एसईई सञ्चालनको टुङ्गो लागेपछि मात्र नयाँ शैक्षिक सत्रबारे निर्णय

काठमाडौँ, जेठ ११ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको टुङ्गो लागेपछि मात्र नयाँ शैक्षिक सत्रबारे निर्णय हुने भएको छ । एसईईले समग्र शैक्षिक कार्यक्रम नै प्रभावित पार्ने भएकाले नयाँ शैक्षिक सत्रबारे निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केही समय पर्खने भएको हो ।


मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले नयाँ शैक्षिक सत्र असारदेखि प्रारम्भ गर्ने निर्णय सरकारले गरे पनि कोरोना महामारीका कारण अवस्था फेरिन सक्ने बताउनुभयो । सङ्क्रमण कसरी जान्छ भन्ने आधारमा नै धेरै कुराको टुङ्गो लाग्ने उहाँको भनाइ छ ।

 

एसईईबारे अध्ययन जारी
एसईई परीक्षा सञ्चालन सम्बन्धमा अध्ययन गर्न राष्ट्रिय परीक्षा बोर्डबाट गठित कार्यदल अध्ययन र सुझाव सङ्कलन गर्ने क्रममै रहेको जनाइएको छ । मन्त्रालयका प्रवक्ता शर्माले अध्ययन कार्यदलले प्रतिवेदन बोर्डमा पेस गर्ने र बोर्डको सिफारिस प्राप्त भएपछि यस विषयमा निर्णय हुने जानकारी दिनुभयो ।

यसअघि सरकारले जेठ १३ देखि एसईई सञ्चालन गर्ने निर्णय गरेको थियो तर कोभिड सङ्क्रमण बढेपछि अर्को सूचना नभएसम्म परीक्षा रोकिएको छ । कक्षा १२ को परीक्षा पनि हाल रोकिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...