त्रिकोणात्मक क्रिकेट श्रृखंलाका लागि नेपाली टोलिको घोषणा

काठमाडौं, भदौ ५ गते । नेपाल क्रिकेट संघले अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक क्रिकेट श्रृखंलाका लागि टोलिको घोषणा गरेको छ । तीब्र गतिका बलर गुलशन झाले पहिलो पटक नेपालको राष्ट्रिय क्रिकेट टोलिमा स्थान बनाउनुभएको छ । मेयर कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेर अप्रत्याशित रुपमा चर्चा बटुल्नुभएका झालाई संघले दुई साता अघि सुरु गरेको बन्द प्रशिक्षणमा सामेल गराएको थियो ।


बन्द प्रशिक्षणमा बोलाइएका २० जना खेलाडीमध्ये तीन जना बाहिरिएका छन् । ओमान भ्रमण गर्ने टोलिमा साहब आलम र कमलसिंह ऐरी छनौट हुन सक्नुभएन । ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषित टोलिमा दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । कुशल भुर्तेल, आसिफ शेष, आरिफ शेख, कुशल मल्ल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने टोलिका सदस्य हुनुहुन्छ ।

त्यसैगरी, पवन सर्राफ, अविनाश बोहरा, रोहित पौडेल, सुशन भारी, शरद भेषवाकर र बिक्रम सोब अटाउनुभएको छ । नेपालले ओमानमा त्रिकोणात्मक श्रृखंला खेल्नु अघि पपुवान्यूगिनीसँग दुई खेलको एकदिबसीय श्रृखंला समेत खेल्नेछ । पपुवान्यूगिनी यूएईमा आगामी अक्टोबरमा हुन लागेको टी ट्वान्टी विश्वकपमा समेत सहभागी हुँदैछ ।

ओमानले समेत टी ट्वान्टी विश्वकपमा स्थान सुनिश्चित गरेको छ । लिग २ मा उसले दश खेलमध्ये आठमा जित हात पारेर १६ अङ्कसहित शीर्ष स्थानमा छ । अमेरिकाले भने १२ मध्ये छ खेल जितेको छ । स्कटल्याण्डले आठ खेलमध्ये चार, नामीबियाले सातमध्ये तीन, यूएईले सात मध्ये तीन खेल जितेको छ । नेपालले भने चार खेलमध्ये मात्र दुईमा जित हात पार्न सकेको छ । नेपाल हाल लिग २ तालिकामा सम्मिलित सात राष्ट्रमध्ये छैठौं स्थानमा छ । पपुवान्यूगिनी भने आठमध्ये एउटै खेल जित्न सकेको छैन् ।नेपालले लिग २ मा राम्रो प्रदर्शन गरेर अङ्कतालिकामा माथि उक्लिने प्रयासमा रहनेछ । प्रशिक्षक डेभ व्हाटमोर प्रशिक्षकको जिम्मेवारीमा आएपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी हुन लागेको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...