खानेतेलको मूल्य प्रतिलिटर १२० रुपियाँ बढ्यो, १५५ को तेल २७५ पुग्यो

काठमाडौँ, असार ५ गते । एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपियाँसम्म महँगिएको छ । यस अवधिमा सबैभन्दा बढी सूर्यमुखी तेल (सनफ्लो) र भटमासको तेल (सोयाबिन तेल) महँगिएको छ । कच्चा तेलका लागि विदेशकै भर पर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च दरले मूल्य वृद्धि भएकाले तेलको मूल्य बढेको बताइएको


नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गत वर्ष वैशाख महिनामा सोयाबिनको तेल प्रतिलिटर १६० रहेकामा अहिले २७० र सनफ्लो तेल १५५ बाट २७५ रुपियाँ पुगेको छ । सनफ्लावर धारा हेल्थ प्रतिलिटर १९० बाट २७० र तोरीको तेल २५० बाट ३२० रुपियाँ पुगेको छ ।घिउ–तेल उत्पादक उद्योगीहरू तेलको मूल्य नेपालभन्दा विश्व बजारमा अझै बढी दरले बढेको दाबी गर्छन् । वनस्पति घिउ–तेल उत्पादन सङ्घका अध्यक्ष सन्दीपकुमार अग्रवालले तेलको मूल्य बढ्नुको मुख्य कारण तेल उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थको उच्च वृद्धि नै भएको बताउनुभयो । उहाँले अन्य कारणले पनि मूल्य बढेको र त्यसमा प्याकिङमा प्रयोग हुने सामान, खानेतेलमा बढेको भन्सार महसुल, मूल्य अभिवृद्धि कर र पेट्रोलियम पदार्थको मूल्य वृद्धिलगायत रहेको बताउनुभयो ।

सङ्घका अनुसार सङ्घमा हाल २० वटा तेल उत्पादक उद्योग आबद्ध छन् । ती उद्योगमा चाहिने कच्चा पदार्थ ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेनलगायत मुलुकबाट आयात हुन्छ । कच्चा पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारले निर्धारण गर्ने हुँदा यहाँ पनि असर परेको सङ्घको दाबी छ ।सङ्घका अनुसार एक वर्षअघि अर्जेन्टिनाबाट प्रतिटन ६१६ डलरमा खरिद गरिएको कच्चा भटमास बढेर एक हजार २७९ डलर र युक्रेनमा ६५६ डलरमा खरिद गरिएको कच्चा भटमासको तेल बढेर एक हजार ५८० डलर पुगेको छ ।

सङ्घले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उपलब्ध गराएको विवरणअनुसार ८ अप्रिल २०२१ मा कच्चा भटमासको तेल प्रतिटन एक हजार १९० बाट बढेर अप्रिल २२ सम्म आइपुग्दा एक हजार २७९ डलर पुगेको छ । हल्दियासम्म आइपुग्दा भाडा शुल्कसहित एक हजार ३५० डलर पुगेको छ । कच्चा सूर्यमुखी तेलको मूल्य पनि अप्रिल ८ मा एक हजार ३० डलर थियो, अप्रिल २२ सम्म आइपुग्दा एक हजार ५८० डलर, भाडा शुल्कसहित हल्दियासम्म पुग्दा एक हजार ६६० डलर पुगेको सङ्घले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...