अर्जेन्टिनाले जित्यो कोपा अमेरिका उपाधि

काठमाडौं, असार २७ गते । अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । लियोनल मेस्सीले आफ्नो फुटबल जिवनको पहिलो प्रमुख प्रतियोगिताको उपाधि जित्ने लक्ष्य पुरा गर्दा अर्जेन्टिनाले २८ वर्षमा पहिलो पटक प्रमुख अन्तर्राष्ट्रिय उपाधि हात पारेको हो । ब्राजिलले भने पहिलो पटक घरेलु मैदानमा कोपा अमेरिकाको उपाधि हात पार्नबाट चुक्यो ।


३४ वर्षीय मेस्सीलाई टोलिका सदस्यहरुले खेल मैदानमा उचाल्दै खुशी आदान प्रदान गरे । मेस्सीले दशौं प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक अर्जेन्टिनालाई जित दिलाउन सफल हुनुभयो । प्रतियोगितामा चार गोल गर्नुभएका मेस्सी ‘प्लेयर अफ द् टुर्नामेन्ट’ घोषित हुनुभयो ।रोड्रिगो डे पौलको पासलाई एञ्जेल डी मारियाले गोलको दिशा दिदा अर्जेन्टिनाले २२ औं मिनेटमा १–० को अग्रता लियो । मारियाको उक्त गोल नै अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाउन पर्याप्त भयो । मेस्सीले अन्तिम समयमा गोल गर्ने अबसर पाउनुभएको थियो । तर सफल हुनुभएन ।

रिचार्लिसन र गेब्रेल बारबोसाको प्रयास एमी मार्टिनेजले विफल तुल्याएपछि ब्राजिलले गोल गर्ने अबसरलाई सदुपयोग गर्न सकेन । बार्सिलोनामा मेस्सीका सहखेलाडी ब्राजिली नेयमार भने रेफ्रीको अन्तिम सिटी बज्दा घुँडा टेकेर रोएको दृश्यले प्रशंसकलाई भावुक बनायो । ब्राजिलले सन् २०१९ को कोपा अमेरिका जित्दा नेयमार घाइते भएर टोलि बाहिर हुनुहुन्थ्यो ।

सन् २०१३ देखि २०१७ सम्म बार्सिलोनामा मेस्सीसँग क्लब फुटबल खेल्नुभएका नेयमारले ट्रफी उचाल्ने समारोह अघि मेस्सीलाई अँगालो हाल्न पुग्नुभएको थियो । नेयमार हाल पेरिस सैन्ट जर्माइनमा आबद्ध भई क्लब फुटबल खेल्दै आउनुभएको छ ।सन् २००६ मा पहिलो पटक विश्वकप फुटबलमा सहभागी हुनुभएका मेस्सी सम्मिलित अर्जेन्टिना टोलि सन् २०१८ सम्म आइपुग्दा दुई पटक क्वार्टरफाइन, एक पटक उपविजेता र एक पटक अन्तिम १६ सम्मको यात्रा गरेको छ ।दश पटक स्पेनिस ला लिगा, चार पटक च्याम्पियन्स लिग र छ पटक फिफाको बलून डे अरको उपाधि जित्नुभएका मेस्सीले प्रमुख अन्तर्राष्ट्रिय स्पर्धा जित्न नसक्दा उहाँको प्रभाबलाई लिएर आलोचना हुँदै आएको थियो ।

सन् २००७ मा पहिलो पटक कोपा अमेरिका खेल्नुभएका मेस्सी पाँच संस्करणमध्ये अर्जेन्टिनालाई तीन पटक उप विजेता, एक पटक क्वार्टरफाइनल र एक पटक सेमीफाइनलसम्म पुर्याउनुभएको छ । तर पछिल्लो संस्करणमा उपाधि दिलाएर मेस्सीले अर्जेन्टिनाप्रतिको आफ्नो दायित्व पुरा गर्नुभएको छ ।सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप फुटबल जिते यता कुनै प्रमुख उपाधि जित्न सकेको थिएन । कोपा अमेरिका जितेपछि सन् २०२२ को डिसेम्बरमा कतारमा हुने विश्वकप फुटबलमा मेस्सीको भूमिकाका लिएर प्रशंसकको अपेक्षा समेत बढेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...