कास्की काँग्रेसले वीपी विपत् कोष निर्माण गर्ने

पोखरा । कोरोना महामारीसँगै आगामी दिनमा हुन सक्ने प्राकृतिक विपत्का बेला जनताको साथमा रहने प्रतिवद्वतासहित कास्की काँग्रेसले वीपी विपत् कोष निर्माण गर्ने भएको छ ।विभिन्न आठ चरणमा गरिएको छलफलपछि प्राप्त सुझावका आधारमा कोष निर्माण गर्न लागिएको हो ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा मङ्गलबार बसेको बैंठकले कोष निर्माण गर्ने निर्णय गरेको प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।पार्टीका सबै क्रियाशील र शुभेच्छुकसँगबाट स्वेच्छिक आर्थिक सहयोग संकलन गरी कोष निर्माण गरिने छ ।

 

कोष निर्माणको अभियानमा पार्टीका नेता तथा कार्यकर्ता, क्रियाशील सदस्य, शुभेच्छुक, समर्थक गरी २५ हजार बढी परिचालित हुने छन् । कास्की काँग्रेसका सभापति केसीले क्षेत्र, प्रदेश, गाउँपालिका, वडा कार्यसमिति, भातृ तथा शुभेच्छुक संस्था र विदेशमा रहनु भएका सबैलाई कोष निर्माणका लागि जुट्न आव्हान गर्नुभएको छ ।

कोषको सञ्चालन र व्यवस्थापनका लागि एउटा छुट्टै समिति बनाउने निर्णय भएको छ ।

विपत्का बेला कसरी जनतासँग जोडिने भन्ने विषयमा नेपाली काँग्रेस कास्कीले कास्कीका ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्र, शुभेच्छुक तथा भातृसंस्था संस्था र उद्योग व्यवसायीसँग छलफल गरेको थियो ।

अहिलेको कोरोना महामारी र वर्षा मौसमयामसँगै हुन सक्ने बाढीपहिरो जस्ता घटनामा धनजनको क्षति हुँदा जनतालाई सहयोग गर्ने उद्देश्यले कोष निर्माण गर्न लागिएको प्रवक्ता सिग्देलको भनाइ छ ।

बैंठकले कोरोना संक्रमणपछि मृत्यु भएका अति विपन्न परिवारलाई क्रिया खर्चका लागि सहयोग गर्ने, औषधीको अभावमा रहेका दीर्घरोगीलाई औषधी सहयोग गर्ने र भदौ २४ गते वीपी जयन्तीको दिन अति विपन्न, दलित र अपाङ्गता भएका एक हजार जनालाई सहयोग गर्ने निर्णय गरेको छ ।

त्यस्तै, सरकारले गरेका अलोकतान्त्रिक, असंवैधानिक, अप्रजातान्त्रिक गतिविधि, अनियमिता, ढिलासुस्ती, कोरोना महामारीका बेला स्वास्थ्य सामग्रीमा भएको भ्रष्टाचार र सरकारको गैह्जिम्मेवारी बारे जनतालाई जानकारी दिन भदौ २४ देखि असोज महिना भित्र घरघरमा पर्चा पठाउने निर्णय गरेको छ ।

बैंठकले साउन ६ गते वीपी स्मृति दिवसको दिन गरिने वृक्षरोपण कार्यक्रमलाई परिष्कृत बनाउने निर्णय गरेको छ। त्यस दिन काँग्रेसका नेता तथा कार्यकर्ता, क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई आआफ्नै घरमा वर, पिपल, समी, निमपत्ताका बिरुवा रोप्न र रोपेपछि आफ्नै सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्न अनुरोध गरिएको छ ।

बैठकले पोखरा ३२ मजुवामा अव्यवस्थित रुपमा कोरोना संक्रमितको दाहसंस्कार गरिँदा दुर्गन्ध फैलिएको गुनासो स्थानीयले गरेकाले तत्काल अनुगमन गरी व्यवस्थित बनाउन माग गरेको छ ।

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजनको अभावमा सुत्केरीसहित ६ जना बिरामीको मृत्यु भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै यस्ता घटना नदोहो¥याउन चेतावनी दिएको छ ।

बैठकले कास्की काँग्रेसले सञ्चालन गरेको एम्बुलेन्सका लागि दुई वटा गाडी उपलब्ध गराएर सहयोग गर्ने नेपाली काँग्रेस महिला विभाग सदस्य मिलन थापा र युवा व्यवसायी ध्रुव थापाप्रति धन्यवाद ज्ञापन गरेको छ ।

बैंठकले काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य रामजी कँुवर काठमाण्डौंको शिक्षण अस्पताल उपचारार्थ भर्ना हुनु भएकोमा उहाँसहित सम्पूर्णको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...