशनका लागि समावेदन गरेका थिए ।

 

त्यसअनुसार प्रदेश प्रमुख धर्मनाथ यादवले बैशाख १९ मा विशेष अधिवेशन बोलाउनु भएको थियो । विशेष अधिवेशनको कार्यसूची आइसकेपछि त्यसैदिन मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजिनामा दिएपछि विशेष अधिवेशन अन्त्य भएको थियो ।

विशेष अधिवेशन अन्त्य भएलगत्तै मुख्यमन्त्री पोखरेल उसैदिन पुनः मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।२ प्रदेश सभा सदस्यको राजीनामा र एक जनाले पार्टी परिवर्तनपछि हाल एमाले ३८ सभासद छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...