पाँचौ पोखरा स्पोर्टस् अवार्ड : क्रिकेट मैदानमा जमिरहेका विपिन

क्रिकेट मैदानमा जमिरहेका उदीयमान खेलाडीको नाम हो, विपिन खत्री । लेफ्ट आर्म स्पीनर तथा राइट ह्याण्ड ब्याट्सम्यान पोखरेली विपिन १० वर्षदेखि क्रिकेट खेलिरहेका छन् ।

विगतमा यु–१९ विश्वकप क्रिकेट टोलीको बन्दसत्रमा समेत छनोट पछि उनले पछाडि फर्केर हेर्नु परेन । २३ वर्षीय खत्रीलाई अहिले गण्डकी प्रदेशको पुरुष सिनियर टोलीको कप्तानीको जिम्मेवारी समेत छ ।

३ वर्षअघि धनगढीमा सम्पन्न मुख्यमन्त्री क्रिकेट कपमा उनी उत्कृष्ट बलर घोषित हुँदा सन् २०१६ मा काठमाडौंमा सम्पन्न प्रथम प्रधानमन्त्रीकप क्रिकेट प्रतियोगितामा उदियमान खेलाडीको उपाधि पनि उनकै पोल्टामा परेको थियो ।

बढी जसो पोखरा रंगशाला भेटिने उनी प्रधानमन्त्री कपको चारै वटा संस्करण खेलिसकेका छन् भने इपिएल, डिपीएल र पिपिएलमा २÷२ पटक सहभागिता जनाएका छन् । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएको उनको टिम धनगढीमा भएको मुख्यमन्त्री क्रिकेट कपमा उपविजेता बनेको थियो ।

हालसम्म विपिन कास्की जिल्ला एवं गण्डकी प्रदेशसहित पोखरा राइनोज, धनगढी स्टार, बुटवल ब्लास्टर, रुपन्देही च्यालेन्जर्स, काठमाडौं मेयर ११ टिमबाट पिच उत्रिसकेका छन् ।

हालपोखरा महानगरपालिका वडा १४, चाउथे निवासी विपीनलाई क्रिकेटको मोह स्कुले जीवनकालमै बसेको बताउँछन् । ‘सानैदेखि क्रिकेटप्रति रुचि लाग्यो, खेल्दै जाँदा यहाँसम्म आइपुगियो । हेरौ कतिसम्म अघि बढ्न सकिन्छ,’ उनले भने । अहिले पाँचौ पोखरा स्पोर्टस् अवार्ड अन्तर्गत उदीयमान खेलाडी विधाको उत्कृष्ट ३ मा पर्न सफल हुँदा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिए । बुवा तुलबहादुर र आमा सीता खत्रीको २ सन्तानमा उनी जेठा हुन् । उनले पोखरा पब्लिक स्कुलबाट एसएलसी उत्तीर्णसँगै कालिका उच्च माविबाट व्यवस्थापन संकायमा प्लस टु सकाएका छन् ।

 

उदीयमान खेलाडी विधामा उनी सहित पौडीकी दुवाना लामा र लनटेनिसका प्रदीप खड्का पनि मनोनयनमा परेका छन् । तीमध्ये उत्कृष्ट एक जनाले असार १८ मा हुने स्पोर्टस् अवार्डमा ३५ हजारसहित अवार्ड जित्ने छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...