आगामी रणनीति बनाउँदै जसपाको ठाकुर पक्ष

निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पर्टीको आगामी रणनीतिका लागि परामर्शमा जुटेको छ ।

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेको ठाकुर पक्षले बुधबार जसपा (लोकतान्त्रिक) नामको दल दर्ताका लागि निवदेन दिएको थियो । नयाँ परिस्थितिमा पार्टीलाई कुन ढङ्गले अघि बढाउने भन्नेबारे आगामी रणनीति बनाउन जसपा ठाकुर पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । परिवर्तित अवस्थामा पार्टीको आगामी रणनीति बनाउन नेताहरु आन्तरिक परामर्शमा रहेका जसपा ठाकुर पक्षका नेता केशव झाले जानकारी दिनुभयो ।

उहाँले निर्वाचन आयोगले आफ्नो प्रक्रिया पु¥याएर दल दर्तालाई औपचारिकता दिउञ्जेल पार्टीको आगामी कार्यदिशाबारे आपसी परामर्शमा नेताहरु क्रियाशील रहेको बताउनुभयो । निर्वाचन आयोगले ऐनअनुरुप नियमावली बनाउनुपर्ने हुन्छ । त्यसपछि मात्रै दल दर्ताको प्रक्रिया अघि बढ्छ । आयोगमा निवेदन दिएका नयाँ दलको दर्ताको औपचारिकताका लागि कम्तीमा २५ दिनजति समय लाग्ने बताइन्छ ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै ठाकुर पक्षका नेताहरुले नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् । सो पार्टीको आयोगमा दर्ता नं ४३४ रहेको छ । जसपा लोकतान्त्रिकको अध्यक्षमा महन्थ ठाकुर तथा वरिष्ठ नेतामा राजेन्द्र महतो रहनुभएको छ । उक्त दलमा अध्यक्ष र वरिष्ठ नेतासहित २४ सदस्यीय कार्यकारिणी समिति प्रस्ताव गरिएको छ, जसमध्ये रेशम चौधरीसहित १५ जना सांसद छन् । ठाकुर पक्षले नयाँ दलको चुनाव चिन्हमा साइकल प्रस्ताव गरेको छ ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश ल्याएको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को व्यवस्था बमोजिम सबै विवरण राखी छुट्टै दल दर्ताका लागि आवश्यक कागजातसहित निवेदनका साथ सङ्लग्न गरी पेश गरिएको अध्यक्ष ठाकुरद्वारा हस्ताक्षरित निवेदनमा भनिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...