रुपा गाउँपालिकाको बजेट ४७ करोड ६८ लाख, ५२ ठाँउमा फ्रि वाइफाई जोन

पोखरा, असार १० गते ।कास्कीको रुपा गाँउपालिकाले आर्थिक वर्ष २०७८ र ७९ का लागि ४७ करोड ६८ लाखको बजेट ल्याएको छ । संघ सरकारको वित्तीय समानीकरण ८ करोड ३१ लाख, राजस्व बाँडफाँट ५ करोड ६७ लाख, सशर्त अनुदान २१ करोड २० लाख, विशेष अनुदान ८३ लाख अनुमान गरिएको छ । प्रदेशबाट समानीकरण शीर्षकमा ८९ लाख २३ हजार, राजश्व बाँडफाँट ३६ लाख ३ हजार, समपूरक अनुदान १ करोड, जिल्ला समन्वय समिति कास्की २ करोड ५० लाखलाई आम्दानीमा बाँधिएको छ । आन्तरिक स्रोतबाट ३ करोड ६० लाख उठ्ने अनुमान छ । खासगरी ढुंगा, गिट्टी, बालुवा निकासी यहाँको प्रमुख आम्दानीको स्रोत हो ।


  • रुपा गाउँपालिकाले आउँदो वर्ष पालिकाका ५२ ठाउँमा निशुल्क वाइफाई जोन बनाउने निर्णय समेत गरेको छ । नागरिकलाई सूचनाको पहुँचभित्र ल्याउन फ्रि वाइफाई जोन अवधारणा सुरु गरेको हो । यसका लागि १० लाख बजेट विनियोजन गरिएको गाँउपालिका अध्यक्ष नवराज ओझाले बताउनुभयो । बजेटमा कोरोना नियन्त्रण र भौतिक पूर्वाधारलाई जोड दिइएको छ । कृषिलाई आम्दानीसँग जोडेर युवाको आकर्षण बढाउने कार्यक्रम सार्वजनिक गरिएको छ । हातमा सीप, सबै ठाउँमा ठिक नाराका साथ युवालाई तालिम र आर्थिक सहयोग गर्ने कार्यक्रम छ । ‘एक घर एक उत्पादन’ अभियानअन्तर्गत प्रत्येक घरमा टनेल वितरण गर्ने योजना अघि सारिएको छ । यसका लागि मात्रै ८३ बजेट विनियोजन गरिएको छ । यो वर्ष एनएलएसआइपी कार्यक्रम मार्फत पालिकाका ३ सय युवाले २० करोडको सम्झौता गरेर पशुपालन थालेका छन् । यसलाई थप बिस्तार गर्ने योजना छ । कृषि महाशाखाबाट कार्यक्रम सञ्चालन गर्ने गरी ४४ लाख ५० हजार विनियोजन गरिएको छ ।

रुपाभित्र वन क्षेत्र बढी भएकोले वनमा आधारित उद्यम कार्यक्रमलाई प्राथमिकता दिइएको छ । रुपाले आउँदो वर्ष सबै घरमा धारा जोडिसक्ने लक्ष्य लिएको छ । ‘९५ प्रतिशत घरमा धारा पुगिसक्यो । आउँदो वर्ष सबै घरमा जोडिन्छ,’ अध्यक्ष ओझाले भन्नुभयो, ‘यसका लागि संघ र प्रदेश सरकारसँग समन्वय गर्छौं ।’ खानेपानी योजनाका लागि १ करोड ५० लाख छुट्याइएको छ । यहाँ ठूला लिफ्टिङ खानेपानी आयोजना धमाधम बनिरहेका छन । प्रदेश सरकारले पनि ‘एक घर एक धार’ लाई विशेष प्राथमिकताका साथ सञ्चालन गरेको छ ।

रुपामा आउँदो वर्ष प्रत्येक घरमा टनेल वितरण गर्ने गरी बजेट छुट्टाइएको छ पालिकाभित्र रहेका सबै जातजाति र भाषा, धर्मको संस्कारलाई जगेर्ना गर्न हंसपुरमा सांस्कृतिक संग्रहालय स्थापना गर्ने कार्यक्रम छ । सबै सामुदायिक विद्यालयमा खाजा कार्यक्रमलाई जोड दिइएको छ । यसका लागि मात्रै ४२ लाख ५८ हजार बजेट छ । नमुना स्कुल र ल्याब चलाउन १ करोड छुट्याइएको छ । शिक्षाबाट थप कार्यक्रम गर्न ५० लाख विनियोजन भएको गाउँपालिका उपाध्यक्ष लालसुबा गुरुङले जानकारी दिइन ।

कोभिडबाट नागरिकको सुरक्षा गर्न बढी ध्यान दिइएको छ । अस्पताल, स्वास्थ्य चौकी निर्माणमा १ करोड ९५ लाख विनियोजन भएको छ भने स्वास्थ्य शाखाबाट २७ लाख ७५ हजार खर्च हुँदै छ । सडक अझै पनि रुपाको प्राथमिकतामा छ । एउटै सडकमा ४ करोडभन्दा बढी लगानी गरिएको छ । आउँदो वर्ष रामकोट–रामदी सडकका लागि २ करोड ८२ लाख विनियोजन गरिएको छ । सोही सडकको देउराली मज्र्याङकोट खण्डका लागि १ करोड ५० लाख छुट्टै विनियोजन भएको छ । अन्य सडकका लागि २ करोड ९० लाख छुट्याइएको छ ।

रुपाले वडा तहलाई बढी शक्तिशाली बनाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत १ करोड ४९ लाख, वडा कार्यालयबाट कार्यान्वयन गर्न ४० लाख, कानुन निर्माण गर्न ५ लाख छ । पालिकाले कर्मचारीको तलबमा थप २ हजार थपिदिने निर्णय गरेको छ । जनप्रतिनिधिको सुविधाका लागि १ करोड छुट्याइएको छ भने अन्य सुविधाका लागि थप २ लाख, पोशाकका लागि ३ लाख ५० हजार, कर्मचारीलाई महँगी भत्ताका लागि ८ लाख, फिल्ड भत्ता १० लाख, बैठक भत्ता १२ लाख, कर्मचारीको प्रोत्साहन स्वरुप पुरस्कार दिन २ लाख विनियोजन भएको छ । माथिल्ला सरकारले जस्तै कर्मचारीको पर्यटन काजलाई रुपाले पनि पछ्याएको छ । कर्मचारी पर्यटन काज शीर्षकमा खर्च गर्न ११ लाख बजेट छ । यसबाट कर्मचारी घुमेको पैसा बिल आधारमा पालिकाले व्यहोर्छ । गाउँपालिकामा आउने भिआइपीको खर्चका लागि छुट्टै ५ लाख ५० हजार छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...