जननेता मदन भण्डारीका नाममा कभर्ड हल निर्माण

जननेता मदन भण्डारीका नाममा बागलुङ नगरपालिका–३ चिप्लेटीमा बहुउद्देश्यीय कभर्ड हल निर्माण गरिएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीले तीन वर्ष सो संरचना तयार गरेको हो ।

बजेट अभावमा गत वर्ष काम रोकिएको थियो । पहिलो वर्ष खेलकुद मन्त्रालयबाट आएको रु २० लाख बजेटबाट भुइँ ढलान र छानो राख्ने काम मात्र भएको थियो । मन्त्रालयबाट थप रु १० लाख बजेट थपिएपछि बाँकी काम पूरा भएको एकेडेमीका अध्यक्ष कृष्ण कार्कीले बताउनुभयो ।

“कभर्ड हलको काम करिब सकियो, छिटपुट काम अहिले भइरहेको छ”, उहाँले भन्नुभयो । पछिल्लो बजेटबाट बार, झ्यालढोका, शौचालय, रङरोगनलगायत काम गरिएको छ । कभर्ड हल निर्माणका लागि नगरपालिकाले जग्गा दिएको थियो । फलामको ट्रस प्रविधिबाट हल बनाइएको हो ।

खेलकुद गतिविधिसहित अन्य सामाजिक कार्यमा समेत उपयोग हुने गरी कर्भड हल निर्माण गरिएको हो । कभर्ड हल मुख्यरूपमा ब्याडमिन्टन खेललक्षित छ । आवश्यकता पर्दा तेक्वान्दो, कराँतेजस्ता खेलका लागि पनि कभर्ड हलको प्रयोग गर्न सकिने एकेडेमीले जनाएको छ ।

स्थानीयवासीले सार्वजनिक हितका काममा समेत हलको प्रयोग गर्न पाउने भएका छन् । यसका निर्माणमा ढिलाइ हुँदा यसअघि खेलप्रेमी र स्थानीयवासीले गुनासो गर्दै आएका थिए । गैह्रापाटा टोल सुधार समितिका अध्यक्ष भक्त रसाइलीले कभर्ड हल बनेपछि खेलकुदसँगै सामाजिक गतिविधिका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नयाँ खेलाडी उत्पादनसँगै खेल गतिविधिको प्रवद्र्धनका लागि कभर्ड हल बन्नु सुखद रहेको वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले बताउनुभयो । खेलाडी र खेल पूर्वाधारको विकासका लागि नगरपालिकाले समेत लगानी बढाउनुपर्ने उहाँको भनाइ छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...