प्रदेशवासीलाई खोप सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री पोखरेल

पोखरा, असार १० गते ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीलाई कोरोनविरुद्धको खोप दिलाउन प्रदेश सरकार प्रद्धिबद्ध रहेको बताउनु भएको छ ।

पोखरा महानगरपालिकाको नवौं नगरसभामा बिहीबार उहाँले नागरिकको जीवन जोगाउन र उनीहरुको स्वास्थ्य रक्षाका लागि बजेटको अभाव नहुने भनाई राख्नुभयो । संघ सरकारले अनुदानका रुपमा पाउने र खरिद गर्ने वाहेक पनि निजी क्षेत्रबाट खोप खरिद गर्न सकिने प्रावधानका बारेमा समेत आफूहरुले अध्ययन गरिरहेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।

संघीयताको आधारस्तम्भ स्थानीय तहलाई थप मजबुत र अधिकार सम्पन्न गराउन संघ र प्रदेश सरकार लाग्नुपर्ने उहाँले बताउनुभयो । उहाँले लोकतन्त्रको आधार स्तम्भ स्थानीय तहको संस्थागत विकासका माध्यमबाट लोकतन्त्रलाई सुदृढ बनाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधानमा उल्लेखित साझा अधिकारका सूची कार्यान्वयनमा साझा दृष्टिकोण भने बनाउनु पर्नेछ । उहाँले विकास निर्माणका कार्य र राजश्वको योगदानमा समेत स्थानीय तह र प्रदेश सरकारबीच थप साझेदारी र सहकार्य हुनु पर्ने बताउनुभयो ।

कार्यक्रमको सुरुमा मुख्यमन्त्री पोखरेलले महानगरले प्रकाशन गरेको कानुनहरुको संगालो विमोचन गर्नुभयो । कोरोना नियन्त्रण र प्राकृतिक प्रकोप पीडितको व्यवस्थापनमा प्रदेशले बनाएका योजनामा महानगरबाट सहयोगको अपेक्षा गरेको भनाइ उहाँले राख्नुभयो । यसैगरी गण्डकी प्रदेशको लाइफलाइन कोरोला, पोखरा, त्रिवेणी सडकको निर्माणमा समेत सहकार्य गर्न सकिने उहाँको भनाइ थियो ।

लोककल्याणकारी राज्यको अवधारणा अनुसार विकासले नागरिकको समृन्नती र गरिबी न्यूनिकरण गर्नुपर्छ भन्ने मान्यता सरकारले बोकेको भन्दै उहाँले सुशासन स्थापनालाई पनि प्राथमिकतामा राखेर अगाडि बढेको बताउनुभयो । पारदर्शिता र उत्तरदायित्व सहितको नागरिक शासन भएमा मात्र कुनै पनि शासन व्यवस्था सुदृढ हुने भएकाले राजनीतिक नेतृत्वले यसलाई मनन् गर्नुपर्नेमा उनले जोड दिनुभयो । पछाडि परेको वर्ग, क्षेत्रको उत्थानका लागि पनि दुवै तहका सरकारबीच सहकार्य जरुरी रहेको उहाँको भनाइ थियो ।

प्रदेश र स्थानीय तहमा अझै पनि जनशक्ति व्यवस्थापन ठूलो चुनौती रहेको भन्दै यसका लागि संघ सरकारले छिटो निजामती सेवा ऐन ल्याउनु पर्नेमा उनले जोड दिनुभयो । उहाँले भन्नुभयो,‘ यी समग्र आधारहरुमा टेकेर विकास र सुशासनलाई सहकार्य र समन्वय गर्दै अगाडि बढ्नु पर्दछ भन्ने हाम्रो मान्यता छ ।’

मुख्यमन्त्री पोखरेलले प्रदेश समृद्धिको मुख्य आधार पर्यटन नै भएकाले पोखरालाई पर्यटकीय नगर घोषणा गरेर त्यसै अनुसारको पूर्वाधार तयार सरकार प्रतिबद्ध रहेको जनाउनुभयो । क्षेत्रफलका हिसावमा मुलुककै ठूलो महानगर पोखराले ‘समुन्नत पर्यटकीय पोखरा’ लाई दुरदृष्टि मानेको छ । पर्यटकीय, शैक्षिक र हरेक हिसावले अग्रपथमा लम्केको पोखरालाई अझै समुन्नत बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ थियो । गण्डकी प्रदेशको राजधानी पोखराबाट विश्वका ८ हजार मिटरभन्दा अग्ला ३ वटा हिमालहरु (धवलागिरी, मनास्लु र अन्नपूर्ण प्रथम) एकै स्थानबाट हेर्न सकिन्छ । उहाँले भन्नुभयो, ‘सुन्दर र अनौठो माछापुच्छ«े पोखराको गौरव हो, ताल र गुफाले परिचित पोखरालाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले थप आकर्षक बनाएको छ ।’

फेवा तालको सिल्टेसन ड्याम निर्माणमा पोखरा महानगरसँग प्रदेश सरकारले साझेदारी गरेको, लामे आहालमा प्रदेशस्तरीय बसपार्क स्थापनाको लागि आगामी आ.व.मा प्राथमिकतामा परेको उहाँले जानकारी गराउनुभयो ।

महानगरको २२ किलोमिटर सडक अमेरिकी प्रविधिबाट बनेका अस्फाल्ट पिचमा पनि प्रदेशले सहकार्य गरेको उहाँले बताउनुभयो । अन्य विभिन्न पूर्वाधार निर्माणमा साझेदारी र सहकार्य हुँदै आएको र आगामी दिन अझै बढाएर जाने उहाँको भनाइ थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...