आन्तरिक पर्यटन पुर्नरुत्थान कार्यक्रम

वासुदेव पौडेल, पोखरा, भदौ १८ गते । बुधबारदेखि बुद्ध एयरले सुरु गरेको पोखरा–सिमरा सिधा हवाई उडानसँगै नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स(नाट्टा) गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजनमा आयोजित आन्तरिक पर्यटन पुनरुत्थान कार्यक्रम आजदेखि सकिएको छ ।प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कंडेल सहित पर्यटन सम्बद्ध संघ संस्थाका प्रतिनिधि सहितको टोलीले प्रदेश नं २ का विभिन्न स्थलको अवलोकन भ्रमण सहित सरोकारवालासँग छलफल र अन्तरक्रिया सम्पन्न गरेको छ ।


टोलीले सिमरा विमानस्थल, पर्सा राष्ट्रिय निकुञ्ज, महागढीमाई नगरपालिका, बीरगञ्ज उद्योग वाणिज्य संघ लगायतका स्थानमा छुट्टाछुट्टै छलफल एवम् अन्तरक्रिया गर्नुका साथै सिमरास्थित विशेष औद्योगिक क्षेत्र आदिको अवलोकन गरेको कार्यक्रम संयोजक एवम् नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष हरिराम अधिकारीले जानकारी दिनुभयो । तीन दिने कार्यक्रमले आँफूहरूमा उत्साह जगाएको बताउँदै उहाँले आगामी दिनमा प्रदेश नं २ सँग पर्यटकीय साझेदारी बढेर जाने विश्वास व्यक्त गर्नुभयो ।

तीन दिनका कार्यक्रम सम्पन्न भएसँगै आज सिमरामा आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कंडेलले पोखरा–सिमरा सिधा हवाइ उडानले आर्थिक नगरी र पर्यटकीय नगरीबीचको सम्बन्धलाई जोडेको बताउनुभयो ।पर्यटनको विकासका लागि सरकारका तर्फबाट नीतिगत व्यवस्थाका लागि आँफूले पहल गर्ने विश्वास व्यक्त गर्दै उहाँले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।

बरिष्ठ पर्यटन व्यवसायी इच्छाबहादुर वाग्लेले निजी क्षेत्रको लगानीलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिदै पोखरा–सिमरा सिधा उडानलाई सुलभका साथै दीगो बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले कोरोना प्रभावित पर्यटनलाई बचाउने गरी काम गर्न सरकारलाई आग्रह गर्दै सुरक्षा मापदण्ड कायम गर्दै तत्काल सिमानाकाहरू पर्यटक आवागमन हुने गरी खोल्नुपर्ने बताउनुभयो । उहाँले थलिएको पर्यटनलाई बचाउनका लागि सरकारले ल्याउने राहत तथा प्याकेजका कार्यक्रम तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नाट्टा सेन्टरका अध्यक्ष अच्युत गुरागाइँले आन्तरिक पर्यटनका साथै भारतीय पर्यटकलाई अधिकतम भित्राउने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो । भारतीय पर्यटकलाई तेस्रो मुलुकबाट आउने पर्यटकलाई जस्तै सम्मान गर्न पनि उहाँले आग्रह गर्नुभयो । पर्यटकका लागि सिमानाहरू खोल्नुपर्ने बताउँदै उहाँले सरकारले माक्स लगाउन लगाएर तर्साउने प्रबृत्ति पनि अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।अर्का बरिष्ठ पर्यटन व्यवसायी युवराज लामाले प्रदेश नं २ मा विभिन्न महत्वपूर्ण ४० वटा पर्यटकीय गन्तव्य रहेको बताउँदै तिनीहरूको प्रवद्र्धन आवश्यक भएको बताउनुभयो ।

उक्त अवसरमा पर्यटन मन्त्री कंडेलले प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रदेश नं २ का मुख्य मन्त्रीलाई गण्डकी प्रदेश भ्रमणका लागि पठाउनुभएको निम्तो नाट्टा प्रदेश नं २ मार्फत हस्तान्तरण गर्नुभयो । त्यस्तै नाट्टा गण्डकी प्रदेशका तर्फबाट नाट्टा प्रदेश नं २ लाई पर्यटन व्यवसायी, स्थानीय तहका प्रतिनिधि सहित पोखरा भ्रमणका लागि निमन्त्रणा दिइयो ।नाट्टा गण्डकी प्रदेशका महासचिव कमला गिरीले तीन दिने अवलोकन भ्रमण एवम् अन्तरक्रिया प्रभावकारी रुपमा सम्पन्न भएको बताउँदै आगामी दिनमा दुबै प्रदेशबीचको पर्यटकीय साझेदारी बढेर जाने विश्वास व्यक्त गर्नुभयो ।मन्त्री कंडेल सहितको टोली आजै सिमराबाट हवाइ उडानमार्फत पोखरा फर्किएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...