कोरोना विरुद्ध समुदायस्तरमा जनचेतना जगाउदै कास्की जिल्ला खेलकुद विकास समिति

पोखरा, जेठ २५ गते । कास्कीका जिल्ला खेलकुद विकास समितिले कोरोना भाइरस संक्रमण विरुद्ध जनचेतनामुलक कार्यक्रम आयोजना गर्ने भएको छ । कोरोना भाइरसको दोश्रो लहर तिव्र रुपमा फैलिएपछि खेलकुद लगायतका गतिविधि ठप्प भएपछि खेलकुद पनि स्वास्थ्य क्षेत्रसंग सम्वन्धित रहेकाले कोरोना नियन्त्रणका लागि आफनो उपस्थितिलाई प्रभावकारी बनाउन समितिले कार्यक्रम आयोजना गर्न लागेको अध्यक्ष तोरण बानियाँले जानकारी दिनुभयो । खेलकुदको माध्यमबाट अनुशासित र स्वस्थ नागरिक उत्पादन गर्ने उद्देश्य रहेकाले यो कोरोना महामारीमा हाम्रो भुमिका पनि आवश्यक ठानेर स्वास्थ्य सामाग्री वितरण, जनचेतना जगाउने कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको हो ।

समितिले जेठ ३० बाट असार १ गते सम्म तिन दिने अभियान अन्तर्गत चार वटा फरक–फरक कार्यक्रमका साथ अघि बढ्ने बताए ।जिल्ला खेलकुदले जेठ ३० र ३१ गते महामारी विरुद्धको अभियानमा समुदायमा जनचेतना जगाउने कार्यक्रम गर्ने भएको छ । जिल्लाभित्र रहेका पालिका र पोखरा महानगरका वडाहरु र समुदायस्तरमा पुगेर कोरोना रोकथामका विषयमा सचेत र सजग गराउने भएको छ । समितिले पर्चा पम्पलेट सहित जनचेतना अभियानमा निस्कने अध्यक्ष बानियाँले बताउनुभयो ।

त्यसै गरी जेठ ३० गते विहान खेलाडी तथा युवाहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्ने कार्यक्रम तय गरेको छ भने जेठ ३१ गते विश्व रक्तदाता दिवस पारेर पोखरा रंगशालामा रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय भएको अध्यक्ष वानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार असार १ गते पोखरा रंगशालामा वृहद् वृक्षारोपण गरिने भएको छ । पोखरा रंगशालाबाट पश्चिम तर्फ बग्ने सेतीनदीबाट रंगशालालाई भुक्षयबाट रोक्न फलफुल सहित विभिन्न प्रजातीका विरुवा रोपण गरिने बताउनुभयो ।

‘स्वस्थ्य खाना, तन्दुरुस्त शरिर’ नाराका साथ आयोजना हुने कार्यक्रम राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकीको सहयोगमा आयोजना गर्न लागिएको अध्यक्ष बानियाँले जानकारी दिनुभयो ।कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न रक्तदान कार्यक्रमको संयोजकमा उपाध्यक्ष महेन्द्र गुरुङ, स्वास्थ्य सचेतना कार्यक्रमको संयोजकमा सचिव भिम पराजुली, स्वास्थ्य सामाग्री वितरण कार्यक्रमको संयोजकमा कोषाध्यक्ष कञ्चन थापा र वृक्षारोपण कायक्रमको संयोजकमा कार्यसमिती सदस्य केशव बहादुर थापालाई संयोजकको जिम्मेवारी दिइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...