जिपलाइन सञ्चालनसँगै पर्यटकको आकर्षक

काठमाडौँ, भदौ २५ गते । ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’मा जिपलाइन सञ्चालनमा आएसँगै स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक बढ्दै गएको छ । चन्द्रागिरि हिल्स प्रालिले गत सातादेखि जिपलाइन सञ्चालनमा ल्याएको थियो ।

नुवाकोटको गेर्खुबाट चन्द्रागिरि घुम्न आउनुभएका दिपेश प्याकुरेलले जिपलाइनको मज्जा लिँदा दङ्ग पर्नुभयो । “केवलकार त यसअघि पनि चढेको थिए, जिपलाइन सञ्चालन भएको थाहा पाएर पुनः यहाँ घुम्न आएको हुँ ।” उहाँ भन्नुभयो ।

स्याङ्जाका वेदबहादुर कार्कीले पनि पहिलो पटक सो स्थानमा पुग्नुभएको थियो । चन्द्रागिरि नगरपालिका–१० सतुङ्गलमा बस्दै आउनुभएका उहाँले यसअघि सो स्थानमा पुगेपनि जिपलाइनको मज्जा लिन दोस्रोपटक आएको जानकारीदिनुभयो । “ यहाँ जिपलाइन सञ्चालन आएको खबर सुने,बिदाका दिनमा यसो घुमांै भनेर आएको हुँ,” उहाँले भन्नुभयोे ।

यस्तै मोरङबाट घुम्न फिपरानी लिम्बू परिवारसहित काठमाडौँ आउनुभएको रहेछ । छोरी,बुहारीसँग पहिलोपटक चन्द्रागिरि घुम्न आउनुभएका उहाँलाई यहाँको केवलकारसँगै डाँडाबाट उपत्यकाको मनोरम दृश्यले लोभ्याएको बताउनुभयो ।

“तराईमासम्म भूभाग जता हेरेपनि सम्ममात्र छ, काठमाडौँ आएका बेलामा यसो डाँडाकाँडा घुम्न जाउँ भनेर आएको, साह्रै रमाइलो लाग्यो, भालेश्वर मन्दिरको दर्शन गर्न पाइयो,”उहाँले भन्नुभयो ।

अष्ट्रियाली ‘डोब्बलमेयर’ कम्पनीले निर्माण गरेको चन्द्रागिरि केवलकारको लम्बाइ कूल दुई किलोमिटर ४६० मिटर छ । यसका मार्गमा ११ टावर छन् । यात्रु बोक्ने ३८ र समान बोक्ने तीन गरी कूल ४१ गोण्डला छन् । चन्द्रागिरि डाँडोमा पुग्न थानकोट स्टेशनबाट ९ देखि १४ मिनेट लाग्ने छ ।

केबलकारको एक डिब्बामा ८ व्यक्ति ओहोरदोहोर गर्न मिल्छ । पछिल्लो समय कोरोनाका कारण विदेशी पर्यटक घटेको चन्द्रागिरिमा आन्तरिक पर्यटक भने बढ्दै गएका छन् । रु ७० लाख लगानीमा निर्माण गरिएको जिपलाइनको लम्बाई १०० मिटर छ ।

चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक अभिषेक विक्रम शाह स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यस्थलका रुपमा चन्द्रागिरिलाई विकास गर्नका लागि जिपलाइन सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । भालेश्वर मन्दिर नजिकदेखि बाल खेल बगैँचासम्म निर्माण गरिएको उक्त जिपलाइनको मज्जा लिनका लागि रु ४०० लाग्नेछ । “आन्तरिक तथा वाह्य पर्यटनलाई प्रवद्र्धन गर्ने नीति लिएका छौँ,” उहाँले भन्नुभयो ।

चन्द्रागिरि हिल्स प्रालिले चन्द्रागिरिमा रिसोर्टसमेत सञ्चालनमा ल्याएको छ । अहिले काठमाडौँको व्यस्त दैनिक जीवनलाई केही हदसम्म आराम लिन र हप्ताभरीको थकान भुलाउन आन्तरिक तथा बाह्य पर्यटक रिसोर्ट पुग्ने गरेका छन् । झण्डै ८ महिना बन्द रहेको रिसोर्टले पछिल्लो समय रिसोर्टमा आउने पर्यटकलाई लक्षित गरेर सहुलियत प्याकेज सञ्चालनमा ल्याएको छ ।

सहुलियत प्याकेटमा एक जोडीलाई एकरात डिलक्स कोठामा बसेको र बिहानको ‘ब्रेकफास्ट’सहित रु नौ हजार शुल्क व्यवस्था गरिएको महाप्रबन्धक शाहको भनाइ छ । रिसोर्टमा हाल एक रात बसेको नौ हजारदेखि ३० हजारसम्म लाग्ने कोठा छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...