आइजीपी र डिआइजीले गरे मानवसेवा आश्रममा ५० हजार सहयोग

नेपाल प्रहरीका प्रमुख आइजीपी शैलेश थापा क्षेत्री र डिआइजी प्रकाश अधिकारीले मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) मा आश्रितको लागि ५०/५० हजार सहयोग गरेका छन् ।कुशे औंशी अर्थात् बुबाको मुख हेर्ने तिथिको अवसरमा संसार देखाउन माध्यम बन्नुभएका पुजनीय पिताको सम्मानस्वरुप बुवाहरुको सम्मान स्वरूप सहयोग गरेका हुन् ।

आइजीपी शैलेश थापाले काठमाण्डौ महानगर, महानगरीय प्रहरी र मानवसेवा आश्रमबीच सहयोगापेक्षी सडकआश्रित मानवमुक्त काठमाण्डौ महानगर निर्माण अभियानको घोषणाको अवसरमा नेपाल प्रहरीको तर्फबाट हस्ताक्षर गरेका थिए । त्यसपछि मानवसेवा आश्रमले सडकपेटी र सार्वजनिक स्थलमा बस्ने १८०० बढी सडकमा बस्ने व्यक्तिहरुको उद्धार गरेको थियो । तर त्यसमध्ये थोरै मात्र वास्तविक सहयोगापेक्षी मात्र रहे । धेरैजसो माग्नेलाई पेशा बनाएर बस्ने र जाँड, रक्सीको कुलतमा डुबेर अस्तव्यस्त जीवनयापन गर्ने व्यक्तिहरु भेटिए ।उक्त अभियानलाई वृहत रुपमा सन्चालन गर्न कोभिड-१९ ले असर गरेको अवस्थामा पनि नियमित जसो काठामाडौं महानगरबाट दैनिक ५/६ जनाको उद्धार भईरहेको छ ।

यस्तै मानवीय सेवामा संयोजनकारी भूमिका निर्वाह गर्ने कार्य  डिआइजी प्रकाश अधिकारीले गरे । आफ्नो बुवाको सम्मानमा रु. ५० हजार सहयोग गरेका अधिकारीले आइजीपी क्षेत्रीसँगको सहकार्य गराएका हुन् । गोरखा जिल्लामा मानवसेवा आश्रमले करिब ४ बर्ष अगाडी मानवता प्रवर्द्धन महाअभियान अन्तर्गत गरेको कार्यक्रममा सहभागीका रुपमा रहेका अधिकारीले त्यसपछि निरन्तर मानवीय सेवामा सहयोग गर्दै आएको आश्रमले जनाएको छ ।

यसै अवसरमा आश्रमले राष्ट्र सेवकको जिम्मेवारीमा रहँदै मानवीय सेवामा सहयोग गरेका नेपाल प्रहरीका आइजीपी र डिआइजीलाई धन्यवाद व्यक्त गरेको छ ।मानवसेवा आश्रम वि.स २०६९ सालमा मकवानपुर जिल्लाको हेटौंडाबाट सुरु भई हाल देशको १७ जिल्लाको २३ वटा सेवा केन्द्रबाट सेवा प्रदान गरेको छ । आजको दिनमा आश्रममा १६०० बढी विभिन्न उमेरसमुहका सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरु आश्रित छन् । आश्रम यसैगरी परोपकारी नेपाली मनहरुको साथ र सहयोगमा सन्चालन हुँदै आइरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...