टोक्यो ओलम्पिक आजबाट सुरु हुँदै

काठमाडौं, साउन ८ गते । टोक्यो ओलम्पिक आजबाट सुरु हुँदैछ । कोरोना महामारीले करिब दुई वर्षको अनिश्चिततापछि टोक्यो ओलम्पिक आजबाट सुरु हुन लागेको हो । ओलम्पिक खेलकुद जुलाई २३ मा औपचारिक रुपमा सुरु भई अगष्ट ८ मा सम्पन्न हुनेछ । नेपाली समयअनुसार अपरान्ह पौने दुई बजेबाट ओलम्पिकको उद्घाटन समारोह सुरु हुनेछ ।


ओलम्पिकमा विश्वका २०७ राष्ट्रका ११ हजार ३०० खेलाडी सहभागी हुँदैछन् । लामो समयसम्मको अभ्यासपछि सबै खेलाडी पदक हात पार्ने उद्देश्य लिएर ओलम्पिकमा सहभागी हुँदैछन् । सन् २०२० को मार्चमा टोक्यो ओलम्पिक स्थगित हुन पुग्दा आयोजकले ‘ओलम्पिकको ज्वालाले सुरुङ्गको अन्त्यमा प्रकाश लिएर आउने’ बताएका थिए । कोभिड १९ को सङ्क्रमण अझै थामिएको छैन् । विश्वमा कतै तेस्रो त कतै कोरोनाभाइरसको प्रकोप चौथो लहरको रुपमा देखा पर्दैछन् । तर शुक्रबार हुन लागेको ओलम्पिकको उद्घाटन समारोह अवश्य नै प्रकाश लिएर आउनेछ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमस बक भन्नुहुन्छ, “खेलाडी रङशालामा प्रवेश गर्दा आनन्द र राहतको क्षण महसुस हुनेछ किनभने खेलाडीले कति धेरै प्रतिक्षा गरेर यो क्षण आएको मलाई राम्ररी अवगत छ । ” “अत्यन्तै विशेष परिस्थितिका बावजूद विश्वभरिका खेलाडी यहाँसम्मका आइपुगेका छन् ।”– उहाँले खेलाडीको ब्यग्रताको अनुभूति प्रकट गर्नुभयो।

मास्क लगाउने, क्वारेन्टिन बस्ने र र्याल परीक्षण गर्नुपर्ने जस्ता प्राबिधिक समस्याको सामना गर्दै खेलाडी टोक्योमा छन् । यस प्रकारको ओलम्पिक विश्वले कहिले अनुभूति गरेको थिएन । आयोजकका लागि खेलाडीको सुरक्षा सबैभन्दा महत्वपूर्ण पाटो हुन गएको छ । ओलम्पिक सुरु हुनुअघिदेखि नै अत्यन्तै साबधानी अपनाइएको छ । खेल दर्शकबिहीन हुँदैछन् । जापानका स्थानीय वा विदेशी कोही रङशाला प्रबेश गर्न पाउने छैन् ।

खेलाडी समेत कडा प्रतिबन्धमा बस्नुपरेको छ । सबै खेलाडीले हरेक समय मास्क अनिवार्य लगाउनुपर्ने मापदण्ड बनाइएको छ । तर खाना र पानी खाँदा, प्रशिक्षणमा रहँदा, स्पर्धा गर्दा वा सुतेको बेला भने मास्क लगाउनुपर्ने छैन् । सबै खेलाडीले अनिवार्य भौतिक दूरी कायम गर्नुपर्ने तथा दिनहुँ कोभिड–१९ को परीक्षण गराउनुपरेको छ ।

यद्दपी कोभिड–१९ को भाइरसले खेलाडीलाई सताउन छोडेको छैन् । ओलम्पिक औपचारिक रुपमा सुरु हुनु अघि नै खेलाडी सङ्क्रमित हुन पुगेका छन् । बिहीबार मात्रै कोभिड–१९ का १२ नयाँ सङ्क्रमितको पुष्टि भएको छ । ओलम्पिकसँग सम्बन्धित ८७ अधिकारी तथा खेलाडी हालसम्म सङ्क्रमित भएका हुन । आठ जना खेलाडी सङ्क्रमित भएका छन् ।

विमानका सम्पर्कमा आएका एक यात्रुमा कोभिड–१९ बाट सङ्क्रमित भएपछि बेलायतका छ जना खेलाडी आइसोलेशनमा बसेका छन् । अमेरिकी टेनिस खेलाडी कोको गौफ सङ्क्रमित भएपछि सुरुवाती खेलबाट बाहिरिनुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...