विद्यालय उमेरमै बिहे, कलिलैमा आमा

५ साउन, टीकापुर । कैलालीकी १४ वर्षीय सुगन्धाले ९ कक्षामा पढ्दापढ्दै सँगै कक्षामा पढ्ने सोही उमेरका युवकसँग भागी विवाह गरिन् । सुगन्धाले विवाह गरेपछि विद्यालयमै खैलाबैला भयो । विवाहपछि दुवै जनाले पढाइ छाडे ।

विवाहलगत्तै सुगन्धा गर्भवती भएपछि १५ वर्षसमेत नपुगेका कुबेर धन कमाउन भारत लागे । किशोर उमेर नै रहेका कुबेरलाई अब श्रीमती र बच्चाको आर्थिक भार उठाउने जिम्मेवारी थपियो । उमेर नपुग्दै विवाह गर्दा उनीहरुको पढाइ छुट्यो । कलिलै उमेरमा घरायसी काम, पारिवारिक जिम्मेवारी, बच्चाको स्याहार, आर्थिक भार थपियो । भारतमा गएर कुबेरले होटलमा भाँडा माझ्ने काम गरेर घरमा सामान्य खर्च पठाउन थाले । कलिलै उमेरमा आमा बनेकी सुगन्धाले बच्चाको राम्ररी स्याहार गर्न नसक्दा बच्चा कुपोषित बन्यो । हाल बच्चा अस्वस्थ छ । “बच्चालाई नियमित औषधि गरिरहनुपरेको छ । सँगै बसौँला भनी विवाह गरेका हामी आर्थिक समस्याले सँगै बस्न पाएनौँ”, सुगन्धाले भनिन् , “हाल विवाह पछुतो भएको छ । भागेर विवाह गरेकी भनेर माइतीले पनि सहयोग गर्दैनन् । घरमा पनि काम गरिन भनेर झगडा भइरहन्छ, घर न घाटको भइयो ।”

विगतमा उमेर नपुग्दै अभिभावकले गरिदिने मागी विवाह अहिले भागी (प्रेम) विवाहका नाममा बढ्दै गएको छ । विगतमा अभिभावकको मञ्जुरीमा उमेर नपुग्दै गरिने विवाह हाल माया प्रेमका नाममा बालबालिकाले आफैँ गर्न थाल्दा बालविवाह न्यूनीकरणमा चुनौती थपिएको छ ।

यसरी परिपक्व नहुँदै विवाह गरेका किशोरकिशोरीको जीवन कष्टकर बन्न थालेको छ । कैलालीका हरेक विद्यालयमा उमेर नपुग्दै विवाह गरेका किशोरकिशोरी भेटिन्छन् । अझ पढ्दापढ्दै कक्षा ९/१० मा पढ्ने बालबालिका विवाहको बन्धनमा बाँधिएका देख्दा शिक्षकको मन दुख्छ तर मन दुखेर के गर्नु ? शिक्षकले सम्झाउने हो तर रोक्न सकेको अवस्था छैन ।

मोति मावि मोतिनगरका प्रधानाध्यापक दीपककुमार दास आफू विद्यालयमा सरुवा भएर आएको छ महिना पुगेको बताउँछन् । “कक्षा १० मा ७ जना किशोरी विवाहित छन्, कक्षा १० पढ्नेको उमेर १६/१७ भन्दा बढी त हुन्न”, प्रधानाध्यापक दासले भने, “विवाहित किशोरीलाई पढ्ने वातावरण हुँदैन । घरको काम गर्नुपर्दा उनीहरु पढाइमा पछाडि पर्छन् ।”

प्रअ दास समाजले कम उमेरमा हुने विवाहलाई सहजै मान्यता दिँदा समस्या भइरहेको बताउँछन् । “यसरी किशोरी विवाहको जिम्मेवारी बोकेर कसरी पढ्न सक्छन्, पढाइ निरन्तर नुहँदा बीचैमा छोड्छन्, विवाहबाटै उनीहरुको जीवन बर्बाद हुन्छ”, उनी भन्छन्, “एकजना शिक्षिकालाई बालविवाहविरुद्ध जनचेतना जगाउन सम्पर्क व्यक्तिका रूपमा तोकेका छौँ । नियमित विद्यालयमा हुने कार्यक्रममा बालविवाहविरुद्ध भएको व्यवस्थाबारे जानकारी दिन्छौँ, तर रोक्न सकिएको छैन ।”
बालविवाह कानूनीरूपमा अपराध हो । विद्यालयमा पनि बालविवाहविरुद्ध जनचेतना जगाउने विभिन्न कार्यक्रम हुन्छन् तर रोक्न सकिएको छैन । शिक्षकहरुले चेतना जगाउने काम गर्छन् ।

भृकुटी मावि सुवर्णपुरका प्रधानाध्यापक नृपराज भण्डारीका अनुसार हरेक वर्ष पाँच जनासम्म बालबालिका विवाहको बन्धनमा बाँधिन्छन् । “यतिखेर हाम्रो विद्यालयमा भर्ना अभियान चलिरहेको छ । चार जनाजति किशोरी भर्ना हुन आएनन्, किन नआएको भनी बुझ्दा विवाह भइसकेको जानकारी पायौँ”, प्रधानाध्याक भण्डारीले भने, “लकडाउनमा अझ विवाह बढेको छ । पढाइ छैन भन्दै केही किशोरी विवाह गरेर गएका छन् ।”

विद्यालयको पाठ्यक्रममा पनि बालविवाह गर्नु हुँदैन भन्ने उल्लेख छ । गत वर्ष जानकी गाउँपालिकाको बालज्योति माध्यमिक विद्यालयमा अध्यनरत एक बालिकाको विवाहको निम्तो विद्यालयलाई आयो तर विद्यालयले त्यो विवाह बहिष्कार गर्‍यो ।

विद्यालयले बालविवाहविरुद्ध जनचेतना जगाउने काम गरे पनि रोक्न सकेको छैन । प्रधानाध्यापक भोजराज चौधरी विद्यालयमै विवाहको निम्तो आएको तर आफूहरु भोज खान नगएको बताउनुहुन्छ । “हामीले कम उमेरमा हुने विवाहलाई बहिष्कार गर्ने हो । बहिष्कार गर्‍यौं,” प्रधानाध्यापक चौधरीले भने, “हामीले ज्ञान दिएर मात्र हुन्न, समाज, अभिभावक सबैले विवाह नै रोक्ने, कानूनी सजाय दिने काम नगरेसम्म रोक्न सकिँदैन ।”

बालविवाह न्यूनीकरणका लागि स्थानीयस्तरमा विभिन्न सङ्घसंस्था र स्थानीय तहले पनि अभियान चलाइरहेका छन् । स्थानीय सरकारले कानूनी व्यवस्था बुझाउने, कम उमेरमा विवाह गर्दा अधिकार पाउन गाह्रो हुने कुरा जानकारी दिने गरेको छ । यसका साथै विद्यालयस्तरीय, अभिभावक र किशोरीलाई सचेतना फैलाउने कार्य गरिरहेको जानकी गाउँपालिकाका महिला बालबालिका शाखाका प्रमुख यमुना विष्ट बताउँछिन् । “बालविवाह समस्याका रूपमा बढ्दै गएको छ । हामीले बालविवाह न्यूनीकरणका लागि समुदायस्तरमा, विद्यालयमा कार्यक्रम निरन्तर गरिरहेका छौँ”, विष्टले भनिन्, “चालु आर्थिक वर्षमा पनि अभिभावक र किशोरकिशोरीसँगै राखेर गर्ने खालका विभिन्न कार्यक्रम ल्याएका छौँ ।”

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...