इंग्ल्याण्ड यूरो कप फुटबलको फाइनलमा

काठमाडौं, असार २४ गते । इंग्ल्याण्ड गएको ५५ वर्षमा पहिलो पटक कुनै प्रमुख प्रतियोगिताको फाइनलसम्मको यात्रा तय गरेको छ । सन् १९६६ को विश्वकप फुटबलको फाइनलमा पश्चिमी जर्मनीलाई हराए यता इंग्ल्याण्ड कुनै पनि प्रमुख फुटबल प्रतियोगिताको फाइनलसम्मको यात्रा गर्न सकेको थिएन ।गए राति अबेर सम्पन्न यूरो कप फुटबलको दोस्रो सेमीफाइनलमा डेनमार्कलाई हराएर इंग्ल्याण्ड फाइनलमा पुगेको हो । उपाधिका लागि इंग्ल्याण्डले प्रतियोगिताका दाबेदार इटालीको सामना गर्नेछ । डेनमार्क बिरुद्ध १–० ले पछाडि परेको इंग्ल्याण्डले पुनरागमन गोल गर्दै अतिरिक्त समयमा गरेको दोस्रो गोल मार्फत् जित हात पार्न सफल भयो ।


पहिलो हाफमा ३० मिनेटपछि मिक्केल डेम्सगार्डले फ्री किकलाई गोलमा परिणत गर्दा पाहुना टोलि डेनमार्कले १–० को अग्रता लिन सफल भयो । इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफर्डले ७२१ मिनेटपछि पहिलो गोल खानुभयो ।वेम्ब्लीमा ६० हजार दर्शकको उपस्थित रहेपनि अधिकांश घरेलु टोलिको समर्थनमा रहेका थिए । तर हाफ टाइम सकिन मात्र छ मिनेट बाँकी छँदा डेनमार्कका कप्तान सिमोन जैरले बुकायो साकाको क्रसलाई आफ्नै गोलपोष्टमा छिराएपछि इंग्ल्याण्डले खेलमा १–१ को बराबरी गर्यो ।

 


डेनमार्कका गोलकिपर कास्पर सेमैचेलले हयारी मग्वेर र हयारी केनको गोलको प्रयासलाई विफल तुल्याएपछि खेल अतिरिक्त समयमा गएको थियो । १०३ औं मिनेटमा रहीम स्टर्लिङलाई जोकिम महेलले लडाएपछि इंग्ल्याण्डले पेनाल्टीको अबसर पायो । उक्त अबसरलाई हयारी केनले गोलमा परिणत गर्दै इंग्ल्याण्डलाई २–१ को अग्रता मात्रै दिलाउनुभएन बरु यूरो कप फुटबल २०२० को फाइनलमा पुर्याउँदै इंग्ल्याण्डको ५५ वर्षको प्रतिक्षा समेत समाप्त पार्नुभयो । केनले गर्नुभएको प्रहार सेमैचेलले विफल तुल्याएपनि ‘रिबाउन्ड’ भएको बल केनकै अगाडि आएपछि दोस्रो प्रहारलाई उहाँले गोलमा परिणत गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...