पाठ्यपुस्तक पाइए पनि पढाइ भएन

कालीकोटका नौवटै स्थानीय तहका सामुदायिक विद्यालयका सबै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराइसक्दा पनि पढाइ हुन सकेको छैन ।

जिल्लामा कोभिड–१९ को महामारी कारण विद्यालय बन्द भएपछि बैकल्पिक माध्यमलाई प्रयोगमा ल्याउन नसक्दा करीब ७० हजार विद्यार्थीको पढाइ हुन नसकेको हो ।

वैशाखबाटै विद्यालय नखुलेका कारण विद्यालयले पाठ्यपुस्तक वितरण गरे पनि पढाइ कसरी गर्ने भन्नेमा अन्योल रहेको खाँडाचक्र नगरपालिका–१ पञ्चदेवल माविका सहायक प्रधानाध्यापक चन्द्रप्रसाद कोइरालाले बताउनुभयो । “पढाइ कसरी गर्ने भन्नेबारे अहिले पनि अन्योल छ । कोभिड–१९ को जोखिम अझै छ”, उहाँले भन्नुभयो, “विद्यालय नखुल्दा विद्यार्थीको पढाइमा बाधा पुगेको छ ।”

विद्यार्थीको पढाइका लागि वैकल्पिक माध्यम पनि सहज नभएकाले समस्या भएको नरहरिनाथ गाउँपालिका–९स्थित जनप्रभात माविका प्रधानाध्यापक निर्मलकुमार विष्टले जानकारी दिनुभयो । “विद्यार्थीलाई पढाउनका लागि वैकल्पिक माध्यम बनेको न इन्टरनेट छ भने नत विद्यार्थीलाई भौतिक उपस्थितिमा पढाउने अवस्था छ ।”

विद्यालय नखुले पनि विद्यार्थीहरुलाई घरघरमा नै पुगेर पाठ्यपुस्तक वितरण गरिएको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले जानकारी दिनुभयो । “विद्यालय खुल्ने या नखुल्ने अहिले नै भन्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “विद्यार्थीले स्वअध्ययन गरून् भनेर घरघरमा नै पुगेर पाठ्यपुस्तक वितरण गरिएको छ ।”
गाउँमा इन्टरनेट सुविधा नहुँदा अनलाइन कक्षा सञ्चालन गर्न नसकिएको र कोरोना सङ्क्रमण फैलने जोखिमीका कारण विद्यालय खोल्न समस्या भएको पचालझरना गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले बताउनुभयो । “अनलाइन कक्षा सञ्चालनबारे छलफल भए पनि सबै ठाउँमा इन्टरनेट र टेलिफोन छैन”, उहाँले भन्नुभयो, “यो वर्ष पनि विद्यार्थीको पठनपाठनमा अन्योल कायमै छ ।”

जिल्लाका सामुदायिक विद्यालयका शिक्षकले सबै विद्यार्थी र शिक्षकमा कोरोना खोप नलगाएसम्म पठनपाठन हुन नसक्ने जनाएका छन् । पठनपाठनका लागि शिक्षक र विद्यार्थीहरुलाई कोभिड–१९ को खोप पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जिल्ला शिक्षक महासङ्घका सदस्य पदमबहादुर मल्लले जोड दिनुभयो । “विद्यार्थी र शिक्षकलाई खोप नदिए पढाउन सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “कोरोना खोपको पहिलो प्राथमिकतामा शिक्षक र विद्यार्थीलाई राखिनुपर्छ ।”

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...