वाग्मती प्रदेश मातहतका १४ कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता

वाग्मती प्रदेश प्रहरी कार्यालयले सेवा प्रवाहलाई थप चुस्तदुरुस्त बनाउन मातहतका १४ कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ । दश जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश ट्राफिक प्रहरी कार्यालय र २ गण मुख्यालयसँग सम्झौता गरिएको हो ।

कार्यालयले मासिक रुपमा सम्पादन गर्नुपर्ने कार्यको सूचक निर्धारण गरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाशजङग कार्की र मातहत कार्यालय प्रमुखबीच सोमबार कार्यसम्पादन सम्झौता भएको हो । एक बर्षे कार्यअवधि रहेको कार्यसम्पादन सम्झौताले निर्धारण गरेका सूचकको मासिक मूल्याङ्कन गरी मातहत कार्यालयको कार्य सम्पादनकोस्तर निर्धारण गरिने छ । मासिक मूल्याङ्कन गर्ने मापदण्डसमेत निर्धारण गरिएको हो ।

सेवा प्रवाहलाई प्रणालीबद्ध बनाउने र शान्ति सुरक्षा एवं अपराध रोकथाम तथा नियन्त्रणलगायतका कार्यको व्यवस्थापनलाई सुदृढ, विश्वसनीय र व्यावसायिक बनाउने उद्देश्यले मातहतका कार्यालय प्रमुखसँग कार्यसम्पादन करार गरिएको जनाइएको छ । शान्ति सुरक्षा, विपद् व्यवस्थापन, अपराध अनुसन्धान एवं नियन्त्रण, आन्तरिक व्यवस्थापनका साथै प्रहरी कर्मचारी दक्षता एवं उत्प्रेरणा अभिवृद्धि र प्रहरी सेवा प्रवाहसँग सम्बन्धित विषयलाई प्रमुख लक्ष्य निर्धारण गरी सो अन्तर्गतका सम्पादन गर्नुपर्ने कार्य सूचक निर्धारण गरिएको छ । उल्लेखित सूचक अनुरुप मातहत कार्यालयले सम्पादन गरेका कार्यलाई मासिक रुपमा मूल्याङ्कन गरी देखिएका कमिकमजोरीलाई तत्कालै सुधार गर्ने उद्देश्यसहित कार्यसम्पादन सम्झौता गरिएको हो ।

कार्यालयले गत आर्थिक वर्षदेखि सुरुआत गरेको सम्झौता र मातहत कार्यालयको मासिक मूल्याङ्कन प्रणालीलाई यसवर्ष थप परिमार्जन र वस्तुनिष्ठ बनाउँदै कार्यसम्पादन सूचक निर्धारण गरिएको छ ।

सार्वजनिक प्रशासनलाई जिम्मेवारीप्रति प्रतिबद्व, कानून कार्यान्वयनमा दृढ, प्रक्रियामा सरलीकरण र पारदर्शी एवं नतिजामा उत्तरदायी बनाउने, तोकिएको कार्य समय, पदीय अधिकारको सीमा र सोपानसँग आवद्व गर्दै समग्रतामा जनता र सङ्गठनप्रति जवाफदेही बनाउने कार्यसम्पादन सम्झौताको मुख्य उद्देश्य रहेको छ ।

यसैगरी सुशासन कायम गर्न, प्रशासनमा नवप्रवर्तन र सिर्जनशीलता अभिवृद्वि गरी नेपाल प्रहरीको समग्र कार्यसम्पादनकोस्तर बढाउन आन्तरिक क्षमता सुदृढ गर्ने , स्पष्ट योजनाका साथ कार्य प्रारम्भ गर्दै मातहतका सकल दर्जाको मनोबल अभिवृद्धि गर्ने, नागरिक र प्रहरी बीचको सहकार्यलाई थप प्रभावकारी बनाउने छ ।

यसैबीच जिम्मेवारी क्षेत्रभित्रको विद्यमान सुरक्षा चुनौतीको विश्लेषण गरी जनतालाई सुरक्षाको प्रत्याभूति दिन गुण्डागर्दी, तस्करी, ठगी, लागुऔषध ओसारपसार, मानव बेचबिखनलगायत अन्य अपराधका साथै भ्रष्टाचारजन्य क्रियाकलापसमेत हुन नदिने सम्झौतामा उल्लेख गरिएको छ । कार्यसम्पादन प्रगतिलाई कार्य सम्पादन मूल्याङ्कनसँग आवद्ध गरिनेछ । कार्यसम्पादनस्तरको मूल्याङ्कन मासिक रुपमा नै हुने कार्य सम्पादन सम्झौतामा उल्लेख छ ।

फरार प्रतिवादी पक्राउ

जिल्ला अदालत हेटौँडाको फैसलाले लागुऔषध मुद्दामा फरार रहेका एक प्रतिवादीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौँडा उपमहानगरपालिका– ११ बस्ने वर्ष ३० को श्रीकृष्ण सुवेदी छन् । उनीलाई १८ दिन कैद र नगद रु दुई हजार जरिवाना गरेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...